१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज २९ बुधबार ०६:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भक्तपुरमा उपनिर्वाचनको चहलपहल

तीन दलबीच मुख्य प्रतिस्पर्धा, आकांक्षीले दाबी प्रस्तुत गर्न थाले

Read Time : > 1 मिनेट
२०७६ असोज २९ बुधबार ०६:४४:००

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुरमा चहलपहल सुरु भएको छ । रिक्त क्षेत्रमा १४ मंसिरमा उपनिर्वाचन हुँदै छ । निर्वाचनको मिति घोषणा भएपछि दलहरूभित्र आकांक्षी उम्मेदवारहरूको रस्साकस्सी सुरु भएको छ । दलहरूले सक्रियता बढाएका छन् । 

भक्तपुर–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको हृदयघातका कारण मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि पार्टीहरूले निर्वाचनमा उठाउने उम्मेदवारको आधिकारिक घोषणा गरेका छैनन् । तर, उपनिर्वाचनकेन्द्रित गतिविधि भने सुरु भइसकेका छन् । पार्टीको आन्तरिक बैठक र निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारले दाबी प्रस्तुत गर्ने क्रमसमेत सुरु भएको छ । 

निर्वाचत क्षेत्रमा स्थानीय तहका जनप्रतिनिधि, सांसद, पार्टीका नेता÷कार्यकर्ताको सक्रियता बढेको छ । आकांक्षी उम्मेदवारहरूले भेटघाट र छलफललाई बढाएका छन् । चिया पसल, खाजाघर, गाउँघरका भेटघाट र कार्यक्रममा पनि उपनिर्वाचनको विषयले चर्चा पाउन थालेको छ । 

को–को छन् आकांक्षी ?
भक्तपुर–१ (क) को उपनिर्वाचनमा नेकपा, कांग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभाका लागि नेकपाबाट दर्जनौँ नेताले आकांक्षा देखाएका छन् । मोहनवीर श्रेष्ठ, देवीप्रसाद ढकाल, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल र रमेश बुढाथोकीको नाम चर्चामा छ । नेकपाभित्र स्व. लामिछानेकी श्रीमतीलाई नै उम्मेदवार बनाउने भन्ने विषयले पनि चर्चा पाएको छ । लामिछानेकी श्रीमतीलाई उठाए सेन्टिमेन्ट भोटबाट जित्न सकिने कतिपय नेताको तर्क छ । 

यसअघि झिनो मतान्तरले पराजित भएको कांग्रेस उपनिर्वाचनमा बलियो उम्मेदवार प्रस्तुत गर्ने तयारीमा छ । तर, कांग्रेसबाट पनि आकांक्षी धेरै भएकाले सर्वसम्मत उम्मेदवार तय गर्न कठिन हुने नेताहरू बताउँछन् । कांग्रेसबाट गत निर्वाचनमा पराजित जीवन खत्रीसहित कृष्णलाल भडेल, यादव अधिकारी र विनोदप्रकाश कायस्थले दाबी गरेका छन् । 

नेमकिपाभित्र पनि उपनिर्वाचनको उम्मेदवारका विषयमा चर्चा सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर– १ वर्षौँदेखि नेमकिपाको पकडमा छ । तर, प्रदेश निर्वाचन क्षेत्र (क) मा भने नेमकिपा खुम्चिँदै गएको देखिन्छ ।

पकड बढाउन र भएको उपस्थिति बचाउन नेमकिपाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रेम सुवालले सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकासको सबै बजेट यही निर्वाचन क्षेत्रमा खर्च गर्दै आएका छन् । हालै राष्ट्रिय महाधिवेशन गरेको नेमकिपाभित्र को उम्मेदवार बन्ने भन्ने विषयमा छलफल सुरु भए पनि अहिलेसम्म कोही खुलेका छैनन् । यसअघि निरज लवजु पराजित भएका थिए । 

१४ सय मतदाता थपिए
भक्तपुर क्षेत्र–१ (क) मा एक हजार चार सय ८४ मतदाता थपिएका छन् । ०७४ को निर्वाचनमा भन्दा सात सय ४८ जना महिला र सात सय ३६ जना पुरुष मतदाता थपिएको कार्यालयले जनाएको छ । यसअघि ४३ हजार पाँच सय ३२ मतदाता रहेकामा अब कुल मतदाता संख्या ४५ हजार ३६ पुगेको छ ।

निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । जसअनुसार अघिल्लो निर्वाचनमा भन्दा यसपटक एक हजार चार सय ८४ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । सो क्षेत्रमा चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिकाको १० नं. वडा समेटिएको छ । २१ वटा मतदान केन्द्र छन् ।  

अघिल्लो निर्वाचनको स्थिति
अघिल्लो निर्वाचनमा नेकपाका हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका जीवन खत्रीले नौ हजार नौ सय ७७, नेमकिपाका निरज लवजुले सात हजार ११ मत र नेकपा माओवादी केन्द्रका देवीप्रसाद ढकालले सात सय ८४ मत पाएका थिए । विवेकशीलका कालीचरण कार्कीले सात सय ८३, राप्रपाका मुकुन्द कार्कीले चार सय ८५ र नयाँ शक्तिका सानुप्रसाद बनले ७८ मत पाएका थिए ।