मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २ शनिबार ०९:३९:००
Read Time : > 5 मिनेट
फिचर

काष्ठकलामा निमग्न पूर्णलक्ष्मी

Read Time : > 5 मिनेट
२०७६ कार्तिक २ शनिबार ०९:३९:००

दिन, साता, महिना, वर्ष र दशक । यसभन्दा बढी एउटै पेसामा लागिरहन मान्छेका लागि कि त बाध्यता हुनुपर्छ कि त साधना सम्झनुपर्छ । बुङ्मतीकी पूर्णलक्ष्मी शाक्य २५ वर्षदेखि निर्जीव काठमा सजीव कला कोरिरहेकी छिन् । 

अढाई दशकदेखि उनले काठसँग गाँसेको मितेरी झन् प्रगाढ बनेको छ । समय बढेसँगै पूर्णलक्ष्मीको काठसँगको सामीप्यता झन् निकट हुँदै गएको छ । यसका लागि उनी घरगृस्थीबाट अलग छैनन् । बिहान, बेलुकी घरधन्दा, अनि दिनभर काठका टुक्रासँग खेलेर सुन्दर आकार दिन्छिन् । मूर्ति बनाउँछिन् । ती मूर्तिमा ज्यान भर्छिन् । काठका टुक्रा खोपेर बनाएका उनका बुद्धहरू देख्दा लाग्छ ‘यिनले शान्तिको सन्देश दिइरहेछन् । चरा हेर्दा लाग्छ भुरर्र उडेर कतै बार्दलीमा बस्न जालान् । प्रेमालाप गरिरहेका जोडी देख्दा प्रतीत हुन्छ– यी स्निग्ध प्रेमको गंगा बगाइरहेछन् ।

निर्जीव र कतिपय मिल्काइएका काठमा कला भरेर पूर्णलक्ष्मीको जीवन चलेको छ । ‘भोलि पनि यसबाहेक अरू गर्ने सोच छैन,’ उनले भनिन्, ‘जन्मेदेखि नै काठसँग खेल्न थालेँ ।  यही काठको काम गर्न पढाइ छोडेँ । काठकै मूर्ति बनाएर मन मग्न भएको छ । परिवार चलेको छ । अब यसबाहेक अन्य काममा मनै जाँदैन ।’

काठमा कला कोर्ने सीप सिक्न उनले न कुनै कार्यशालामा भाग लिएकी छिन्, न कुनै तालिम नै लिएकी छिन् । उनले देखेकी छिन् त बस आफ्ना बुबाले सग्लो काठलाई अनेक आकार र टुक्रामा ढालेको देखेकी छिन् । तैपनि उनले सयौँ मूर्ति बनाएकी छिन् । हजारौँ बुट्टा भरेकी छिन् ।  

पूर्णलक्ष्मीको काठको मूर्ति बनाउने कौशल भने तालिमप्राप्त व्यक्तिको भन्दा कत्ति फरक छैन । हेरेकै भरमा सयौँ मूर्ति बनाएकी छिन् । यही क्षमताको भरमा उनले केही अन्य व्यक्तिलाई पनि काठमा कला भर्न सिकाएकी छिन् । ‘चारजना विदेशीलाई पनि मैले काठमा फूलको आकार कोर्न सक्ने बनाएकी छु,’  पूर्णलक्ष्मी सन्तुष्टिको स्वरमा भन्छिन् । 

काठका टुक्रामा खोपेर बनाएका उनका बुद्धहरू देख्दा लाग्छ ‘यिनले शान्तिको सन्देश दिइरहेकी छिन् । चरा हेर्दा लाग्छ भुर्र उडेर कतै बार्दलीमा बस्न जालान् । प्रेमालाप गरिरहेका जोडी देख्दा प्रतीत हुन्छ– यी स्निग्ध प्रेमको गंगा बगाइरहेछन् ।

उनको पदचाप पछ्याउँदै बुङ्मतीका अन्य महिला पनि मूर्ति बनाउन नसके पनि काठका विभिन्न सामान बनाउन सक्षम भएका छन् । सिंह, बुद्ध, हात्ती, बुद्धको टाउको, बेबी बुद्ध, पीपलको पात, निदाएको बुद्ध, चराल, प्रेमालापमा निमग्न जोडीको मूर्तिलगायत काठका मूर्ति पूर्णलक्ष्मीले  बनाएकी छिन् । 
 सुलभ मूल्य

पूर्णलक्ष्मीले बनाएका मूर्ति जति चित्ताकर्षक छन्, त्यति नै सुलभ पनि छन् । एउटा मूर्तिबापत उनी चार सयदेखि १५ हजारसम्म लिन्छिन् । ती मूर्ति दुई दिनदेखि हप्ता दिनमै तयार हुन्छन् । ‘पहिला माइतीमा हुँदा बुबाबाट सिकेँ । अहिले श्रीमान्ले सहयोग गर्नुहुन्छ । समय भयो भने अहिले पनि नजानेका वा नयाँ कुरा बुबालाई सोध्छु,’ उनले भनिन्, ‘कहाँ–कहाँ के गर्नुपर्छ भन्ने बताइदिनुभएपछि सोहीअनुसार काम गर्छु ।’

पूर्णलक्ष्मी सानै हुँदा उनका बुबा नौ महिना जर्मनीमा  बसे । त्यहाँ शिवको मन्दिर बनाएर आए । जर्मनीबाट फर्किएपछि उनी काठकै मूर्तिहरू बनाउन थाले । घरमा उनका बुबासँग काठका मूर्ति बनाउने काम सिक्न गाउँका दाजुभाइ आउन थाले । त्यसपछि उनको घरमा काठ अनि काष्ठकलाको काम र सीपले प्राथमिकता पाउन थाल्यो । 

घरको वातावरण नै काष्ठकलामय भएपछि पूर्णलक्ष्मीको मन पढाइभन्दा काष्ठकलामै तानिन थाल्यो । ‘बुबालाई काठका सामान बनाउन सिकाइदिनुभन्दा गाली गर्नुहुन्थ्यो । पढाइमा ध्यान देऊ, भन्नुहुन्थ्यो । तर, मेरो मनले मानेन,’ उनले सम्झिन्, ‘स्कुलबाट कुन वेला घर पुगेर बुबाले मूर्ति बनाएको हेरेर मूर्ति बनाउँ जस्तो हुन्थ्यो । बुबाले गाली गरिरहे पनि हेर्न र सिक्न छाडिन् ।’

 पढाइभन्दा कलामा ध्यान
पढाइभन्दा काष्ठकलामा ध्यान गइरहेका वेला उनले बनाएका काठका सामग्रीहरू बेचिन थाले । बुङ्मती आउने पर्यटकले उनले बनाएका आकर्षक मूर्तिहरू एउटा पनि बाँकी नराखी किन्न थाले । त्यसपछि पूर्णलक्ष्मीको हौसला शिखर चढ्दै गयो । पढाइ नै छोडेर मूर्ति कलामै लाग्ने निर्णयमा पुगिन् । कक्षा आठमै पढाइ छोडेर काष्ठकलामा रमाउन थालिन् । 

काठमा कला कोर्ने सीप सिक्न उनले न कुनै कार्यशालामा भाग लिएकी छिन्, न कुनै तालिम नै लिएकी छिन् । उनले देखेकी छिन् त बस आफ्ना बुबाले सग्लो काठलाई अनेक आकार र टुक्रामा ढालेको । तैपनि, उनले सयौँ मूर्ति बनाएकी छिन् । हजारौँ बुट्टा भरेकी छिन् ।  
 

‘पढेलेखेका मानिस पनि हाम्रो गाउँतिर सामान बेच्न आउथेँ । डिग्री पास गरेकाहरू पनि काम नपाएर भौँतारिरहेको कुरा सुनिन्थ्यो । झन् केटी मानिसले त पढे पनि बाहिरको कामभन्दा घरधन्दामै सीमित हुनुपर्ने अवस्था थियो,’ पूर्णलक्ष्मीले सम्झिइन्,  ‘यही कामलाई निरन्तता दिने हो भने पैसा पनि हुने, घरमै काम गर्न पनि पाइने । त्यही भएर पढाइ छोडिदिएँ ।’ 

आफ्नै निर्णयमा अडिग भएर काष्ठकलामा तल्लीन भएपछि उनका बुबाले पनि सहयोग गर्न थाले । एकपछि अर्को काठका राम्रा मूर्ति तयार पार्न थालिन् । नआएको कुरा पटकपटक बुबालाई सोध्न थालिन् । उनी काष्ठकलामा निपूर्ण हुँदै गइन् । 

 एक मात्र महिला मूर्तिकार
बुङ्मतीमा काष्ठकला त परै जाओस् काठको सानोतिनो काम गर्ने वा सामान्य सामान बनाउने एउटा पनि महिला थिएनन् । बुङ्मतीभरि उनी एक्ली महिला मूर्तिकार थिइन् । एकजना मात्र महिलाले काठको काम गरेको देखेर यहाँ आउने पर्यटकले उनले बनाएका सबै सामग्री किनिदिन्थे । कतिपय विदेशी पर्यटकले त उनले त्यतिवेला बनाएको सिंह, हात्ती र उडेको चरालाई तोकेभन्दा धेरै मूल्यसमेत दिए । 

‘सुरु सुरुमा काम गर्दा म एकजना मात्र केटी थिएँ । मेरो कामलाई प्रोत्साहन गर्न घुम्न आएका विदेशी पाहुनाले सबै सामान लिइदिन्थे । खुसी भएर जति भन्यो  त्यति पैसा पनि दिन्थे । पढाइ बिग्रिन्छ भनेर बुबाको गाली नखाएको त होइन । तर, यी आउनेहरूको हौसलाले बुबाको गाली भुलाउन सहयोग ग¥यो,’ मुस्कुराउँदै पूर्णलक्ष्मीले भनिन् ।

उनका बुबाले प्रायः मूर्ति बनाउन बास्नादार कपुरको काठ प्रयोग गर्थे । जुन उनले पनि निरन्तरता दिएकी छिन् । पाटनबाट ल्याइने यो काठको सुगन्धका कारण पर्यटक लोभिएको उनको बुझाइ छ । ‘कपुरको काठ निकै बास्नादार हुन्छ । त्यही भएर विदेशीले यो काठ मन पराएका हुन्,’ बनाउँदै गरेको मूर्ति घोटेर उनले बास्नादार बनाएर पंक्तिकारतिर लम्काइन् । उनलाई आफूले बनाएका काठका मूर्ति बिक्री गर्न  न हिजो आपत् प-या, न आज गाह्रो छ । 

बुङ्मती क्षेत्रमा उनले नै काष्ठकलाको सुरुवात गरेकाले न हिजो उनलाई अप्ठ्यारो भयो, न आज समस्या छ । दुई छोराछोरीकी आमा बनिसकेकी उनलाई हिजोआज घरको कामसमेत भ्याउनुपर्ने हुन्छ । त्यसैले अर्डरका सामान बढी बनाउँछिन् । कहिलेकाहीँ आफूले बनाएका सामान बाँकी रहे भने बुबाको पसलमा छोडिदिन्छिन् । बिक्री भएपछि बुबाले पैसा दिन्छन् । 

पूर्णलक्ष्मीले बनाएका मूर्ति जति चित्ताकर्षक छन्, त्यति नै सुलभ पनि छन् । एउटा मूर्तिबापत उनी चार सयदेखि १५ हजारसम्म लिन्छिन् । ती मूर्ति दुई दिनदेखि हप्ता दिनमै तयार हुन्छन् । 
 

‘अचेल छोराछोरीलाई ध्यान दिनुपर्ने र घरको काम पनि गर्नुपर्ने भएकाले पहिलेजस्तो धेरै काम गर्दिनँ । अर्डरका काम मात्र गर्छु । त्यो पनि बिस्तारै गरे पनि हुने भए मात्र गर्छु । तर, गर्न चाहिँ छोडिदिनँ । यो काम जति ग-यो, त्यति राम्रो हुँदै जाने काम हो ।  छोडियो भने गाह्रो हुन्छ । अभ्यासले राम्रो बनाउने हो,’ उनले भनिन् ।
४० टेकेकी उनले एकताका चरा, हात्ती, बुद्ध, प्रेम जोडी र सिंहको मूर्ति यति बनाएर बेचिन् कि उनैलाई याद छैन ।  ‘मूर्ति त कति बनाएँ, बनाएँ । कति बेचेँ यादै छैन । म मात्र केटी मूर्तिकार हुने समय भएकाले होला घुम्न आएका सबै टुरिस्टले सोरेर लैजान्थे,’ उनले भनिन् । 

 बढ्यो संख्या 
सयमसँगै बुङ्मतीमा काष्ठकलाको क्षेत्रमा काम गर्ने महिला–पुरुषको संख्या बढेको छ । तर, उनले जत्तिको मूर्ति बनाउन सक्ने एकजना पनि महिला अझै आउन सकेका छैनन् । अचेल उनी आफ्नो कला देखाउन प्रदर्शनीस्थलतिर पनि जान्छिन् । काष्ठकलाका सामग्रीबाहेक हस्तकलाका सामान ब्याग, थैली, किरिङ, झुम्का पनि बनाएर प्रदर्शनीमा राख्ने गरेकी छिन् । 

चित्त बुझ्दो अवस्थामा काम चलिरहेकै वेला ०७२ वैशाख १२ को भूकम्पले भने उनीहरूलाई पनि मर्कामा पा¥यो । बुङ्मतीमा केही समय पर्यटक ठप्प जस्तै भए ।   पर्यटकले हेर्न आउने पुराना शैलीका घर, मन्दिर, पाटी, पौवामा नराम्ररी क्षति पुग्यो । ती केही अझै बन्न बाँकी छन् । भूकम्पले आफ्नो व्यवसायलाई पनि अप्ठ्यारो पारेको उनको ठम्याइ छ । 

‘भूकम्प गएको वर्ष त पर्यटकहरू ठप्पै भए । बल्लबल्ल थोरै पर्यटक आउन थालेका छन् । उनीहरूले पनि पहिले जस्तो सामाना किन्न छाडेका छन्,’ उनले भनिन् । अचेल बुङ्मतीमा काष्ठकलालाई उनीजस्ता थुप्रैले पेसाका रूपमा अपनाएका छन् । पर्यटकले पनि यसमा खास चासो दिँदैनन् । 

त्यसैले उनले आफ्नो व्यवसायको संरचनामा अलिकति फेरबदल गर्न थालेकी छिन् । काठका मूर्ति बेचेर कमाएको पैसाले उनले भैँसेपाटीमा एउटा फर्निचर कारखाना सुरु गरेकी छिन् । त्यहाँ काठका मूर्तिबाहेक काठका फर्निचरसमेत बनाउन थालिएको छ । श्रीमान्–श्रीमतीबाहेक थप दुईजनालाई काम दिएकी छिन् ।  उनका फर्निचरमा पनि कला झल्कन्छ । 

काठको कामले चारजनाको परिवालाई खानबस्न पुग्दो छ । कारखाना राम्रो बनाउन, मेसिन किन्ने काम भइरहेको छ । ‘काष्ठकलाको काम घटेपछि हामीले यो काम सुरु गरेका हौँ । तर, लगानी गर्ने केही पैसा भने पहिला गरेको व्यापारबाटै जोहो गरेका हौँ । खानालाउन मात्र त पुगेकै थियो,’ उनले भनिन्, ‘व्यवसायलाई अलि फरक गरौँ भनेर यो काम थालनी गरेका हौँ ।’ अझै पनि उनका बुबाले काठका साइज तोकिदिन्छन् । सोही नापअनुसार उनी काठमा बुट्टा भर्छिन् । श्रीमान् पनि काष्ठकलाकै काम गर्ने भएकाले उनलाई सजिलो  छ । 

‘काठको काम एउटै भएकाले दुवैलाई सजिलो भएको छ । श्रीमान्ले सिकाउनुहुन्छ । म पनि सजिलै सिक्छु । उहाँ पनि काठकै काम नगर्ने भएको भए उहाँलाई पनि गाह्रो  हुन्थ्यो,’ उनले भनिन्, ‘दुवैको रुचि र पेसा एउटै भएकाले जीवनको रथ झन् सहज बेनेको छ ।’