मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २९ बुधबार ०६:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

महरालाई तीन दिन हिरासतमा राख्न अनुमति

महराका चालकद्वारा महिलाको डेरामा गएको पुष्टि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २९ बुधबार ०६:३३:००

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी प्रयासमा आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ । संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका महरालाई मंगलबार जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले म्याद थपको अनुमति दिएको हो ।

महरालाई पक्राउ गरेको दिन (गत १९ असोज) देखि लागू हुने गरी १३ दिनको न्यायिक हिरासतमा राखेर थप अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए । मंगलबारको बहसमा सरकारी वकिलतर्फबाट उमानाथ शर्मा र विपक्षी महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू मुरारी सापकोटा, चन्द्र गुरागाईं र लक्ष्मी शर्मा देवकोटाले बहस गरेका थिए । 

 बयान भ्याइएन 
मंगलबारदेखि महराको थप बयान गर्ने प्रहरी तयारी थियो । तर, म्याद थपकै क्रममा ढिला भएपछि बयान भ्याइएन । बुधबारदेखि उनीसँग बयान लिने प्रहरी तयारी छ । अघिल्लो बुधबार नै बयानको प्रक्रिया सुरु भएको थियो । तर, उच्च रक्तचापका कारण उनी अस्पताल भर्ना भएपछि बयान हुन सकेको छैन । तिहारअगाडि नै महराविरुद्ध अदालतमा मुद्दा दायर गर्ने गरी प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

 पुनः नर्भिक लगियो
१२ असोजमा काठमाडौंको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले १८ असोज (फूलपाती)मा प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको भोलिपल्ट १९ असोजमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको थियो । 

दसैँ बिदा सकिएपछि उनलाई मंगलबार पहिलोपटक अदालत उपस्थित गराइएको हो । पक्राउपछि चार दिन महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका उनलाई गत बिहीबार सरकारी कार्यालय खुलेसँगै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको थियो ।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला सरकारी वकिलमार्फत पहिलोपटक म्याद थप गर्न अदालतमा उपस्थित गराएको हो । बलात्कार प्रयासको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको महरालाई मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । उनलाई नर्भिक अस्पतालबाट सीधै सरकारी वकिल कार्यालय लगिएको हो । अदालतबाट म्याद थप भएपछि महरालाई फेरि नर्भिक अस्पताल लगिएको छ ।

 फिंगर प्रिन्टको परीक्षण 
अनुसन्धानलाई बलियो बनाउन प्रहरीले वैज्ञानिक प्रमाणसमेत संकलनतर्फ लागेको छ । जसतर्फ महिलाको डेराबाट बरामद रक्सीको गिलास, बोतलबाट औँठाछाप परीक्षण गर्न लागिएको छ । सो गिलास तथा बोतलमा महराको औँठाछाप परीक्षणमा देखिएमा प्रमाण थप बलियो हुन्छ । तर,डिएनए परीक्षण भने प्रहरीले तत्काल नगर्ने भएको छ । सामान्यतः रगत, जरासहितको रौँ, हड्डी, पसिना, र वीर्यबाट नेपालमा डिएनए परीक्षण हुने गरेको छ ।  

महराका चालकद्वारा महिलाको डेरामा गएको पुष्टि 
निवर्तमान सभामुख महराका चालक तथा अन्य प्रहरीले १२ असोज साँझ तीनकुनेस्थित महिलाको डेरामा गएको पुष्टि गरेका छन् । आफूहरूले महिलालाई नचिनेको, तर त्यो दिन आफूहरू तीनकुने गएको भनेर उनीहरूले कागज गरिदिएका छन् । महानगरीय प्रहरी परिसरले महराका चालक तथा सुरक्षामा खटिएका अन्य प्रहरीसँग सोधपुछ गरेको थियो । जसक्रममा घटना भएको वेला तीनकुने गएको उनीहरूले कागज गरेका हुन् । 

सादा पोसाकका प्रहरीसहित महरा त्यो साँझ पीडित महिलाको डेरामा गएको पुष्टि हुने थप प्रमाण संकलन भएको प्रहरीले जनाएको छ । यसअघि त्यो क्षेत्रको सिसिटिभी फुटेजमै उनी त्यहाँ गएको देखिएको थियो । सोही भिडियो हेरेपछि प्रधानमन्त्री केपी ओेलीले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।