दसैं मनाउन छोडेर लमजुङका अलैची कृषकहरु यतिबेला अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त छन् । सहरबजार झरेका युवाहरु यतिबेला अलैंची टिप्न गाउँ फर्केका छन् । गाउँका बृद्धबृद्धा, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउने कार्यमा लागेका छन् । असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरुले तिहार अगाडिनै सबै सुकाएर बिक्रीको लागि तयारी अवस्थामा पुराउने योजना बनाएका छन् ।
‘हाम्रो लागि दसैं नै अलैंची हो’ कृषक एवं अलैंची ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले भने, ‘अलैंचीले गर्दा दसैं पनि मानीएन । यसपटकको दसैं पनि अलैंची बगान र भट्टीमा बित्यो ।’ अलैंची पाकिसकेकाले सबै किसान अलैंची बारी र भट्टीमा रहेको उनले बताए । पाकिसकेको अलैंची समयमा टिपिएन भने ढुसी बढ्ने उनको भनाइ छ । जसको कारण गुणस्तरमा कमजोर हुन पुग्छ । अलैंची टिप्नु परेकाले दसैंका लागि जमरा पनि नराखिएको र दसैंको टीकाको दिन पनि अलैंची बगानमै ब्यस्त भएको मस्र्याङ्दी गाउँपालिका ७ छिनखोलाका अलैँची किसान आइतराम तामाङले भने ।
नेपाल अलैँची ब्यवसायी महासंघका गण्डकी प्रदेशका अध्यक्ष एवंम् अलैंची किसान अजय तामाङका अनुसार छिनखोलाका स्थानीयले मात्रै २५ हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरेका छन् । जिल्लामा १२५० हेक्टर क्षेत्रफल जग्गामा अलैँचीखेती गरिँदै आएकोमा हाल ७ सय हेक्टर क्षेत्रफलमा उत्पादन भएको छ । गतवर्ष ७२१ क्वीन्टल अलैंँची उत्पादन भएको थियो भने यसवर्ष ७ सय ५० क्वीन्टल अलैंची उत्पादन भएको छ । यो वर्ष थप १०६ हेक्टर क्षेत्रफलमा अलैंचीखेती विस्तार गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अलैंची जोन कार्यालयका प्रमुख ईश्वरी प्रसाद न्यौपानेका अनुसार जिल्लाका आठ स्थानीय तहमा अलैँचीखेती गरिएको छ । करीब आठ सयदेखि एक हजार सात सय मिटर उचाइमा हुने अलैँची गर्मी र जाडोमा हुने दुई थरीका हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) कार्यालयका प्रमुख न्यौपानेका अनुसार भुलभुले, लुदी, शेरा, बाँझाखेत, बिचौर, दूधपोखरी, गौंडा, ईलमपोखरी, बन्सार, खुदी, सिन्दुरे, पसगाउँ, भोजे, गिलुङ, बाग्लुङपानी, राइनास मोहारियाकोट, ढोडेनी, फलेनी, नाल्मा, कोल्की, हिलेटक्सार, चिति, श्रीमञ्ज्याङ, ताघ्रिङ, बाहुनडाँडा, घेर्मु, घनपोखरा, सिम्पानी, उत्तरकन्या, भुजुङ लगायतका गाउँमा व्यवसायिक रुपमा अलैंची खेती गरिएको छ ।