नारायणगढ–बुटवल सडक विस्तार गर्दा ४० हजार रूख काटिने

२०७६ असोज १७ शुक्रबार ०८:५६:००

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा ४० हजार रूख काटिने भएको छ । नवलपुरको गैँडाकोटदेखि बुटवलसम्म सडकको दुवैतर्फको सडक क्षेत्रभित्र पर्ने करिब ४० हजार रूख काटिने नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिएका हुन् ।

सडक विस्तारको पहिलो चरणमा रूख काट्नुपर्ने भएकाले वन तथा वातावरण मन्त्रालयबाट स्विकृति आएलगत्तै काट्न सुरु गरिने अधिकारीले बताए । रूख काट्न अनुमतिका लागि कागजपत्र वन तथा  वातावरण मन्त्रालयमा पुगिसकेको उनको भनाइ छ ।

योजना प्रमुख अधिकारीका अनुसार सडक विस्तारको काम पूर्वी खण्डमा नवलपुरको गैँडाकोटस्थित थुम्सी जंगल र कावासोतीको खरकट्टा जंगलबाट सुरु हुनेछ । पश्चिम खण्डको काम दाउन्ने क्षेत्रबाट सुरु हुनेछ । असोजभित्रै सडक विस्तार सुरु हुन सक्ने प्रमुख अधिकारीले जानकारी दिए ।

नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । निर्माण जिम्मा पाएको कम्पनीले आवश्यक उपकरण र सामग्री व्यवस्थापन गरिरहेको प्रमुख अधिकारीको भनाइ छ । चाइना स्टेटले आवश्यक उपकरण अफैँसँग रहेको र थप उपकरण पाकिस्तानबाट ल्याउन लागेको उनले बताए । 

अहिले दुई लेनको नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । २÷२ लेनको बीचमा ‘ग्रिनरीसहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ ।