१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज २८ मंगलबार १०:५४:००
Read Time : > 1 मिनेट
प्रदेश

असिनापानी रोक्न लामागुरुद्वारा साङदुङ

Read Time : > 1 मिनेट
२०७६ असोज २८ मंगलबार १०:५४:००

पाक्न लागेको धानलगायत अन्नबाली असिनापानी तथा हावाहुरीबाट जोगाउन सेकाहामा साङदुङ गरिएको छ । खाँदबारी नगरपालिका–४ सेकाहाका दोर्ची भोटे लामाले साङदुङ गरेका हुन् । असिना तर्काउने लामाका रूपमा चिनिएका दोर्चीका पुर्खा पनि लामा थिए । बाबु नाङछिरिङ भोटे लामाको मृत्युपछि साङदुङ गर्ने जिम्मेवारी उनको काँधमा आएको हो । उनलाई अहिले कान्छा छोरा जम्लिङले साथ दिँदै आएका छन् । जम्लिङले अहिले बाबुबाट असिना तर्काउने विद्या सिक्दै छन् । 

सेकाहा, आङ्ला, मत्स्य पोखरीलगायत स्थानका असिना तर्काउने लामा थिए । अहिले भने सीमित स्थानमा मात्र छन् । अन्नबाली पाक्ने वेला भएपछि उनीहरूको काम सुरु हुन्छ । दिनदिनै घरमा पूजा गर्ने उनीहरू आकाशमा कालो बादल देखिन थालेपछि थप र विशेष पूजा गर्न जुट्छन् । स्थानीयमा लामा गुरुले साङदुङ गर्दै पूजा गरेपछि असिना तर्कने विश्वास छ ।

दोर्ची नुर्ब भोटे लामाका सात पुस्ताबाट सेकाहामा असिना तर्काउने लामाका रूपमा बस्दै आएका छन् । असिना तर्काउने भएकाले उनलाई असिने लामा भनेर पनि चिनिन्छ । भन्छन्, ‘मेरो सात पुस्ताअघिको जिजुलाई भोट खोलाको हुङहुङबाट ल्याएर असिने लामाका रूपमा यहाँ राखिएको रहेछ । त्यसैको निरन्तरता स्वरूप अहिले मैले काम गरिहेको छु ।’

अहिले सेकाहा, पाङ्मा, आङ्ला, चन्दनपुरलगायत स्थानमा असिना तर्काउने जिम्मा दोर्चीकै काँधमा छ । उनले भोटखोला क्षेत्रको हुङहुङ र हटियामासमेत हेनुपर्छ । किमाथांका, चेपुवा र च्याम्ताङ, जिल्लाको दक्षिणी भेगमा भने अर्के असिने लामा छन् । असिने लामागुरुमध्ये कसले कुन–कुन क्षेत्र हेर्ने भनेर जिम्मेवारी बाँडफाँड गरिएको छ ।

ती असिने लामा गुरुहरूका लागि खाने, बस्ने सबै प्रबन्ध गाउँलेले गरेका हुन्छन् । प्रत्येक घरधुरीबाट एक–एक पाथी धान, एक माना चामाल, दसैँ र तिहारमा तरकारी, जाँडरक्सीसमेत उपलब्ध गराउनुपर्छ । कात्तिक लागेपछि धान, कोदोलगायत अन्नबाली नथन्क्याएसम्म उनीहरूले गुम्बा छाड्न पाउँदैनन् ।

अन्नबाली पाकेको समयमा असिनापानी र हावाहुरीजस्ता प्राकृतिक विपत्ति नआओस् भनेर असिना तर्काउने लामा राख्ने गरिएको सेकाहाका स्थानीय लक्ष्मीप्रसाद गुरुङले बताए । लामा गुरुले मन्त्रोच्चारण गरेर असिनापानी, हावाहुरी तथा बतास छेक्न र तर्काउने सक्ने जनविश्वास छ । असिना तर्काउने लामाका रूपमा वर्षौँदेखि लामा राख्दै आएको सेकाहाका अर्का अगुवा भीमबहादुर गुरुङले बताए ।

के हो साङदुङ ?
बर्खाभरि दुःख गरेर लगाएको बालीनाली र अन्नपातको सुरक्षा गर्न चौकीदारका रूपमा लामा गुरु राखिएका हुन्छन् । सोही लामागुरुले सबै मानिसलाई बोलाएर अन्न रोप्ने समय र अन्नबाली पाक्ने समयमा उँधौली र उँभौलीका रूपमा साङदुङ गर्ने चलन छ । असिना, पानी तथा हावाहुरी रोक्न मन्त्रोचरण गरेर पूजापाठ गरिन्छ । यो नै साङदुङ हो ।