मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २९ बुधबार ०९:५४:००
Read Time : > 1 मिनेट
खेलकुद

वुमन्स च्याम्पियन्स लिग : उत्साहित महिला क्रिकेटर

Read Time : > 1 मिनेट
२०७६ असोज २९ बुधबार ०९:५४:००

नेपाली महिला क्रिकेटको पहिलो फ्रेन्चाइज प्रतियोगिता वुमन्स च्याम्पियन्स लिग (डब्ल्युसिएल) बुधबारबाट सुरु हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आगामी ७ कात्तिकसम्म चल्ने प्रतियोगितामा विभिन्न पाँच सहरका पाँच टोलीको सहभागिता रहनेछ । 

प्रतियोगिताको उद्घाटन खेलमा बुधबार क्याट क्विन्स र चितवन राइनोज भिड्नेछन् । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइसकेको छ । 

पुरुष क्रिकेटमा एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) जस्ता तीन ठूला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुँदासमेत महिला क्रिकेटमा भने यो नै पहिलो फ्रेन्चाइज प्रतियोगिता हो । 

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको पनि १२ वर्ष बितिसकेको छ । यो अवधिमा घरेलु क्रिकेटको सर्वाेच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा पर्दा महिला क्रिकेटको गतिविधि ठप्पजस्तै बन्यो । 

त्यो अवस्थामा फ्रेन्चाइज क्रिकेट खेल्न पाउँदा नेपाली महिला क्रिकेटर उत्साहित देखिएका छन् । डब्ल्युसिएलमा सहभागी पाँचै टोलीका कप्तानहरूले घरमा महिला क्रिकेटको नयाँ प्रतियोगिता सुरु हुँदा आफूहरूलाई निकै खुसी लागेको बताएका छन् ।

‘लगानीकर्तालाई निरुत्साहित बनाउनेछैनौँ’ :  रुविना क्षेत्री
कप्तान, क्यान क्विन्स

घरमा महिला क्रिकेटका लागि नयाँ प्रतियोगिता सुरु हुँदै छ । महिला क्रिकेटरका रूपमा निकै उत्साहित छु । महिला क्रिकेटका लागि यो महत्वपूर्ण सुरुवात हो । यो हाम्रा लागि पनि महत्वपूर्ण अवसर हो । हामी यो अवसरलाई सकेसम्म सदुपयोग गर्नेछौँ । महिला क्रिकेट र यो प्रतियोगिताका लगानीकर्तालाई निराश पार्नेछैनौँ ।

‘निकै उत्साहित छु’  : सरिता मगर कप्तान, विराटनगर टाइटन्स
पहिलोपटक घरमै महिला क्रिकेटरका लागि ठूलो प्रतियोगिता खेल्ने अवसर पाएका छौँ । निकै उत्साहित छु । यस्ता अन्य प्रतियोगिताले भविष्यमा पनि निरन्तरता पाऊन् भन्न चाहन्छु । सबै टोली प्रतियोगिताको तयारीमा जुटेका छन् । हामीले पनि राम्रो तयारी गरेका छौँ । प्रतियोगितामा प्रतिस्पर्धाका लागि हामी आतुर छौँ ।

‘खुसी लागेको छ’ :   इन्दु वर्मा 
कप्तान, चितवन राइनोज

महिला क्रिकेटका लागि साँच्चिकै केही नयाँ सुरुवात भएको छ । यो सुरुवातका लागि लामो समय लाग्यो । तर, ढिलै भए पनि राम्रो सुरुवात भएको छ । महिला क्रिकेटरका रूपमा यो प्रतियोगिता सुरु हुँदा निकै खुसी छु । भविष्यमा पनि यस्ता प्रतियोगिता अरू पनि थपिऊन् । प्रतियोगिता सुरु हुँदा जति खुसी लागेको छ, प्रतियोगितामा खेल्न पनि उत्तिकै आतुर छु ।

‘नयाँ खेलाडीलाई प्रेरित गर्नेछ’ : नेरी थापा 
कप्तान, ललितपुर फाल्कोन्स

राष्ट्रिय टोलीबाट खेल्न थालेकै १२ वर्ष भइसकेको छ । यो अवधिमा पहिलोपटक घरमा पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्ने अवसर मिलेको छ । लामो समयको पर्खाइपछि यस्तो ठूलो प्रतियोगिता खेल्ने अवसर मिलेको छ । निकै खुसी लागेको छ । यो प्रतियोगिताले अहिलेका खेलाडीलाई अवसर मात्रै दिएको छैन, नयाँ खेलाडीलाई पनि प्रेरित गर्ने विश्वास छ ।

‘महिला क्रिकेट अझै जीवितै छ भन्ने महसुस भएको छ’  : सीता रानामगर कप्तान, पोखरा पल्टन
हामीले पहिलोपटक पुरुष क्रिकेटरले खेल्नेजस्तै ‘सेट अप’मा खेल्ने अवसर पाएका छौँ । यो प्रतियोगिता सुरु हुँदा हामी सबै खुसी छौँ । कम्तीमा अहिले महिला क्रिकेट अझै जीवित रहेछ भन्ने महसुस भएको छ । यसले नेपाली महिला क्रिकेट व्यावसायिक सेट अपतर्फ अघि बढेको महसुस पनि गरेकी छु । सबैलाई धन्यवाद दिन चाहन्छु ।