मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २७ सोमबार ०६:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सम्पदा पुनर्निर्माणको पैसा खर्च हुनै सकेन

चार वर्षमा चार अर्ब विनियोजन, साढे दुई अर्ब मात्रै खर्च

Read Time : > 1 मिनेट
२०७६ असोज २७ सोमबार ०६:३७:००

भूकम्पमा भत्किएका सम्पदा पुनर्निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष आधा पनि खर्च हुन सकेको छैन । पुनर्निर्माणको चार वर्षको तथ्यांक हेर्दा चार अर्ब १२ करोड बजेट सम्पदा पुनर्निर्माणका लागि छुट्याएकोमा दुई अर्ब ५४ करोड मात्र रकम खर्च भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे सम्पदा क्षेत्रको पुनर्निर्माणले पछिल्लो समय मात्रै गति लिन थालेकाले कम खर्च भएको देखिएको बताउँछन् । ‘सम्पदा पुनर्निर्माण अन्य क्षेत्रको तुलनामा ढिला सुरु भयो । त्यहीकारण खर्च पनि कम देखिएको हो । तर, अहिले यो क्षेत्रको पुनर्निर्माणले पनि गति लिन थालिसकेको छ । असन्तोष नै हुनुपर्ने अवस्था छैन,’ उनले भने । भत्किएका आठ सय ९१ सम्पदामध्ये तीन सय ८१ को पुनर्निर्माण भइसकेको छ । 

कुन वर्ष कति खर्च
पुनर्निर्माणका लागि आर्थिक वर्ष ०७२/७३ को बजेट ३६ करोड ५२ लाख ५० हजार विनियोजन भएको थियो । सो आवमा ६ करोड ४४ लाख ९८ हजार खर्च भएको थियो । आव ०७३/७४ मा ५४ करोड ४४ लाख ६२ हजार बजेट सम्पदा क्षेत्रलाई छुट्याइएको थियो । तर, ४८ करोड ७१ लाख ७१ हजार मात्रै खर्च भएको थियो । त्यस्तै, आव ०७४/७५ मा २ अर्ब ११ करोड २१ लाख ८१ हजार बजेट विनियोजन भएकोमा ९१ करोड ५२ लाख ७३ हजार मात्र खर्च भयो ।

आव ०७५/७६ मा १ अर्ब ९ करोड ९० लाख ४४ हजार बजेट छुट्याएकोमा एक अर्ब सात करोड ६१ लाख ६६ हजार खर्च भयो । पुनर्निर्माणको चार वर्षलाई हेर्दा चार अर्ब १२ करोड बजेट छुट्याएकोमा दुई अर्ब ५४ करोड मात्र रकम खर्च भएको छ । 

आव ०७६/७७ मा भूकम्पपछि सम्पदा पुनर्निर्माणमा एक अर्ब २६ करोड छुट्याइएको छ । सम्पदा पुनर्निर्माणकै लागि चालू आवका लागि भारत सरकारले १ अर्ब ८३ करोड अनुदान दिएको छ भने भारतीय एक्जिम बैंकले १ अर्ब ९१ करोड ऋण सहयोग गरेको छ ।

जापान सरकारले पनि १३ करोड सहयोग गरेको छ । जसमध्ये नेपाल सरकारले चालू आर्थिक वर्षमा एक सय ५३, भारत सरकारको नगद अनुदानबाट २९, भारतीय एक्जिम बैंक ऋण सहयोगबाट दुई सय पाँच, जापान सरकारबाट आएको सहयोगबाट दुई सम्पदा निर्माण हुने भएको छ ।