अत्यावश्यक होलबडी चेकअप

२०७५ पौष २६ बिहीबार ०८:०७:००

हाम्रो शरीरका अंगहरूमा कुनै गडबडी छ कि भनेर सामान्य अवस्थामा गरिने शारीरिक परीक्षण होलबडी चेकअप हो । कुनै रोगको लक्षण बाहिर देखिनुभन्दा अगाडि नै अपनाइने पूर्वजानकारी पनि हो यो । होलबडी चेकअपमा मुटु, कलेजो, फोक्सो, मिर्गौला र छातीको भिडियो एक्सरे गरिन्छ ।

शुल्क कति ?
शारीरिक अवस्था थाहा पाउने निहुँमा सामान्य ल्याबमा गई चर्को मूल्यमा परीक्षण गर्ने परम्परासमेत आजभोलि चलेको छ । खासमा यसका लागि बढी खर्च गरिाख्नु पर्दैन । यद्यपि, होलबडी चेकअप गराउन जाँदै हुनुहुन्छ भने सधैँ दक्ष चिकित्सकको सल्लाह लिन जरुरी छ । जहाँ रोग र शारीरिक अवस्था हेरेर जाँचको शुल्क निर्धारण गरिन्छ । सामान्य अस्पताल र ल्याबमा हजारदेखि २५ सयसम्ममा होलबडी चेकअप गराउन सकिन्छ । 

यसरी चेकअप
- होलबडी चेकअपमा सर्वप्रथम त रगतको जाँच गरिन्छ । रगतमा इन्फेक्सन, ब्याक्टेरिया र सेता रक्तकोषको मात्राबारे जाँच हुन्छ । सिबिसी र इएचआर गरी दुई तरिकाले रगतको जाँच गरिन्छ । सिबिसीअन्तर्गत रगतसम्बन्धी रोग र इन्फेक्सनबारे तथा इएचआरअन्तर्गत रगतमा डब्लुबिसी बढेमा हुने समस्याका बारे परीक्षण हुन्छ ।
- शरीरमा सुगरको मात्रा परीक्षण गरिन्छ । अनि, मधुमेह हुने सम्भावनासमेत थाहा लाग्छ । रगतमा सुगरको मात्रा बढी भएमा सावधानी अपनाउन सुझाब दिइन्छ । 
- मिर्गौलाको परीक्षण गर्न आरएसटी विधि अपनाइन्छ । उक्त परीक्षणबाट मिर्गौलाको काम र अवस्थाबारे जानकारी प्राप्त हुनछ ।
- कलेजोको परीक्षण गर्दा यसमा निस्कने रसको मात्रा जाँच गरिन्छ । यदि कलेजोले चाहिनेभन्दा बढी रस उत्पादन गरेको छ भने त्यहाँ केही समस्या सिर्जना हुने खतरा छ 
भन्ने बुझ्नुपर्छ । 
- थाइराइडले उत्पादन गर्ने टि–थ्री, टि–फोर र टीएसएचको मात्रा घटबड भएको पत्ता लगाउन यसको जाँच गरिन्छ । सामान्य जाँचबाटै टिएसएच हर्मोनको मात्रा पत्ता लगाउन सकिन्छ । 
- पिसाबमा हुन सक्ने इन्फेक्सन र त्यसबाट प्रोटिन चुहिएको पत्ता लगाउन युरिक एसिड जाँच गरिन्छ । 
- मुटुको अवस्था थाहा पाउन इसिजी गरिन्छ । जसबाट रक्तप्रवाह, हृदयाघात, मृटु सुन्निएको आदि पत्ता लाग्छ । 
- छातीको एक्सरे गरेर पानी जमेको वा छातीमा दाग भएको  हेर्न सकिन्छ । 

किन आवश्यक 
कुनै पनि रोगको लक्षण बाहिर देखिनुभन्दा अघि नै पत्ता लागेमा छिटो उपचार सुरु हुन्छ । अनि, जुनसुकै रोग पनि निको हुने सम्भावना शतप्रतिशत रहन्छ । साथै, दीर्घकालीन रोग लाग्ने सम्भावनासमेत कम हुन्छ । यद्यपि, निरोगी हुने नाममा सबै अंगको परीक्षण भने गर्न आवश्यक हुँदैन । कुनै रोगको शंका लागेमा सम्बन्धित चिकित्सकसँग परामर्श गरी सम्बन्धित अंगको मात्रै परीक्षण गर्न उपयुक्त हुन्छ ।