१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असोज ३० बिहीबार ०९:५८:००
Read Time : > 2 मिनेट
प्रदेश

बजार अनुगमन प्रभावकारी बनाउँदै प्रदेश सरकार

Read Time : > 2 मिनेट
२०७६ असोज ३० बिहीबार ०९:५८:००

प्रदेश सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाएको छ । चाडबाडमा उपभोक्ता नठगिऊन् र गुणस्तरीय उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाऊन् भनेर अनुगमनलाई प्रभावकारी बनाएको उद्योग वाणिज्य तथा उपोभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक एवं अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले जानकारी दिए । प्रदेशका सबै जिल्लामा अनुगमनलाई प्रभावकारी बनाउने बताए । 

प्रदेश राजधानी रहेको कास्कीसहित अन्य जिल्लामा दसैँअगाडि पहिलो चरणमा अनगुमन गरिएको थियो । यस्तै, दोस्रो चरणमा पनि अनुगमन अगाडि बढाइएको उनले जानकारी दिए । उपभोक्ता हितसम्बन्धी प्रदेशले निर्माण गरेको निर्देशिकाअनुरूप अनुगमन सुरु गरेकोमा उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले खुसी व्यक्त गरे । अन्य प्रदेशको तुलनामा उपभोक्तासम्बन्धी कानुन गण्डकी प्रदेश सरकारले छिटो बनाएको र यसले उपभोक्ताको हितमा सरकार छ भन्ने सन्देश दिएको उनको प्रतिक्रिया छ । कोइरालाका अनुसार संघीय संरचनाअनुसार बजार अनुगमनको जिम्मा स्थानीय सरकारलाई नै छ । 

बजार अनुगमनका क्रममा पहिलोपटक देखिएका त्रुटिलाई सच्याउन समय दिएको उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयका सदस्यसचिव भरतमणि बरालले जानकारी दिए । उनले अब बजार अनुगमन नियमित हुने र पहिलोपटक सम्झाई बुझाई गरेका वा निर्देशन दिएकाले दोस्रोपटक पनि त्रुटि गरेको फेला परे कानुनीअनुसार कारबाही गर्ने बताए ।

 तीनवटा मासु प्रशोधन  प्रालिमा अनुगमन
प्रदेश सरकारले गठन गरेको अनुगमन टोलीले पोखराका तीनवटा मासु प्रशोधन र सप्लायर्समामा अनुगमन गरेको छ । पोखरा महानगरपालिका–१७ महतगौडास्थित पोखरा हिमालयन फुड्स प्रालि, पोखरा–१७ मा रहेको फेवा मिट प्रोडक्ट्स प्रालि र पोखरा–१७ मै रहेको फिस्टेल फुड प्रोडक्टमा टोलीले अनुगमन गरेको हो । अनगुमनका क्रममा मासु प्रोसेसिङमा गम्भीर लापरबाही भएको पाइएको थियो । तीनवटा सप्लार्यसमध्ये पोखरा हिमालयन फुड्स प्रालि र फिस्टेल फुड प्रोडक्टले मासु प्रोसेसिङमा लापरबाही गर्ने गरेको पाइएको उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले जानकारी दिए ।

 पोखरा हिमालयन फुड्सलाई ससेज उत्पादन नगर्न निर्देशन 
अनुगमन टोलीले पोखरा हिमालयन फुड्स प्रालिले खाद्य अनुज्ञापत्र नलिई ससेज उत्पादन र बिक्री गरेको पाइएपछि तत्काल ससेज उत्पादन रोक्न निर्देशन दिएको छ । खाद्य अनुज्ञापत्र लिएर मात्रै उत्पादन गर्न टोलीले निर्देशन दिएको हो ।अनुगमनका क्रममा पोखरा हिमालयनका प्रतिनिधिले आन्तरिक परीक्षणका लागि मात्र उत्पादन गरेको दाबी गरे पनि अनुमति नलिई विनामापदण्ड ससेज उत्पादन र बिक्री गर्ने गरेको पाइएको छ । सेल्स रिपोर्ट हेर्दा बिक्री गरेको पाएपछि तत्काल उत्पादन रोक्न निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख एवं खाद्य निरीक्षक प्रशान्त पोखरेलले जानकारी दिए ।

खाद्य निरीक्षक पोखरेलले सो कम्पनीभित्र दुर्गन्ध फैलिएको र किरा भुसुनासमेत देखिएकाले मासु संक्रमित हुन सक्ने बताए । त्यसलाई रोक्न फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिएको उनले बताए । मासु प्रशोधनका क्रममा निस्कने फोहोर पानीको निकासका लागि पूर्वाधार नबनाई बाटोमै फाल्ने गरेकाले निकासका लागि पूर्वाधार बनाउन र नियमित प्राविधिक परीक्षण गरेर मात्र मासु बिक्री वितरण गर्न निर्देशन दिइएको पोखरेलले जानकारी दिए । 

पोखरा हिमालयन फुड्स र फिस्टेल फुड्स प्रोडक्टले उत्पादन गर्ने मासु र मासुजन्य पदार्थको प्रोसेसिङ प्रक्रिया पनि उपयुक्त छ भनेर सिफारिस गर्न सक्ने अवस्थामा नरहेको उनले प्रस्ट्याए । फिस्टेल फुड प्रोडक्टमा खुला मासु राखिएको, सरसफाइ नदेखिएको, लेबल र प्याकेजिङ सच्याउनुपर्ने, प्रयोगशालामा परीक्षण नगरीकनै बजार पठाउने गरिएको उनले बताए । फेवा मिट प्रोडक्टले भने राम्रो गरेको पोखरेलले जानकारी दिए । राम्रो गरेकालाई अझै राम्रो गर्न प्रोत्साहित गर्ने र नराम्रो गर्नेलाई सुरुमा सच्चिने मौका दिने र नभए कानुनबमोजिम कडा कारबाही हुने उनको भनाइ छ । 

प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका निर्देशक गोकुल शर्मा पौडेल, निर्देशनालयका सदस्यसचिव भरतमणि बराल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रशान्त पोखरेल, पोखरा महानगरका अधिकृत रोमनाथ उपाध्याय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक पोषण थापा, उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालालगायतको अनुगमनमा सहभागिता थियो ।