मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका म्याग्दी
२०७६ असोज २३ बिहीबार ०८:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

असिनाले धानबालीमा ७५ लाख बराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका म्याग्दी
२०७६ असोज २३ बिहीबार ०८:२५:००

म्याग्दीको बेनी नगरपालिका - २ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण १५ हजार मुरी धान उत्पादन हुने खेतमा क्षति पुगेको छ । 

असिनाका कारण भित्र्याउने समय भएको धानबालीमा ७५ लाख बराबरको क्षति पुगेको बेनी नगरपालिका¬२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादसैंको दिन मङ्गलबार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो । असिनाका कारण स्थानीयवासी भद्रबहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान बाली पूर्णरुपमा क्षति पुगेको छ । 

त्यसैगरी डम्मरबहादुर पोख्रेलको २५, लीला जौसीको २५, चन्द्रकान्त शर्माको २५ मुरीलगायत सयौँ किसानको खेतमा लगाएको धानबालीमा क्षति पुगेको हो । ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका तीन सय घरपरिवारमध्ये एक सय ५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने एक सय ५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा¬–२ का वडा सदस्य डम्मरबहादुर पोख्रेलले बताए ।  

असिना पीडित भद्रबहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकी रहेको छ ।

बेनपा–२ का वडाअध्यक्ष हिराबहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति भएको र यसबाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए । वडाध्यक्ष थापाका अनुसार विपद्कालीन बैठक बसेर क्षतिको यथार्थ विवरण सङ्कलन कार्य भइरहेको र एक–दुई दिनभित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिनेछ । असिनाले धान खेती सखाप पारेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् । रासस