मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २९ बुधबार ११:०९:००
Read Time : > 1 मिनेट
अर्थ

धानमा बाला नलागेपछि भोकमरीको चिन्ता

Read Time : > 1 मिनेट
२०७६ असोज २९ बुधबार ११:०९:००

दुई बिघा जमिनमा रोपेको धानमा बाला नलागेपछि कैलालीको गौरीगंगा नगरपालिका–९, शंकरपुरका किसान प्रकाश चौधरी परिवार कसरी पाल्ने भन्ने पीरमा छन् । उनले असार पहिलो साता रोपेको धान अझै पसाएको छैन ।

‘सँगै रोपेको धान अरूले भित्र्याउन थालेका छन् । मैले रोपेको धानमा अझै बाला लाग्ने छाँटकाट छैन,’ चौधरीले भने, ‘यस वर्ष धान नफल्ने भयो । परिवार कसरी पाल्ने भन्ने चिन्तामा छु ।’ आफ्नो गुजाराको मुख्य आधार खेतीपाती भएको उनले बताए । मसुरियामा रहेको विशाल एग्रोभेटबाट गरिमा जातको धानको बिउ किनेर उनले रोपेका थिए ।
गौरीगंगाकै मसुरियाका वाशु गुरागाईंले रोपेको धानमा पनि बाला लागेको छैन । ‘नयाँ बिउ हो राम्रो फल्ला भन्ने आशाले लगाइयो तर पाक्ने वेलासम्म पसाएन,’ गुरागाईंले भने । भएको १० कठ्ठा जमिनमा उनले असार दोस्रो साता रोपाइँ सकेका थिए । आठ जनाको परिवार खेतीपातीमै निर्भर रहेको गुरागाईंले बताए ।

‘आम्दानीको अरू कुनै स्रोत छैन । धान फल्दैन होला,’ उनले दुखेसो पोखे, ‘नयाँ बिउ धेरै फल्छ भनेर  लगाएँ, गुजारा चलाउन मुस्किल हुने भयो ।’ उनले पनि गरिमा जातको धानको बिउ रोपेका थिए । अरू जातको धान पाक्न थाल्दा आफ्नो खेत भने हरियै रहेको उनले बताए । 

गौरीगंगा नगरपालिकाको वडा नम्बर ९ मा मात्रै एग्राभेटबाट किनेको धानको बिउ रोपेका करिब सय जना किसानले बाला नलागेको भन्दै राहतका लागि निवेदन दिएको वडाध्यक्ष हरिप्रसाद तिवारीले बताए ।   

कैलाली र कञ्चनपुरका किसानले रोपेको सिन्दुरी र गरिमा धानमा बाला लागेको छैन । धान हलक्कै बढे पनि बाला नलागेको किसानले बताएका छन् । रोपेको धानमा बाला नलागेपछि भोकमरी हुने चिन्तामा किसानहरू छन् । उनीहरूले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । ‘राम्रो फल्छ भनेर लगाएको बिउले डुबायो,’ अर्का किसान पुरन चौधरीले भने, ‘हुनेले त किनेर पनि खालान्, खेतीपातीमै निर्भर हामीजस्ता किसानलाई कसरी पेट पाल्ने भन्ने समस्या हुने भयो ।’

२७२ हेक्टर धानमा बाला लागेन
कैलाली र कञ्चनपुरमा करिब दुई सय ७२ हेक्टर जमिनमा रोपिएको धानमा बाला नलागेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक यज्ञराज जोशीले भारतीय बिउ सिन्दुरी र गरिमा जातमा बाला नलागेको बताए । 

‘दुई जिल्लामा दुई सय ७२ हेक्टरमा लगाइएको धानमा बाला नलागेको तथ्यांक संकलन गरेका छौँ,’ जोशीले भने, ‘धानमा बाला नलागेको भनेर कतिपय किसान अहिले पनि सम्पर्कमा आइरहनुभएको छ ।’ संकलित तथ्यांक विभागमा पठाइएको उनले बताए ।

निमित्त निर्देशक जोशीले चिसो सुरु हुन थालेकाले अब धान पसाउने सम्भावना कम रहेको बताए । बाला नलागेको बिउ भारतीय भएको बुझिएको उनले बताए । यी दुवै जात नेपालमा रोप्न सरकारले सिफारिस गरेको जातमा पर्ने भए पनि नेपाल सरकारअन्तर्गतका कृषि निकायबाट भने उक्त बिउ वितरण नभएको निर्देशनालयले जनाएको छ ।

नक्कली बिउ 
‘नक्कली बिउ परेको देखिन्छ,’ निर्देशनालयका निमित्त निर्देशक यज्ञराज जोशीले भने, ‘तराईका अन्य जिल्लामा पनि यी जातको धानमा यस वर्ष बाला नलागेको बुझिएको छ ।’ तराईमा पर्ने सुदूरपश्चिमका कैलाली र कञ्चनपुर धान उत्पादनका पकेट क्षेत्र हुन् । कैलालीमा ७१ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४२ हजार हेक्टरमा धान खेती हुने सरकारी तथ्यांक छ ।