मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. माधवी भट्ट
२०७६ असोज २९ बुधबार ०८:४८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

विवाहेतर सम्बन्धका परकम्प

कार्यक्षेत्रमा हुने यौनहिंसा र दुर्व्यवहार रोक्न कानुन बने पनि व्यवहारमा यो समस्या जटिल बन्दै गएको छ

Read Time : > 4 मिनेट
डा. माधवी भट्ट
२०७६ असोज २९ बुधबार ०८:४८:००

निवर्तमान सभामुख कृष्णबहादुर महराले सम्भवतः कहिल्यै सोचेका थिएनन्, वर्षौंदेखि परिचित रोशनी शाहीसँगको सम्बन्धले यसरी दुर्घटना निम्त्याउँछ भन्ने । पूर्वविद्रोही नेकपा (माओवादी) मा अनुशासित र नैतिकवान् नेताको छवि बनाएका महराले करिब डेढ दशकदेखि रोशनीसँग गाँसेको अव्यवस्थित सम्बन्धले १२ असोजमा ठूलो भूकम्प नै ल्याइदियो ।

जसको परिणामस्वरूप महराको सम्मानित सभामुख पद गुम्न पुग्यो भने रोशनीको २८ वर्ष लामो वैवाहिक सम्बन्ध विच्छेद हुने अवस्थामा पुग्यो । यस प्रकरणमा एकपछि अर्को गर्दै आएका परकम्पले महरा र रोशनी दुवैको बाँकी जीवन नराम्ररी हल्लाइरहनेछ । घटनाको अन्तिम पटाक्षेपका रूपमा ‘बलात्कार प्रयास’ देखिए पनि यसलाई विवाहेतर सम्बन्धले निम्त्याएको दुर्घटनाका रूपमा बुझ्न र विश्लेषण गर्न जरुरी देखिन्छ ।

पछिल्लो समय विवाहेतर सम्बन्ध नेपाली समाजमा भुसको आगो जस्तै सल्कँदै गइरहेको छ । देशको राजनीतिक, प्रशासनिक र वैदेशिक रोजगारीसँग जोडिएका हजारौँ परिवार यही कारण खण्डित भएका छन् । तीमध्ये कतिको व्यक्तिगत जीवन नै सखाप भएको छ । यौन दुराचारको आरोपमा पक्राउ पर्ने पहिलो उच्चपदस्थ नेपाली बन्न पुगेका महराको पनि राजनीतिक अवसान अवश्यम्भावी छ । सामाजिक र पारिवारिक बहिष्करणमा परेकी रोशनीको जीवनले कस्तो मोड लिन्छ भन्ने सम्भवतः महरामाथिको कारबाहीमा निर्भर गर्छ ।

लामो समयदेखि महरासँग निकट र अन्तरंग सम्बन्ध भएको भनिएकी रोशनीलाई निर्दोष र नैतिकवान् देखाउन र महरालाई मात्रै बदनाम गर्न खोजिएको होइन, यस लेखमा । हाकिमको निकट भएका र तिनले पुलपुल्याएका महिलाको चुरीफुरीले प्रताडित हुनेहरूको संख्या ठूलो छ, समाजका विभिन्न तह र तप्कामा । श्रीमतीलाई ढाँटेर परस्त्रीगमन गर्ने पुरुष जति गलत हुन्छन्, त्योभन्दा कम गलत हुँदैनन् परपुरुषसँग सम्बन्ध राख्ने र आफूजस्तै पितृसत्ताबाट पीडित अर्की नारीलाई अन्यायमा पार्ने महिला पात्रहरू पनि । 

पद, पैसा र शक्तिको आडमा विवाहेतर सम्बन्ध कायम गर्ने धेरै पुरुषलाई यसअघि ‘कानुन’ लाग्न नसकेका कारण मात्रै महरा पहिलो व्यक्ति बनेका हुन् । अन्यथा, धेरै व्यक्ति यस सूचीमा लामबद्ध भइसकेका हुन्थे । पद र पैसा भएका र शक्तिशाली मानिएका पुरुषसँग निकट भएर स्वार्थ पूरा गर्ने र आफू शोषणमा परेको हेक्का नराख्ने महिला धेरै छन्, समाजमा । जो स्वार्थ मिल्दासम्म यौन सम्बन्धलाई सहर्ष स्विकार्छन् (चाहे त्यो जबरजस्ती नै किन नहोस्) र स्वार्थ बाझिनेबित्तिकै बलात्कारको रूपमा आरोपित गर्छन् ।

धेरै पुरुष छन्, जो वर्षौंदेखि दोस्री श्रीमतीकै रूपमा घरबाहिर महिला राखिरहेका छन् र दुवैको सहमतिमा दर्जनौँपटक यौन सम्बन्ध कायम भए पनि असहमतिमा राखिएको सम्बन्ध जुनसुकै परिस्थितिमा पनि बलात्कार ठहरिन्छ भनी बुझ्दैनन् । वैवाहिक बलात्कारलाई समेत कानुनले निषेध गरिसकेको अवस्थामा अन्य महिलाको अस्वीकृतिमा सम्बन्ध राख्नु भनेको महिलाको मानवअधिकार र आत्मसम्मानको ख्याल नगर्नु हो । र, यो गम्भीर प्रकृतिको फौजदारी अपराध हो । सहमतिमै पनि श्रीमान् वा श्रीमतीभन्दा बाहिर यस्तो सम्बन्ध कायम राख्नु नैतिक पतन हो ।

एक पति र एक पत्नीलाई आदर्श मान्ने हिन्दूप्रधान नेपाली समाजले त झन् पचाउने विषय नै होइन, यो । नैतिक पतन र पदीय गरिमाविपरीत वर्षौंदेखि चलेको भनिएको महरा–रोशनी प्रकरणले अन्त्यमा फौजदारी अपराधको कानुन आकर्षित भएको हो । तर, अदालतबाट न्याय निरूपण नगर्दासम्म महरा आरोपित मात्रै हुन्, अपराधी होइनन् ।

अधिकांश नेपाली महिलाले आफूमाथि श्रीमान्ले दिएको धोकालाई प्रतिकार गर्न नसकेकाले नै समस्या जटिल बनेको हो । महराकी श्रीमतीजस्तै श्रीमान्सँग हारेका र थाकेका कैयौँ महिला पुरुषको अन्यत्र सम्बन्ध भएको थाहा पाउँदापाउँदै पनि वैवाहिक सम्बन्ध घिसारिरहेका छन् । श्रीमान्ले बाहिर अर्की महिलासँग पनि सम्बन्ध राखेको सूचना बारम्बार प्राप्त गर्दा महरापत्नीले कति प्रताडना सहिन् होला, अनुमान गर्न कठिन छैन । विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार हाल नसा र डिप्रेसनको बिरामी महरापत्नी प्रत्येक दुई घन्टामा औषधि सेवन गर्नुपर्ने अवस्थामा पुगेकी छिन् ।

श्रीमान्को पद, प्रतिष्ठा र रवाफले समाजसामु उज्यालिएको देखिए पनि अन्तरंग सम्बन्धमा आएको दरारले उनको पारिवारिक सम्बन्ध मक्किसकेको रहेछ । उता, महरासँग श्रीमतीको लामो सम्बन्धलाई रोशनीका पतिले पनि किन स्विकारे भन्ने प्रश्न पनि उत्तिकै गम्भीर छ ।

रोशनीले आफूमाथि बलात्कार भयो भन्दाभन्दै उनका श्रीमान् चित्रजंग शाहीले महराकै पक्ष लिनुले भने विवाहेतर सम्बन्धको त्रिकोणात्मक पक्ष उजागर गरेको छ । साथै, नेपाली समाज अब पश्चिमा संस्कृतिमा रूपान्तरण भएको त होइन भन्ने प्रश्न पनि सोझिएको छ । किनकि, रोशनीका श्रीमान् आर्थिक, सामाजिक रूपले पत्नीमा परनिर्भर थिएनन् । कतै चित्रजंगले महरासँग आफ्नो राजनीतिक सम्बन्ध मजबुत बनाउन र अन्य फाइदा लिन श्रीमती रोशनीलाई प्रयोग गरेका त थिएनन् ? प्रहरीको अनुसन्धानले यस त्रिकोणात्मक विषयमा पक्कै पनि प्रवेश गर्नेछ ।

बहुविवाह कानुनले वर्जित गरे पनि पुरुषको परस्त्रीगमन र महिलाको परपुरुषसँगको लसपसले नेपाली समाज अचेल आक्रान्त छ । सशस्त्र द्वन्द्वका वेला माओवादीले एक पति–पत्नीको वकालत गर्दै बहुविवाह गर्नेलाई भाटे कारबाही गरेको सम्झना ताजै छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेजस्तै महरा प्रकरण कुनै एक नेता वा व्यक्तिको निजी मामिलामा सीमित गर्न सकिने विषय होइन ।

सशस्त्र विद्रोहको निर्देशन र उपलब्धिलाई आत्मसात् गर्न राजनीतिक नेतृत्व पं‌क्ति कहाँनेर चुक्यो भनी विश्लेषण गर्ने विषय हो । न त सामाजिक सञ्जालमा चर्चा भए जस्तो कम्युनिस्ट चरित्रको बिम्ब नै हो भनी सामान्यीकरण गर्न सकिन्छ, यस घटनालाई । यौन अनुशासन र आचरण कायम राख्न नसक्ने व्यक्तिहरू सबै पार्टीमा छन् । समाजका सबै क्षेत्रमा छन् । त्यसैले यसलाई कुनै एक पार्टीविशेषको मात्र समस्या मान्न सकिँदैन । यहाँ गम्भीर विषय के छ भने विवाहेतर सम्बन्धमा रहेका पुरुषभन्दा महिला आत्मग्लानि र पश्चातापमा जल्ने तथ्य विभिन्न अनुसन्धानले सार्वजनिक गरेका छन् । तर, विडम्बना राजनीतिक दलहरू यस्ता गुनासोमा गम्भीर देखिँदैनन् । महिला नेताहरू पनि बोल्न रुचाउँदैनन् । 

श्रीमतीलाई ढाँटेर परस्त्रीगमन गर्ने पुरुष जति गलत हुन्छन्, त्योभन्दा कम गलत हुँदैनन् परपुरुषसँग सम्बन्ध राख्ने र आफूजस्तै पितृसत्ताबाट पीडित अर्की नारीलाई अन्यायमा पार्ने महिला पात्रहरू पनि

कार्यक्षेत्रमा हुने यौनहिंसा र दुव्र्यवहार रोक्न कानुन बने पनि व्यवहारमा यो समस्या जटिल बन्दै गएको छ । यौनजन्य दुव्र्यवहार निजी क्षेत्रमा मात्र होइन, सरकारी तहमा पनि विद्यमान छ । निजामती प्रशासनमा समेत कतिपय अवस्थामा महिलाहरू दोहोरो मारमा परेको सुनिन्छ । अधिकांश कार्यालयमा अनिच्छापूर्वक पनि महिलाहरू पुरुष हाकिमका निजी स्वकीय सचिव (पिए) बस्न बाध्य छन् ।

पक्कै पनि हरेक काममा महिला र पुरुषले समान अवसर पाउनुपर्छ । सहज अनुभव गरेर र स्वेच्छाले बस्नु स्वाभाविक होला । तर, दर्जनौँ पुरुष कहिल्यै पिए बस्नु नपर्ने, एउटा महिलाचाहिँ सधैँ बस्नुपर्ने ? ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१’ ले कसैले आफ्नो पद, शक्ति वा अधिकार दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई जिस्क्याउने, हैरानी दिने वा यौनजन्य आशयले कुनै अंगमा छोएमा वा छुने प्रयासलगायत अन्य विभिन्न क्रियाकलापलाई दण्डित मानेको छ । तर, यो ऐनले नदेखेका धेरै थरी दुव्र्यवहार छन् ।

खासगरी, पुरुष हाकिमले महिलालाई कार्यालय सहयोगी वा पिएमा छनोट गर्ने चलन पुरानो छ । रोजगारीमा महिला पुरुषको समान अवसर सुनिश्चितता गर्नुपर्छ भन्ने मर्मको खोल ओढेर महिलाको शोषण गरेको देखिएको छ, सुनिएको छ । तर, यी आवाज पद र शक्तिका कारण दबिएका छन् । सरकारले यस्ता महिलाका मनोवैज्ञानिक र सामाजिक पक्षको अनुसन्धान गर्नुपर्ने हो, तर हुन सकेको छैन । पीडित महिला रोजगारीको सुनिश्चितताका लागि जस्तोसुकै शोषण सहन बाध्य छन् ।

शक्तिमा रहेकाले प्रायः तल्लो दर्जाका र कम उमेरका महिलालाई यौन पार्टनर बनाउने गरेको आरोप छ । यस्ता महिलाले प्राप्त गरेको हैसियत र भूमिका प्रेमिकाले प्राप्त गर्ने जस्तो हुँदैन । पत्रकार शालिकराम पुडासैनीले घरमा श्रीमती हुँदाहुँदै एक नर्स युवतीसँग कायम गरेको घनिष्टताले पुडासैनीलाई आत्महत्याको कायर बाटो समात्न मात्र बाध्य पारेन, बरु उनले झुन्डिनुअघि रेकर्ड गराएको भनिएको भिडियो प्रकरणका कारण एक सञ्चारकर्मीलाई हिरासतसम्म पु-यायो । आत्महत्या दुरुत्साहनको अभियोग लागेका उनी धरौटीमा रिहा भएपछि पनि अदालत धाइरहेका छन् ।

विवाहेतर सम्बन्धको उत्कर्षमा पुगेका कैयौँ जोडी समाज र परिवारले अस्विकार्ने अवस्थामा पुगेपछि आत्महत्या गरेका घटना प्रायः सार्वजनिक भइरहेकै छन् । एकातिर महरापत्नी नसा र डिप्रेसनको बिरामी हुनु, अर्कातिर महरासँग निकट रहेकी रोशनीले पनि डिप्रेसनकै कारण आत्महत्या प्रयास गरेको समाचार सार्वजनिक भएबाट यो विवाहेतर सम्बन्धले धेरैलाई धेरै कोणबाट प्रताडित गर्छ भन्ने बुझ्न सकिन्छ ।अन्त्यमा, सरकारले महिला हिंसाविरुद्ध थप कठोर हुन आवश्यक छ । विवाहेतर सम्बन्धमा माथि चर्चा गरिए जस्तो त्रिकोणात्मक विश्लेषण हुनुपर्छ ।