मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २७ सोमबार ०८:०५:००
Read Time : > 2 मिनेट
अर्थ

दक्षिण एसियामा वृद्धि सुस्तियो पुनर्बहाली अनिश्चित : विश्व बैंक

आर्थिक वृद्धि साढे ६ प्रतिशतमा सीमित हुने, सरकारले अनुमान गरेभन्दा दुई प्रतिशत न्यून , एडिबीको ६.३ प्रतिशत हुने अनुमान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २७ सोमबार ०८:०५:००

विश्वव्यापी आर्थिक मन्दीको प्रवृतिमा लय मिलाउँदै दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिमा पनि सुस्तता आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले आईतबार सार्वजनिक गरेको दक्षिण एसिया (सार्क मुलुक) को आर्थिक वृद्धिसम्बन्धी प्रतिवेदनमा सन् २०१९ को आर्थिक वृद्धि ५ दशमलव ९ प्रतिशतमा सीमित रहने आकलन गरेको हो । यो प्रक्षेपण यसै वर्ष अप्रिलको आंकलन भन्दा १ दशमलव १ प्रतिशत बिन्दुले न्यून हो ।

अल्पकालीन पुनर्वहाली अनिश्चित बनेकाले वृद्धि घटेको विश्व बैंकको अर्धवार्षिक क्षेत्रीय आर्थिक अद्यावधिक प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले यस वर्ष (सन् २०१९) नेपालको अर्थतन्त्र ७ दशमलव १ प्रतिशतमा सीमित हुने आँकलन गरेको छ । यो वृद्धि सरकारले अनुमान गरेभन्दा डेढ प्रतिशतले न्यून हो । सरकारले चालू आर्थिक वर्ष साढे आठ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ । विश्व बैंकले आगामी वर्ष सन् २०२० र २१ मा भने साढे ६ प्रतिशतमा सीमित रहने प्रक्षेपणसमेत गरेको छ । 

यी वृद्धिमा नीजि क्षेत्रको लगानी र उपभोगको टेवा रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । बढ्दो पर्यटक आगमन र उच्च सार्वजनिक खर्चका कारण बढ्ने निर्माणजन्य गतिविधि र  मजबुत सेवा क्षेत्रले सो वृद्धिमा योगदान दिने विश्व बैंकको दाबी छ । दुई साताअघि एसियाली विकास बैंकले सन् २०२० मा ६ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकको प्रतिवेदनमा बजेट खर्च उल्लेखनीय रूपले घटेकाले  सन् २०१९ मा वित्तीय घाटा घट्ने, तर बाह्य घाटा गत वर्षकै स्तरमा रहने उल्लेख छ । मध्यकालीन सरकारी उपभोग एवं लगानीले वृद्धिमा भरथेग गर्ने जनाइएको छ । प्रादेशिक क्षमता, आर्थिक सुधारका योजनाको कार्यान्वयनमा ढिलाइ एवं प्राकृतिक प्रकोपका जोखिम चुनौतीका रूपमा रहनेछन् । विश्व बैंकको दक्षिण एसियाको अर्थतन्त्र केन्द्रित ताजा प्रतिवेदनले विगतमा उच्च आर्थिक वृद्धिलाई पृष्ठपोषण गरेको मजबुत घरेलु माग कमजोर बनेकाले यस क्षेत्रको वृद्धि सुस्तिएको उल्लेख गरेको छ ।

दक्षिण एसियाको आयात नराम्रोसँग घटेको छ भने भारतमा घरेलु माग खस्किएको छ । गत वर्षको यही अवधिमा ७ दशमलव ३ रहेको भारतको नीजी क्षेत्रको उपभोग अहिले ३ दशमलव १ प्रतिशतले मात्रै बढेको छ । त्यसैगरी अघिल्लो वर्ष १० प्रतिशतभन्दा माथि रहेको त्यहाँको २०१९ को दास्रो त्रैमासमा औद्योगिक उत्पादन वृद्धि १ प्रतिशतभन्दा कमले मात्रै वृद्धि भएको देखिन्छ । ‘औद्योगिक उत्पाादन र आयातमा कमीका साथै वित्तीय बजारमा विद्यमान तनावले दक्षिण एसियामा तीव्र आर्थिक मन्दी उजागर भएको छ,’ विश्व बैंकका दक्षिण एसिया अध्यक्ष हार्टविग स्काफरले भने, ‘यस क्षेत्रको आर्थिक परिदृष्यमा विश्वव्यापी एवं घरेलु अनिश्चयको बादल मडारिन थालेकाले निजी क्षेत्रको लगानी र उपभोग बढाउन दक्षिण एसियाका देशले वृद्धि प्रेरक आर्थिक नीति पछ्याउनुपर्नेछ ।’ 

प्रतिवेदनले दक्षिण एसियमा चालू आर्थिक मन्दिले सन् २००८ कै वित्तीय संकटको झल्को दिने उल्लेख गरेको छ । लगानी र उपभोगमा वृद्धि भयो भने सन् २०२० मा दक्षिण एसियाको आर्थिक वृद्धि ६ दशमलव ३ प्रतिशत र अर्काे वर्ष केही बढेर ६ दशमलव ७ प्रतिशतसम्म पुग्न सक्ने आँकलन गरेको छ ।

यस वर्ष ८  दशमलव १ प्रतिशत रहेको बंगलादेशको वृद्धि लगभग १ प्रतिशतले घटेर सन् २०२० मा ७ दशमलव २ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । त्यसैगरी, यस वर्ष ६ प्रतिशत रहेको भारतको आर्थिक वृद्धिमा भने केही सुधार आई ६ दशमलव ९ प्रतिशत पुग्ने र सन् २०२१ मा त्यो बढेर ७ दशमलव २ प्रतिशत हुने पुर्वानुमान गरेको छ । सन् २०२० बाट भारतमा आर्थिक मन्दी छाउने व्यापक पुर्वानुमानका बीच विश्व बैंकको प्रतिवेदनले भने वृद्धि झन्डै १ प्रतिशतले बढ्ने देखाएको छ । सन् २०२० मा सार्क राष्ट्रमध्ये नेपालको शून्य दशमल ७ तथा पाकिस्तान र बंगलादेशको वृद्धि भने ०.९ प्रतिशतले घट्ने देखाएको छ ।