Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन अर्याल/नवीन प्यासी
२०७५ पौष २६ बिहीबार ०७:५७:००
Read Time : > 4 मिनेट
फिचर

नीराको यात्रा सिलोङदेखि भिक्ट्रीसम्म

Read Time : > 4 मिनेट
नवीन अर्याल/नवीन प्यासी
२०७५ पौष २६ बिहीबार ०७:५७:००

सिलोङ, भारतीय राज्य मेघालयको राजधानी । कोइलाका लागि प्रसिद्ध छ । नेपालको भोजपुर घर भएका दिलीप श्रेष्ठ १४ वर्षको हुँदा सिलोङ गए । उनको जीवन उतै कोइलाको व्यापारमा अल्झियो । उतै जन्मिन्, नीरा श्रेष्ठ । १० कक्षासम्म पढेपछि नेपालको मोहले तान्यो, नीरालाई । अनि काठमाडौं आइन्, २०६५ सालमा । 

काठमाडौंस्थित ह्वाइट हाउस कलेजमा पढ्न थालिन् । काठमाडौंमा नीरा न कोही चिन्थिन्, न त उनलाई चिन्ने नै कोही  थिए । बसाइ मैतीदेवीमा । खुला ठाउँमा बसेको मान्छे यहाँ त घरैघर । उनी उकुसमुकुस हुन्थिन् । ‘एक ठाउँबाट अर्को ठाउँमा जान पनि महाभारत लाग्थ्यो,’ उनी भन्छिन्, ‘बस्न मन नलागेर फर्किने सोच पनि दिमागमा पलायो । तर, कलेज भर्ना भएपछि साथीभाइ भए, अनि घुलमिल हुन थालेँ, पार्टी जान थालेपछि मान्छे चिन्न थालेँ ।’ त्यसपछि उनलाई सहज भयो ।

ह्वाइट हाउसबाटै प्लस टु, स्नातक र स्नातकोत्तर सकियो । परिवारबाट छुट्टिएको निकै वर्ष भइसकेको थियो । नियास्रो लाग्थ्यो । अनि सिलोङबाट भाइ बोलाइन् । नीराको रुचि हस्पिटालिटी बिजनेसमा थियो । सोल्टी होटेलमा ६ महिना इन्टर्न गरिन् । त्यसपछि आफ्नै व्यापारमा लाग्ने निर्णयमा पुगिन् ।

यसरी आइपुगिन् हस्पिटालिटी व्यवसायमा
‘मलाई सुरुमा मार्केटिङ एक्जेक्युटिभका लागि प्रस्ताव आयो,’ सुरुमै भिक्ट्री लाउन्ज एन्ड बार प्रवेशको कारण खुलाउँछिन् । तर, उनलाई भने लगानीकर्ताकै रूपमा काम गर्ने चाह थियो । हुन त नेपाली समाज अलि संकुचित भएका कारण नीरालाई डर पनि थियो, रातिको व्यापार गर्दा आलोचित भइन्छ कि भन्ने । भनिन्, ‘तर, म कस्सिएर लागेँ, बुबाको सपोर्ट पनि थियो ।’

उनी अलि जिद्दी स्वभावकी छिन् । चाहेको कुरा गर्नैपर्छ । नीराको दिमागमा सधैँ योजनाको खाका नै हुन्छ । हरेक दिन रुटिनमा चल्छिन् । आफूले बनाएका योजनासँगै संवेदना जोडिएको बताउँछिन् । सम्बन्धहरू बनाउँछिन् । आवश्यकताअनुसार ती सम्बन्धमा जिम्मेवार पनि छिन् । भन्छिन्, ‘मैले सम्बन्धमा त्यति धेरै नफैलिएकै कारण यहाँसम्म आइपुगेको छु ।’ 

हठकै कारण नीरा अहिले भिक्ट्रीको लगानीकर्ता छिन् । त्यसका लागि संयोग बेग्लै छ । अर्जुन कार्कीसँग एउटा पार्टीमा भेट भयो, नीराको । अर्जुनले लगानी गर्न अफर गरे । ठाउँ हेरिन् । त्यसपछि नीराको नयाँ किसिमको व्यापार गर्ने जिजीविषाले पूर्णता पायो । उनले लगानी गर्ने भइन् । टिम पनि बन्यो– बिपिन, नग्मा, प्रिन्सा, मयंकलगायतको । 

भूकम्पको जगजगीबीच नै सुरु भयो, भिक्ट्री । बिस्तारै व्यापारले गति लिँदै गयो, लगानीकर्ताहरू पनि बाहिरिँदै गए, एकजना नयाँ थपिए । उनी भन्छिन्, ‘सुरुका पार्टनरमा अर्जुन कार्की र म मात्र छौँ, अरू सबै निस्किए ।’ साथीहरू रोकिए, तर, उनी अघि बढिरहिन् । अहिले चौथो वर्षमा हिँडिरहेको छ, भिक्ट्री लाउन्ज ।

 विदेशबाट डिजे ल्याउने पहिलो क्लब
नीरा सधैँ इनोभेटिभ काम गर्न चाहन्थिन् । विदेशबाट डिजे ल्याउने चलन भिक्ट्रीले सुरु ग-यो । बलिउड अभिनेत्री उर्वशी राउटेला आइन् । विपुल क्षेत्री आए । त्यतिवेला १७ सय ग्राहक आए । उनी भन्छिन्, ‘त्यो दिन क्लब छिर्ने लाइन नै थियो ।’  क्लबमा आउने ग्राहकको फोटो खिच्ने चलन पनि भिक्ट्रीबाट नै सुरु भयो । अहिले अधिंकाश रेस्टुरेन्टले ग्राहकको फोटो खिच्न थालेका छन् । त्यो चलन आफ्नोबाट सुरु भएकोमा नीरालाई खुसी लाग्छ । १० जनाको टिमबाट बनेको भिक्ट्रीले अहिले सात सयजनालाई मनोरञ्जन दिन सक्छ । ठूलो क्षमताका कारण पनि कहिलेकाहीँ ‘आउट अफ कन्ट्रोल’ हुन्छ । तर, अगाडि पुलिस भएकाले त्यति गाह्रो हुन्न । भन्छिन्, ‘म पब्लिक रिलेसनमा फोकस भएकै कारण त्यति गाह्रो भएको छैन ।’ त्यही भएर पनि अहिले राति २ बजेसम्म क्लब सभ्य रूपमा जागै बस्छ ।’ 

 भिक्ट्रीभन्दा अघिकी नीरा 
सात वर्षअघिको कुरा हो । झम्सिखेलमा एउटा रेस्टुरेन्ट थियो, एकजना नीराले चिनेका दाइको । दाइले भने, ‘तिमी गर्देऊ न ।’ अनुभवका लागि नीराले ६ महिना काम गरिन् । अहिले त्यो ठाउँमा रेडमड क्याफे छ । त्यहीँबाट नीराको हस्पिटालिटी यात्रा सुरु भएको हो । नीरालाई लाग्छ, ‘मान्छे महत्वाकांक्षी हुनुपर्छ ।’ त्यही महत्वाकांक्षाले आफूलाई यहाँसम्म ल्याएको बताउँछिन् । महत्वाकांक्षाले आफूप्रति विश्वस्त गराउँछ । त्यही विश्वास उनले परिवारलाई पनि दिइन् । भन्छिन्, ‘र, मलाई क्लबमा लगानी गर्न परिवारको असहमति भएन ।’ उनको परिवार भारतमा छ । बुबा कोइलाखानीका व्यापारी । झन्डै तीन सयजनाले काम गर्थे । नीरा सानैदेखि बुबाको व्यापारमा सघाउँथिन् । त्यही अनुभवले पनि आफूले नयाँ काममा हात हाल्न सकेको बताउँछिन् ।

नीराका बुबालाई पनि हस्पिटालिटी व्यापारमा रुचि थियो । तर, आफ्नै व्यापारको व्यस्तताले त्यो चाहना पूरा गर्न सकेका थिएनन् । बुबाको रुचिलाई आफूले सुरु गर्न खोजेकाले पनि परिवारबाट सहयोग भएको उनको भनाइ छ । परिवारकै सहयोगले अहिले भाइ मिलन श्रेष्ठ पनि दरबारमार्गकै डेजाभु क्लबमा संलग्न छन् । 

बुबालाई जन्मदिनको उपहार गाडी
नीरालाई भिक्ट्रीले मात्र चित्त बुझेको थिएन, भिक्ट्रीपछि अर्को केही नयाँ गर्न मन थियो । कस्मेटिक्समा सम्भावना देखिन् । भन्छिन्, ‘अनि मैले सेफोरा ब्रान्ड नेपाल भित्र्याएँ ।’ अहिले दरबारमार्गमै ब्रान्डेड कस्मेटिक्स पसल पनि छ, नीराको । दुईवटा व्यापार व्यवस्थापनमा नै नीराका दिन सकिन्छन् । विश्वका टप ब्रान्डका कस्मेटिक्स पनि उनको व्यापारलाई फैलाउन आइपुगेका छन् । प्रायजसोः सेलेब्रिटी उनको पसलमा आइपुगेकै हुन्छन् ।

भनिन्, ‘प्रियंका, वर्षा, केकी, स्वस्तिमालगायत अधिकांश सेलेब्रिटी यहीँ आउँछन् ।’ सेफोरा, म्याक, क्लिनिक, मेकअप फरेभर, बबी ब्राउनलगायत ब्रान्ड ग्राहकका लागि सेवा दिन तयारी अवस्थामा राखेकी छिन् । अब भने उनको दिमागमा रिसोर्ट खोल्ने योजना फनफनी घुमिरहेको छ । पोखरा र चितवनबाट फ्रेन्चाइज मोडलमा भिक्ट्री खोल्ने प्रस्ताव पनि आइरहेको छ । रिसोर्टको योजनाले  अब मूर्त रूप पाउँदै छ । उनको चाहना काठमाडौंबाट दुई घन्टाको दूरीमा सञ्चालन गर्ने हो । यात्रा निरन्तर जारी राख्ने कुरा गर्दै भन्छिन्, ‘यहाँ चाह्यो भने जे पनि गर्न सकिन्छ, सम्भावना धेरै छ ।’

उनले व्यापारमा हात हालेको चार वर्ष भयो । व्यवसाय सुरु गरेको केही समयदेखि उनले परिवारसँग खर्च मागेकी छैनन् । एउटा व्यवसायबाट कमाएको पैसा अर्कोमा लगाउँदैे गइरहेकी छिन् । भनिन्, ‘मैले गत वर्ष बुबाको जन्मदिनमा सिफ्ट डिजायर गाडी गिफ्ट गरेकी थिएँ, उहाँ छक्क नै पर्नुभयो ।’

 छुट्टीको ठेगान नै हुन्न
उनका लागि व्यवसायमा चुनौती पनि छन् । यो ग्राहकलाई विश्वासमा लिनुपर्ने व्यवसाय हो । जम्नलाई गर्नुपरेको ती संघर्ष सम्झिँदा अहिले पाएको सफलताले मीठो अनुभूति दिलाउँछ । भिक्ट्री जन्मिएको समयमा १० जनाको टिम थियो । तर, पब्लिक रिलेसन राम्रो भएको व्यक्ति छानिएका कारण भिक्ट्रीको ब्रान्डिङ, मार्केटिङमा त्यति धौ–धौ भएन । 

उनी राति कतिवेला घर जाने ठेगान छैन । काम जतिवेला सकियो, उतिवेला नै नीराको छुट्टी हुन्छ । कहिलेकाहीँ त बिहान ५ नै बजिसक्छ । भन्छिन्, ‘तर, जतिवेला भए नि म घर पुगेकै हुन्छु ।’ उनी ढिला घर पुग्दा परिवारले कहिल्यै असहमति जनाएनन् । त्यसको राज खुलाउँछिन्, ‘मैले कहिल्यै गलत काम गरिनँ र गर्ने छैन पनि ।’ आफूलाई पर्फेक्ट ठान्दिनन्, नीरा । मान्छे पूर्ण हुनै सक्दैन भन्ने उनले बुझेकी छिन् । यदि आफूबारे केही भन्नुप-यो भने कुनै डिजायर छैन भन्दै भन्छिन्, ‘म एउटा बहावमा चल्छु ।’ अगाडि जे आउँछ, त्यसलाई सामना गर्दै अगाडि बढ्ने आदत छ, नीराको ।

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका