यतिवेला देश/विदेशमा रहेकाहरू दसैँ मनाउन धमाधम घर फर्किरहेका छन् । काठमाडौंबाट करिब आठ किलोमिटर टाढा रहेको खोकनाका बासिन्दा भने सिकाली जात्राको रौनकमा छन् । खोकनामा महर्जन र डंगोलहरूको मुख्य बसोवास छ ।
ललितपुर सानो खोकनाका सूर्यमान महर्जन (५५ वर्ष)को निधारमा अहिलेसम्म दसैँको रातो टीका परेको छैन । दसैँकै समयमा पर्ने सिकाली जात्रामा उनी रमाउँछन् । भन्छन्, ‘एकै समयमा परेर होला, हामी दसैँ मनाउँदैनौँ ।’ करिब दुई सय वर्षको परम्परा हो, सिकाली जात्रा । घटस्थापनापछिको तृतीयामा सिकाली मन्दिरमा विशेष पूजापछि जात्रा सुरु हुन्छ ।
स्थानीय बुद्धिमान महर्जनका अनुसार सोही दिनदेखि घरैपिच्छे पूजा गरिन्छ । गुठीबाट तोकिएका आठजना कुमार केटा चोखोनितो गरी व्रत बस्छन् । खोकनामा तीनवटा गुठी छन्– तः, सनाः र जम्बु । ती गुठीका थकालीले मन्दिरमा पूजा सामग्री पठाउँछन् । हरेक गुठीले अजिमालाई चोटपटक नलागेका एक–एकवटा राँगाको बली दिन्छन् ।
आश्विन शुक्ल चतुर्थीलाई ‘छव्यला भू’ अर्थात् छोयलाको भोज भनिन्छ । यस दिन बली दिइएका राँगाको मासुबाट विशेष प्रकारको छोयला बनाएर खाने चलन छ । पञ्चमीको दिन मूल जात्रा हुन्छ । त्यस दिन ठूलो खोकनाबाट खटमा राखेर रुद्रायणीको मूर्ति ल्याइन्छ र सिकाली मन्दिरमा प्रतिस्थापन गरिन्छ । यो दिन स्थानीयवासीले खाना खाँदैनन् । रुद्रायणीको मूर्तिलाई मन्दिरमा पु-याउनुअघि घरैपिच्छे पूजा गरिन्छ ।
षष्ठीको दिन सिकाली मन्दिर परिसरमा जात्रा हुन्छ । त्यसक्रममा १४ जनाले मुकुट लगाएर देवताको भेष प्रदर्शन गर्छन् । यस्तै, ४६ जनाले विभिन्न देवताको भेषमा नाच देखाउँछन् । त्यसपछि रुद्रायणीको मूर्तिलाई टोलटोलमा घुमाइन्छ ।
सोही दिन घरघरमा पाहुनालाई भोज दिइन्छ । सप्तमीको दिन रुद्रायणीको मूर्ति खोकनाको क्वालेछमा लगिन्छ । त्यहाँ पनि दिनभर जात्रा र नाच देखाइन्छ । अष्टमीको दिन रुद्रायणीको मूर्ति ठूलो खोकना पु-याएर पुनस्र्थापना गरिन्छ र देवी नाच प्रदर्शन गरिन्छ । घरघरमा पूजा गर्दै नवमीमा जात्रा समापन हुन्छ । विजया दशमीमा अन्य हिन्दू धर्मावलम्बी टीका र जमरामा रमाउँदै गर्दा खोकनावासी भने जात्रा सकेर आराम गरिरहेका हुन्छन् ।