१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १७ शुक्रबार ०८:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कुछी भोज पारिवारिक मिलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १७ शुक्रबार ०८:२५:००
ओम धौभडेल
संस्कृतिविद्

दसैंको अष्टमीमा नेवार समुदायले खाने विशेष प्रकारको भोजलाई कुछी भोज भनिन्छ । ‘कुल’ भनेको आफ्नो कुलका सगोत्री र ‘छी’ भनेको बसेर खाने हो, कुलका सबैजना मिलेर खाइने भोज भएकाले कुलछी र त्यसबाट अपभ्रंश भएर अहिले कुछी भोज रहन गयो ।

घरको सबैभन्दा ठूलो मान्छे सबैभन्दा माथि वा सुरुमा बसेर त्यसपछि, क्रमबद्ध रूपमा अन्य व्यक्तिहरू सुकुलमा बस्ने गरिन्छ । घरको कान्छो मान्छे सबैभन्दा अन्तिममा बस्ने चलन छ । यो भोज अरूले देख्ने गरी खानुहुँदैन भन्ने प्रचलन पनि छ । 

सामाजिक पक्ष
कुछी भोजले परिवारका सदस्यको मिलनको संकेत गर्छ । पहिले टाढा रहेकाहरू अन्य भोज वा अवसरमा नआए पनि देवालीको भोज र कुछी भोजमा भने अनिवार्य नै उपस्थिति हुने गर्थे ।

सगोत्रीको भोज भएको कारण पनि यस भोजमा परिवारका सदस्य जहाँ, जता भए पनि अनिवार्य रूपमा आउनैपर्ने मान्यता छ । यदि,परिवारको कोही सदस्य नभएमा उनीहरूको भाग छुट्याएर राखिदिने गरिन्छ । 

कुछी भोजले परिवारका सदस्यको मिलनको संकेत गर्छ । पहिले टाढा रहेकाहरू अन्य भोज वा अवसरमा नआए पनि देवालीको भोज र कुछी भोजमा भने अनिवार्य नै उपस्थिति हुने गर्थे । 

भ्रम 
अप्रभंश भएर कुलछी भोज कुछी भोज हुन पुग्यो । नेपाल भाषामा कुछीको अर्थ दुई माना हो । त्यसैले दुई माना चिउरा राखेर खाने भोज भन्ने भ्रममा हामी प-यौँ । यही बुझाइका कारण हाल नेवार समुदायले कुलछी भोजलाई कुछी भोज मानेर दुई माना चिउरा खाने गर्छन्, जुन गलत हो । तर, यो चलनले जरो गाडेको पुस्तौँ–पुस्ता भइसक्यो, त्यसैले आज यो पनि संस्कार बन्यो । 

केराको पात महत्वपूर्ण 
कुछी भोजमा सबैभन्दा महत्वपूर्ण सामान केराको पात हो । सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ । त्यसपछि सिंगो उसिनेको अन्डा, भटमास, साना सिद्रा, अचार, गेडागुडी आदि समयबजीका परिकार राखिन्छ । अनि, तोरीको साग, सिसाफुसा (सलाद), मासुका तीनथरी परिकार : सानो झोल परिकारको मासु, भुटन र टकोला (नेपाल भाषामा टकोको अर्थ ठूलो चोक्टा र लाको अर्थ मासु हो) राख्ने प्रचलन छ । त्यस्तै, समयअनुसार पाइने तरकारी छुट्दैनन् । यति व्यञ्जन राखेपछि अन्त्यमा, दहीले भोजलाई सकाउनुपर्ने हुन्छ । 

नेवार समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने गर्छन् । कतिपय नेवार समुदायले दसैंमा मात्र नभई देवालीमा पनि कुछी भोज खान्छन् । यसरी वर्षमा दुईपटकसम्म पनि कुछी भोज खानेहरू पनि छन् ।

देवाली र कुछी भोज दुवै सगोत्रीसँगै बसेर खाने विशिष्ट भोज हो । फरक यति रह्यो कि : देवाली भनेको घर तथा नगरभन्दाबाहिर स्थापित आफ्ना इष्टदेवतालाई पुजेर खाइने भोज हो । कुछी भोज घरभित्रको स्थापित इष्ट देवतालाई पुजेर खाने भोज हो ।