मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १७ शुक्रबार ०६:३८:००
Read Time : > 1 मिनेट
सम्पादकीय

चाडबाडको शुभकामना !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १७ शुक्रबार ०६:३८:००

देशभित्र या बाहिर बसोवास गर्ने अधिकांश नेपालीले कुनै न कुनै रूपमा दसैँ मनाउँछन् । सायद अधिकांश नेपालीले मनाउने भएकाले होला, यो पर्व देशकै ठूला पर्वमध्ये एक मानिन्छ । दसैँको अवसरमा विदेश गएका नेपाली स्वदेश फर्किन्छन्, आफन्तहरूसित भेटघाट गर्छन्, रमाइलोसँग दसैँ मनाउँछन् । स्वदेशभित्रै पनि कामको सिलसिलामा विभिन्न स्थानमा पुगेका सबैजसो नेपाली आआफ्नै घर फर्किन्छन् । त्यसैले, दसैँको धार्मिक तथा सांस्कृतिक विशेष महत्व हुँदाहुँदै पनि यसको सामाजिक महत्व अधिक छ । 

दसैँ नजिकिँदै गर्दा नेपाली बजार चलायमान भएको छ । बजारमा अनेकथरी सामग्रीको बिक्री वितरण ह्वात्तै बढेको छ । दसैँको मुखमा हुने व्यापारबाट बजारले मनग्गे नाफा आर्जन पनि गर्दै आएको छ ।

दसैँमा परिवारका बालबालिकादेखि वृद्धवृद्धासम्म सबैजसो सदस्यलाई नयाँ लुगाफाटो खरिद गर्ने, मिठो, मसिनो खाने, टीकाटालो गर्ने, दानदक्षिणा दिने, लिने आदि कारणले पनि यस पर्वको अलग्गै आर्थिक महत्व रहिआएको देखिन्छ । तर, चाडबाडको समयमा विगतमा जस्तै यस वर्ष पनि अनेकौँ विकृति र समस्या देखिए । हरेक वर्ष चाडबाडको मुखमा बजारमा महँगी अचाक्ली बढ्ने गरेको छ ।

यस वर्ष पनि यो समस्या जस्ताको तस्तै रह्यो । तर, सरकार र नियमनकारी निकायले बजारको महँगी नियन्त्रणका लागि कुनै हस्तक्षेपकारी कदम चाल्न सकेनन् । बजारसामु सरकार र सरकारी संयन्त्र निरीह देखिए । 

आफूले भनेको दिन र समयको बसको टिकट सहजै नपाउने मात्र होइन, व्यवसायीले भनेको दिनको टिकट पाउन पनि निकै सास्ती व्यहोर्नु आमनागरिकको नियति नै बनिसकेको छ नेपालमा । दसैँको मुखमा हरेक वर्ष दोहोरिने यो नियति यस वर्ष पनि दोहोरियो ।

दसैँ मनाउन राजधानी काठमाडौं उपत्यकाबाट बाहिरिने सबै यात्रु सुरक्षित तवरले गन्तव्यमा पुग्न सफल होऊन्

सरकार सिन्डिकेट तोडेको घोषणामै मग्न छ । तर, व्यवसायीले आफूखुसी खडा गरेको अदृश्य सिन्डिकेटका कारण यात्रुले टिकट लिन ठूलै सकस व्यहोर्नुप-यो । सरकारले कलंकीदेखि नागढुंगासम्मको सडक मर्मत सुरु गरेको वर्षौं भइसक्यो । उता नौबिसे–नागढुंगा सडकको दुरवस्था पनि कम छैन । देशको राजधानी काठमाडौं उपत्यकाको ‘लाइफ लाइन’ मानिने यो सडक खण्डको दुरवस्था देख्दा लाग्छ, यो देशमा सरकार छैन । 

दसैँ जति सामाजिक, सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा सम्मान्य छ, त्यति नै यसमा भित्रिएको विकृतिले गर्दा बदनाम पनि हुँदै गएको छ । खासगरी दसैँमा सामाजिक रूपमा देखासिकीबाट गरिने फजुल खर्चका कारण समाजका गरिब समुदायमाथि यस पर्वले ठूलो आर्थिक भार बोकाउँदै आएको छ । छिमेकको हुनेखाने परिवारको देखासिकी गरी फजुल खर्च गर्दा हुँदा खाने परिवार ऋणको चर्को मारमा पर्नेसमेत गरेका छन् । त्यसैले, चाडबाड मनाउँदा सबैले आआफ्नो गच्छेअनुसार मनाउनुपर्नेतर्फ सचेत हुनुपर्छ । 

दसैँ मनाउन राजधानी उपत्यकाबाट भन्डै १३ लाख बाहिरिइसकेको र अझै थप १२ लाख बाहिरिने अनुमान गरिँदै गरेको समयमा सबै यात्रु सुरक्षित तवरले गन्तव्यमा पुग्न सफल होऊन् । सानादेखि ठूलासम्म कुनै पनि दुर्घटनाका ननिका खबर सुन्न नपरोस् । अनेकौँ पार्टीगत जालझेल र षड्यन्त्रमा अल्मलिएको नेपाली राजनीतिले गति समातोस् ।

विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राख्ने सुझबुझ राजनीतिक नेतृत्वमा पलाओस् । जहाँ रहे पनि सबै नेपाली स्वस्थ रहून् । दसैँलगत्तै तिहार, नेपाल संवत्, छठजस्ता महत्वपूर्ण चाडबाड पनि आउँदै छन् । दसैँलगायत सम्पूर्ण चाडपर्वको सबैमा शुभकामना !