दुई टोलवासीबीच झडप हुँदा १६ जना घाइते

२०७६ असोज २२ बुधबार १९:१५:००

सिरहा नगरपालिका १२ सारस्वरमा दुई टोलवासीबीच झडप हुँदा १६ जना घाइते भएका छन् । दुई टोलवासी बीच धार्मिक विषयमा झडप हुँदा धारिलो हतियार प्रहार हुँदा चार महिलासहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।  

नवटा टोल र मेनटोलका स्थानीयबीच भएको झडपमा र अधिकांशको शरिरमा धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक उमा शंकर प्रसाद यादवले बताए ।
घाइते मध्ये ९ जनालाई थप उपचारको लागि विराटनगर पठाइएको छ भने समान्य घाइते ७ जनाको जिल्ला अस्पताल सिरहामा उपचार गरिएको प्रहरी निरीक्षक यादवले बताए । 

झडप हुँदा दुवैपक्षले घरासयी हतियार भाला, वरसी जस्ता धारिलो हतियार प्रहार गरेको स्थानीय नुर आलमले बताए । विवादलाई साम्य बनाउन प्रहरीले दुवै टोलका स्स्थानीयलाई नियन्त्रण लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

झडपको मुख्य कारण

स्थानीयका अनुसार मैनटोल र नवटा टोलवीच विगत २÷३ वर्षदेखि विवाद वढ्दै गएको छ । दुवै टोलका स्थानीय युवाहरुले धार्मिक दाहाको विषय लिएर विवाद हुँदै आएको थियो । 

आफ्नो टोलका युवाहरुलाई मैनटोलका युवाहरुले धार्मिक दाहा हेर्न गएको समयमा गाली गलौज गरेको नवटा टोलका युवाहरुले लगाएका छन् । यता मैनटोल स्थानीयले भने नवटा टोलका युवाहरु लागुऔषध सेवन गरेर धार्मिक दाहामा होहल्ला गर्न खोज्दा विवाद भएको बताएका छन् ।

सारस्वरमा ५/६ वर्ष पहिले हिन्दु र मुस्लिम समुदायवीच ठूलो विवाद भएको थियो । साउने सोमबारको दिन हिन्दु महिलालाई मुस्लिम समुदायका युवाहरुले अभद्र व्यवहार गरेको भन्दै विवाद भएको थियो । उक्त विवादले ठूलो रुप लिएपछि राजनीतिक दल, नागरिक अगुवा र प्रहरीले झगडा नियन्त्रणमा लिन सफल भएको थियो ।

सम्बन्धित समाचार