मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडाैं
२०७६ असोज १८ शनिबार ०८:२७:००
Read Time : > 2 मिनेट
अर्थ

निधारमा टीकासँगै हातमा नयाँ नोट

Read Time : > 2 मिनेट
विजयराज खनाल काठमाडाैं
२०७६ असोज १८ शनिबार ०८:२७:००

दसैं भन्नेबित्तिकै निधारमा रातो टीका, शिरमा जमरा अनि दक्षिणाका रूपमा हातमा नयाँ नोट । हो, नयाँ नोटको प्रचलन दसैँको अभिन्न अंगजस्तै बन्ने गरेको छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको बडादसैँमा नयाँ नोट वितरण गर्ने गर्छ । यसवेला नयाँ नोट मात्र होइन, राष्ट्र बैंकले पुराना खुद्रा नोटसमेत बजारमा पठाउने गर्छ । 

यसपटक राष्ट्र बैंकले दसैँमा करिब १३ अर्ब रुपैयाँबराबरका नयाँ नोट वितरण गरेको छ । बालुवाटारस्थित मुद्रा व्यवस्थापन विभागलगायत उपत्यकाबाहिरका विभागहरूमा समेत नोट सटही गरिएको छ । त्यस्तै, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका विभिन्न स्थानका कार्यालयहरूबाट समेत सटही सुविधा दिइएको छ । 

नयाँ नोट साट्न र दसैँ खर्च गर्न ग्राहकहरूले एउटा बैंकबाट सरदर २० देखि २५ करोडसम्म निकाल्ने गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको अनुभव छ । ‘पहिले–पहिले यो अवधिमा ठूला बैंकहरूबाट ५० करोडसम्म बाहिरिने गरेको थियो,’ उनी भन्छन्, ‘तर, पछिल्लो समय भुक्तानीका लागि मोबाइल बैंकिङ, एटिएम कार्डहरूको प्रयोग बढेका कारण पैसा बाहिरिनेक्रम आधाले घटेको छ ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले ८३ लाख ४७ हजार खातावालाले मोबाइल बैंकिङ, ९ लाख १७ हजारले इन्टरनेट बैंकिङ र ६७ लाखले एटिएम डेबिट कार्ड लिएका छन् । कतिपय बैंकले एटिएमबाटै भुक्तानी करोबार गर्दा निश्चित प्रतिशत ग्राहकको खातामै फिर्ता आउने योजनासमेत ल्याएका छन् । 

दसैँमा बैंकिङ प्रणालीबाट बाहिरिने रकम दसैँ सकिएको लगभग दुई साताभित्रै प्रणालीमा फर्किने गरेको छ । यस समयमा बजारमा चलनचल्तीमा रहने मुद्रा पनि बढ्ने गर्छ । यस अवधिमा बैंकिङ प्रणालीमा थप ४३ अर्ब रुपैयाँ चलनचल्तीमा आएको राष्ट्र बैंकको गत वर्षको तथ्यांकले देखाएको छ ।

यसपटक राष्ट्र बैंकले दसैँमा करिब १३ अर्ब रुपैयाँबराबरका नयाँ नोट वितरण गरेको छ । यस अवधिमा एउटै बैंकबाट २०–२५ करोड रुपैयाँ बाँडिने बैंकरहरूले बताएका छन् ।

यस अवधिमा ५ खर्ब ५ अर्ब रुपैयाँ चलनचल्तीमा थियो । जबकि सोही वर्षको मंसिरमा चलनचल्तीमा रहेको मुद्रा घटेर ४ खर्ब १८ अर्ब रुपैयाँमा सीमित भएको थियो । विगत चार वर्षमा, असोज र कात्तिकमा समेत वाणिज्य बैंकहरूको निक्षेप संकलनमा वृद्धि हुने गरेको देखिएको छ । आव ०७३/७४ कात्तिकमा मात्रै निक्षेप संकलनको वृद्धि साँघुरिएको थियो । सो वर्ष ४ अर्बले मात्रै निक्षेप बढेको भए पनि अन्य वर्षहरूमा यो अवधिमा १९ देखि २२ अर्बसम्म निक्षेप बढेको देखिन्छ । 

घट्यो दसैँलक्षित योजना 
पहिले–पहिलेजस्तो बैंकहरूले दसैँलक्षित गरेर कर्जाका योजनाहरू ल्याउनेक्रम भने घट्को छ । बैंकहरूले पहिले सवारी कर्जामा विशेष योजनाहरू ल्याउने गर्थे । तर, केही वर्षयता हरेक वर्ष भदौमा सवारीसाधनको मेला नाडा अटो सो लाग्ने गरेकाले सोही समयमै बैंकहरूले सवारी कर्जासम्बन्धी योजना ल्याउन थालेका छन् । यिनै योजनाले दसैँसम्म निरन्तरता पाउने गरेका छन् । एकाध बैंकले दसैँका अवसरमा आवास कर्जाका योजना पनि ल्याउने गरेका थिए । अहिले भने यस्तो योजना पनि सार्वजनिक गर्न छाडेका छन् ।

पछिल्लो समय बैंकहरूको शाखामा विस्तार भएको र यससँगै एटिएमको संख्यामा वृद्धि भएकाले पनि दसैँमा बैंकको काउन्टर खोल्न पहिलेभन्दा कम दबाब हुने गर्छ । तैपनि, दसैँमा टीकाको दिनबाहेक अन्य सबै दिन मुख्य सहरका बैंकहरू निश्चित घन्टाका लागि खुल्ने गरेका छन् । 

कसरी गर्ने नोटको हिफाजत ? 

नोटलाई सकभर एकभन्दा बढी ठाउँमा पट्याउने गर्नुहुँदैन । नोटलाई कच्याककुचुक पारेर गोजीमा खाँद्ने, थैलीमा राख्ने गर्दा नोट थोत्रा हुन्छन् । त्यसैले नोट सग्लै राख्न मिल्ने पर्स, वालेटहरूको प्रयोग गर्नुपर्छ । नोटमा केरमेर गर्ने, कच्याककुचुक पार्ने, स्टिच लगाउनेलगायतका काम गरे नोट बिग्रिन्छ । नोट राख्दा–राख्दा पानी वा पसिनाले नभिज्ने गरी राख्नुपर्छ । विशेषगरी पूजा गर्दा, दानदक्षिणा गर्दा नोट भिज्ने गर्छन् भने नोटमा अबिर–टीकाले पूजा गरेर दिने गरिन्छ । त्यसो गर्दा नोटको आयु छोटिन्छ । पूजाआजाका क्रममा पानी नै चढाउनुपर्ने अवस्था भएमा कागजको नोटको साटो सिक्काको प्रयोग गर्नु उपयुक्त हुन्छ ।