नगदरहित दसैँ : बचतसँगै बोनस पनि 

२०७६ असोज १७ शुक्रबार ०७:५५:००

दसैँमा कति र कसरी खर्च गर्ने योजना बनाउँदै हुनुहुन्छ ? पक्कै योजना त बनाउनुभएकै होला । दसैँ खर्चको योजनामा छुटाउन नहुने कुरा हो, ‘दसैँलाई सकेसम्म क्यासलेस बनाउने ।’ नगदमा हुने कारोबारको साटो कार्ड (डेबिट/क्रेडिट) वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा तपाईंको समयको बचत मात्रै हुँदैन, थप बोनस पनि प्राप्त गर्नुहुनेछ । 

कार्ड वा विद्युतीय माध्यमबाट हुने भुक्तानीमा सरकारले कर छुट, बैंक तथा वित्तीय संस्थाले नगद फिर्ता र कतिपय विक्रेताले नगद छुटका घोषणा गरिरहेका छन् । अझ दसैँ, तिहार तथा छठलाई समेत लक्षित गर्दै यस्ता छुट तथा सुविधाका घोषणा बढिरहेका छन् । 

सरकारले कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)मा १० प्रतिशत रकम छुट दिने व्यवस्था गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले कार्डबाट हुने भुक्तानीमा १० प्रतिशतसम्म नगद फिर्ता (क्यास ब्याक) योजना पनि ल्याएका छन् । भुक्तानी सेवाप्रदायक आइएमई–पे, इसेवा, प्रभु–पे, सेल–पेलगायत थुप्रै कम्पनीले पनि आफ्ना प्लेटफर्ममार्फत हुने भुक्तानीमा विभिन्न किसिमका बोनस तथा छुट उपलब्ध गराइरहेका छन् । त्यस्तै, अनलाइन पसलले पनि ठूला चाडपर्वका अवसरमा छुट तथा उपहारको अफर ल्याइरहेका छन् । सर्वसाधारणले वस्तु तथा सेवा खरिदको भुक्तानी बोर्ड वा विद्युतीय माध्यमबाट गर्दा समयको बचत हुनुका साथै थप बोनस पनि पाउने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

कार्डबाट भुक्तानी गर्दा कर छुट
सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्दै नगद कारोबारलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा पनि कार्ड वा विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई बढवा दिने उल्लेख छ । चालू आर्थिक वर्षको बजेटले वस्तु तथा सेवाको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बीजकमा उल्लिखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा सोझै जम्मा हुने व्यवस्था गर्ने उल्लेख छ । सरकारको यस्तो घोषणाअनुसारको व्यवस्था कार्यान्वयन गरिने चालू आवको मौद्रिक नीतिमा उल्लेख छ । 

अनलाइन सपिङमा अफर
नुनदेखि सुनसम्म घरमै बसेर किनमेल गर्न सकिने अनलाइन पसलले अहिले ठूला चाडपर्वका अवसरमा विभिन्न अफर ल्याएका छन् । इसेवापसल, दराज, फुडमाण्डू, भाटभटेनी अनलाइन, आइस्टोर, सपमान्डु, नेपवे, मेरो सपिङ, पेटसप, नेपाल अनलाइन मार्ट, स्टायल ९७ डटकम, मेरोसपिङडटकम, इजी वाई नेपाल, इसप नेपाललगायत अनलाइनले कारोबार गरिरहेका छन् । यस्तो अनलाइन पसलले दसैँ, तिहार, छठलगायत चाडपर्वलक्षित अफर ल्याइरहेका छन् । दराजले दसैँ धमाका योजना ल्याएको छ, जसबाट विभिन्न छुट तथा सुविधा पाइन्छ । इसेवा पसलले पनि ‘दसैँ आयो सपिङ गरौँला, सबै सामान घरमै मगाउँला’ नारासहित छुट तथा सुविधा योजना ल्याएको छ ।

बस र जहाजको टिकट अनलाइनबाटै
दसैँका लागि घर जाने टिकट काट्न घन्टौँ लाइनमा बस्नै पर्छ भन्ने छैन । जहाजको मात्रै होइन, बसको टिकट पनि अनलाइनबाटै काट्न सकिन्छ । अहिले आन्तरिक हवाई यात्राका टिकट भुक्तानी सेवाप्रदायक आइएमई–पे, इसेवालगायतबाट समेत लिन सकिन्छ । यस्ता मोबाइल वालेटबाट टिकट काट्दा क्यास ब्याक पनि आउने गर्दछ । त्यसो त बससेवा डटकमजस्ता अनलाइन प्लेटफर्ममार्फत पनि घरमै बसेर बसको टिकट काट्न पनि सकिन्छ । बससेवा डटकमसँग दैनिक ६ हजार सिट उपलब्ध हुन्छ । राप्ती यातायात प्रालि, पश्चिम नेपाल बस व्यवसायी, मकालु, मेट्रो, जगदम्बा, साझालगायत यातायातमार्फत दाङ, पोखरा, बुटवल विराटनगरलगायत देशमा मुख्य गन्तव्यमा जान बससेवाले टिकट उपलब्ध गराउँछ । आइएमर्ई, प्रभु, इसेवालगायत पेमेन्ट गेटवेबाट र बैंकको इन्टरनेट बैंकिङमार्फत बस सेवाबाट टिकट काट्न सकिन्छ । 

बढ्दै छन् कार्ड प्रयोगकर्ता 
मोबाइल बैंकिङ प्रयोगकर्ता ८३ लाख ४७ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या नौ लाख १७ हजार पुगिसकेको छ । त्यस्तै, ६७ लाखले डेबिट कार्ड प्रयोग गर्छन् भने क्रेडिट कार्ड प्रयोगकर्ता एक लाख २३ हजार र प्रिपेड कार्ड प्रयोगकर्ता ६७ हजार पुगिसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म ६ वटा कम्पनीले भुक्तानी प्रणाली सञ्चालक (पिएसओ)को अनुमति लिएका छन् । त्यस्तै, आठवटा कम्पनीले भुक्तानी सेवाप्रदायक (पिएसपी)को अनुमति लिएका छन् । 

राज्यलाई योगदान
अहिले वार्षिक पाँच खर्ब रुपैयाँबराबरको नोट मुद्रा परिचालन हुने गरेको छ । सामान्यतः एउटा नोट छपाइ गर्दा सरदर दुई रुपैयाँ लागत लाग्छ । एउटा नोटको सरदर आयु दुईदेखि पाँच वर्षसम्म हुन्छ । सय रुपैयाँ र त्यसभन्दा कम मूल्यका नोटको आयु तीन वर्ष र त्यसभन्दा ठूला नोटका आयु पाँच वर्षसम्म हुन्छ । आयु सकिएपछि राष्ट्र बैंकले नोट खिच्छ । आयु नसकिँदै पुराना नोट बजारबाट खिच्ने र नयाँ नोट वितरण गर्ने प्रवृत्तिबाट राष्ट्र बैंकको दायित्व बढिरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् । दसैँमा यसरी वार्षिक रूपमा नयाँ नोट सटही गर्दा राज्यलाई नोक्सान पर्ने उनको भनाइ छ । राष्ट्र बैंकलाई कति नोक्सान हुन्छ भन्ने ठ्याक्कै तथ्यांक छैन । तर, वार्षिक ४०–५० करोड रुपैयाँ नोक्सान हुने गरेको उनको अनुमान छ । ‘त्यसैले नगदमा आधारितभन्दा पनि कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्तालाई लाभ मात्रै होइन राज्यलाई योगदानसमेत मिल्छ,’ उनले भने । 

सम्बन्धित समाचार