Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज ३० बिहीबार ०६:३६:००
Read Time : > 1 मिनेट
समाचार

बसाइँसराइ रोक्न होमस्टे

Read Time : > 1 मिनेट
२०७६ असोज ३० बिहीबार ०६:३६:००

रोजगारीका लागि बिदेसिने युवा र गाउँबाट बसाइँसराइ रोक्न दोर्दी गाउँपालिका–६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ । ५५ घरधुरी रहेको ताँजेमा स्थानीय युवाको सक्रियतामा होमस्टे सञ्चालन गरिएको हो ।गाउँमा होमस्टे सञ्चालन भएसँगै ताँजेका युवा गाउँ फर्किन थालेका छन् । ताँजेबाट बसाइँसराइ गरेर अन्यत्र जाने र रोजगारीको खोजीमा युवा पलायन हुने क्रम बढेपछि स्थानीय केही सचेत युवा होमस्टे सञ्चालन गर्ने अभियानमा जुटेका हुन् । 

सुरुमा गाउँको तीन घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा स्थानीय आमा समूहका महिला पनि सक्रिय छन् । गाउँका बेरोजगार युवालाई साथ लिएर होमस्टे सञ्चालन गरिएको ताँजे होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवं होमस्टेका अभियन्ता टकलाल घलेले बताए । ‘युवा पलायनका कारण हिजोआज ग्रामीण बस्ती बिस्तारै युवाविहीन बन्ने क्रम बढ्दो छ,’ घलेले भने, ‘यसलाई रोक्न गाउँमै रोजगारी खोजी गर्ने उद्देश्यले होमस्टे सञ्चालन गरेका हौँ ।’ ताँजेमा घले, गुरुङ, तामाङ र दलित समुदायको बसोवास छ । गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेको छ । ५४ मेगावाट क्षमताको सुपर दोर्दी (ख) जलविद्युत् आयोजनाले पनि स्थानीय युवाको होमस्टे अभियानमा साथ दिँदै आएको छ । 

हिमचुली हिमालको काखमा रहेको मनोरम गाउँ हो ताँजे । प्राकृतिक सुन्दरतासँगै गाउँमै उत्पादन हुने अर्गानिक खाने कुराले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक लोभिने गरेका छन् । गाउँमै जलविद्युत् आयोजनामा रोजगारी पनि पाइने र होमस्टेबाट आम्दानी पनि हुन थालेपछि गाउँ फर्कने युवाको संख्या बढ्दै गएको स्थानीय मेखमाया घलेले बताइन् । गाउँमै उत्पादित कालो भटमास, विभिन्न प्रकारका अर्गानिक तरकारी, लोकल कुखुरा, मार्सी चामलको भात र कोदोको परिकारले होमस्टेमा आउने पर्यटकलाई स्वागत गर्ने गरिएको होमस्टे सञ्चालक मेखकुमारी घले बताउँछिन् ।

पछिल्लो समय दोर्दी गाउँपालिका पनि गाउँ छोडेर सहर पसेका र बिदेसिएका युवालाई गाउँ फर्काउने अभियानमा जुटेको छ । गाउँपालिकाले होमस्टेका साथै युवालक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

स्थानीय प्रोमु झरना, कला–संस्कृति, वेशभूषा र अर्गानिक उत्पादन यहाँका आकर्षण हन् । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने सरकारी प्रयासमा ताँजेवासीको साथ रहेको सुपर दोर्दी आयोजनाका निर्देशक अर्जुन गौतमले बताए । जिप वा बसमा सदरमुकाम बेँसीसहरबाट उदिपुर, नौथर, हिले, कीर्तिपुर, सिमी हुँदै दुई घन्टामा ताँजे पुगिन्छ । यहाँबाट हिमचुली हिमाल, मेमेपोखरी, गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी पुग्न सकिन्छ ।