मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ३० बिहीबार ०७:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

निदान अस्पतालमा मिर्गौला किनबेच प्रकरण : सिइओसहित पाँच पक्राउ

Read Time : > 2 मिनेट
२०७६ असोज ३० बिहीबार ०७:१०:००

नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले मिर्गौला खरिद–बिक्री गरेको खुलेको छ । यो प्रकरणमा प्रहरीले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रसाद, चिकित्सक डा. राजेश पन्त र कानुनी सल्लाहकार कुमुद भट्टराईलाई पक्राउ गरेको छ । मानव बेचबिखन नियन्त्रण ब्युरोले बुधबार उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको हो । 

अस्पतालले दुई महिनाअघि रामेछाप दोरम्बा–३ घर भएका ५६ वर्षीय शंकरलाल लामाको मिर्गाैला प्रत्यारोपण गरेको थियो । एक व्यक्तिलाई शंकरलालको भान्जा बनाएर मिर्गौला निकाली प्रत्यारोपण गरेको र त्यसबापत आर्थिक लेनदेन भएको पुष्टि भएपछि पक्राउ गरिएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए । मिर्गाैला ग्रहण गर्ने लामा र जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत रामचन्द्र आलेलाई पनि पक्राउ गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐनअनुसार कारबाही अघि बढाएको छ । जसअनुसार उनीहरूलाई पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । 

लामाबाहेक पक्राउ परेका अन्य चारजना कागजपत्र प्रमाणीकरण गर्ने कानुनी समितिका व्यक्ति हुन् । शंकरलालका आफ्नै भान्जा भन्दै पीडितको मिर्गाैला निकालिएको थियो । कागजपत्रमा भने शंकरलालका वास्तविक भान्जाकै फोटो राखेर फरक व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो ।

यस्तै बदमासी हुन सक्छ भनेर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसमेत रहने कानुनी समितिले क्रसचेक गर्ने प्रावधान छ । मिर्गाैलादाता कागजपत्रअनुसारकै व्यक्ति हो÷होइन क्रसचेक गर्ने अधिकार समितिलाई छ । निदानमा भएको मिर्गौला खरिद–बिक्रीमा सो समितिको समेत मिलेमतोमा रहेको प्रहरीको आशंका छ । सोही समितिका सदस्य रहेर जिम्मेवारी पूरा नगरेकाले प्रशासन कार्यालयका अधिकृतलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

 नर्सले प्रश्न  उठाइन्, तर अस्पतालले ढाकछोप ग-यो
२४ साउनमा डा. पुकार श्रेष्ठ नेतृत्वको टिमले बिरामी शंकरलाल लामाको मिर्गाैला प्रत्यारोपण गरेको थियो । त्यसको अघिल्लो दिन एक नर्सले कागजपत्र हेरेर फोटोको व्यक्ति र मिर्गाैला दिने व्यक्ति नमिल्ने भन्दै प्रश्न उठाएकी थिइन् । अस्पतालभित्रै विवादसमेत भयो । तर, विवाद ढाकछोप गरेर मिर्गाैला दिने व्यक्तिकै फोटो टाँसियो । पहिलाको र पछिको फोटोमा फरक–फरक व्यक्ति थिए । त्यसबारे नर्सले प्रश्न उठाउँदा पहिले मोटो भएकोमा अहिले दुब्लाएको भनेर त्यसतर्फ थप बुझ्ने काम नगरी मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

नर्सबाटै प्रश्न उठ्दा पनि अस्पतालले चासो नदिई मिर्गाैला प्रत्यारोपण गराउनुले अस्पतालको मिलेमतो प्रस्ट हुने प्रहरी अधिकारीहरू बताउँछन् । फोटो नमिलेको भनेर प्रश्न उठाउने नर्सले प्रहरीसँग कागज गरिसकेकी छिन् । प्रहरीले सुरुमा अस्पतालबाट कागजपत्र मगाएर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा अस्पतालको मिलमतो रहेको प्रशस्त आधार देखिएपछि बुधबार पक्राउ गरिएको हो । 

 अस्पताललाई ११ लाख, पीडितलाई तीन लाख 
शंकरलाललाई मिर्गौला प्रत्यारोपण गरेबापत निदान अस्पतालले ११ लिएको छ । यो प्रत्यारोपण गरेबापतको चार्ज हो । यही मोटो रकमका लागि अस्पतालले अवैध धन्दा गरेको प्रहरीले जनाएको छ । पीडित व्यक्तिलाई भने मिर्गौला दिएबापत तीन लाख दिएको खुलेको छ । आर्थिक अवस्था कमजोर भएपछि उनले मिर्गाैला बेचेको खुलेको छ ।

झुक्याएर मिर्गाैला निकालिएको भन्दै उनले प्रहरीमा जाहेरी दिएका छन् । उनलाई भक्तपुरको एक घरमा निकै चिसो कोठामा राखिएको थियो । उनको स्वास्थ्यमा समेत जोखिम देखिएको ब्युरोका डिएसपी राजकुमार सिलवालले बताए । पीडित हास्यकलाकारसमेत हुन् । एक दलालमार्फत उनले मिर्गाैला बेचेको प्रहरीले जनाएको छ । दलाल, मिर्गाैला लिने व्यक्तिका छोरालगायत केही व्यक्तिको खोजी भइरहेको डिएसपी सिलवालले बताए । 

 अन्य अस्पतालमा पनि निगरानी 
अन्य अस्पतालमा पनि यस्तै धन्दा भइरहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । त्यससम्बन्धी सूचनासमेत आएको ब्युरोका एक अधिकारीले बताए । मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले मानव अंग दान गर्न सकिने, तर खरिद तथा बिक्री गर्न नपाउने व्यवस्था छ । जीवित व्यक्तिको अंग निकालेर परिवारको सदस्य वा नजिकको आफन्तमा प्रत्यारोपण गर्न मिल्ने उल्लेख छ । 

परिवारको सदस्यअन्तर्गत पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुरा उल्लेख गरिएको छ । त्यस्तै, नजिकको नातेदारको परिभाषामा अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, आमा, बाबु, धर्मपुत्र धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, पुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठान पर्छन् । तर, दलाल समूहले नक्कली कागजपत्र तथा नाता प्रमाणीकरण गरेर मिर्गाैला किनबेच गर्दै आएका छन् । विगतमा भारतमा लगेर यसरी मिर्गाैला खरिद–बिक्री हुने गरेको थियो । पछिल्लो समय नेपालमै प्रत्यारोपण सुरु भएपछि यस्ता अवैध गतिविधि बढेका छन् । यद्यपि, भारतमा लगेर खरिद–बिक्री गर्ने क्रमसमेत रोकिएको भने छैन ।

अवैध रूपमा मिर्गौला प्रत्यारोपण 
डेढ वर्षअघि भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा पनि यस्तै घटना भएको थियो । जहाँ मानसिक रोगी काभ्रे नालाका कुमार गिरीको मिर्गौला झुक्याएर निकाली मोरङका थर्कबहादुर बस्नेतको शरीरमा प्रत्यारोपण गरिएको थियो । गिरी बस्नेतको छोरा भएको नक्कली कागजपत्र बनाएर मिर्गौला निकालिएको थियो ।

१० वैशाख ०७५ मा भएको सो घटनामा प्रहरीले बस्नेत परिवारविरुद्ध मुद्दा चलाएको थियो । तर, अस्पताल प्रशासनका सबैलाई उन्मुक्ति दिइएको थियो । सो घटनामा पनि डा. पुकार श्रेष्ठले नै मिर्गाैला प्रत्यारोपण गरेका थिए । अहिलेको घटनामा पनि जोडिएपछि उनीमाथि समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।