मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ पौष २६ बिहीबार १०:१२:००
Read Time : > 1 मिनेट
विश्व

देशवासीका नाममा ट्रम्पको सम्बोधन, अमेरिकी सीमा क्षेत्रमा  मानवीय संकट : ट्रम्प

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष २६ बिहीबार १०:१२:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सीमा क्षेत्रमा मानवीय र आप्रवासी संकट देखिएको बताएका छन् । आफ्नो कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिएको एक टेलिभिजन सम्बोधनमा उनले सो धारणा व्यक्त गरेका हुन् । बढ्दो मानव र आप्रवासी संकट’ समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल आवश्यक रहेको र त्यसका लागि कंग्रेसले बजेट पारित गर्नुपर्ने उनले बताए । उनको सम्बोधनले शुक्रबारको बजेट निकासामा समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।

तर, ट्रम्पले कंग्रेसको सहमतिविनै सीमामा पर्खाल बनाउने आफ्नो योजना जबर्जस्ती अघि बढाउन संकटकालको घोषणा भने गरेनन् । टेलिभिजन सम्बोधनमार्फत ट्रम्पले संकटकाल घोषणा गर्ने अनुमान गरिएको थियो ।

डेमोक्रयाटिक नेताले पनि गरे टेलिभिजन सम्बोधन
राष्ट्रपतिको सम्बोधनलगत्तै टेलिभिजन सम्बोधन गर्दै विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी संघीय कार्यालयहरू बन्द गरेर ट्रम्पले अमेरिकी जनतालाई बन्धक बनाएको आरोप लगाए । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी र माथिल्लो सदन सिनेटमा विपक्षी नेता चक सुमरले पर्खालका लागि राष्ट्रपतिले माग गरेको रकम अनावश्यक भएको दाबी गरे ।

दुवै नेताले राष्ट्रपतिले तत्काल संघीय कार्यालयहरू खुला गर्न पहल गर्नुपर्ने बताए । उनीहरूले ट्रम्पले योजनाबद्ध ढंगले बजेटमा हस्ताक्षर नगरेर गतिरोध निम्त्याएको आरोप लगाए । यसअघि ट्रम्पले कंग्रेसले मेक्सिकोसँगको पर्खाल बनाउने रकम पारित नगरे महिनौँसम्म सरकारी कार्यालय ठप्प हुने चेतावनी दिएका थिए । पर्खालका लागि बजेट विवादकै कारण तीन सातादेखि जारी सरकारी खर्चबन्दीका बीच सत्तापक्ष र विपक्षले एक–अर्कालाई आरोप लगाएका छन् ।

अस्तव्यस्तता यथावत्
ट्रम्पले बजेटमा हस्ताक्षर नगरेपछि रकम निकासा नहुँदा अमेरिकी संघीय कार्यालय तीन सातादेखि आंशिक रूपमा बन्द छन् । ७ लाख कर्मचारीले तलब पाएका छैनन् । उनीहरूमध्ये अधिकांश बिदामा छन् । कर्मचारी बिदामा बस्दा महत्वपूर्ण कार्य रोकिनुका साथै सेवाग्राही मर्कामा परेका छन् । राष्ट्रिय निकुञ्ज तथा पार्क, वन्यजन्तु आरक्षणलगायतका कार्यालय तीन सातादेखि ठप्प छन् ।

बहुमत गुमेसँगै ट्रम्पलाई समस्या
आठ वर्षदेखि अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीको बहुमत थियो । तर, मध्यावधि निर्वाचनमा रिपब्लिकनले बहुमत गुमाएको छ । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीको तल्लो सदनमा बहुमतसँगै संसदीय कामकारबाहीमा ट्रम्पलाई समस्या पर्ने देखिन्छ । माथिल्लो सदन सिनेटमा रिपब्लिकनको झिनो बहुमत छ । एक सय सदस्यीय सिनेटमा रिपब्लिकनको ५७ र डेमोक्र्याटको ४३ सिट छ । बजेटसमेतका महत्वपूर्ण विधेयकहरू पारित गर्न सिनेटभित्र रिपब्लिकनलाई ६० सदस्यको समर्थन चाहिन्छ ।

ट्रम्पले आफ्नो दुई वर्षे कार्यकालमा सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटिकको आरोप छ । डेमोक्र्याटिकले ट्रम्पको आयकर, महान्यायाधिवक्ता जेफ सेसनको बर्खास्ती र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपतिको सम्बन्धका बारेमा अनुसन्धान गर्ने बताएको छ ।