मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज १७ शुक्रबार ०६:३०:००
Read Time : > 1 मिनेट
प्रदेश

गाडीको गति जाँच्न राडर गन प्रयोग

Read Time : > 1 मिनेट
२०७६ असोज १७ शुक्रबार ०६:३०:००

तीव्र गतिका कारण हुने दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले राजमार्गमा राडार गनको प्रयोग सुरु गरेको छ । गन्तव्य पुग्नक हतारिने सवारीसाधनका कारण दुर्घटना बढेको निष्कर्षसहित ट्राफिक प्रहरी मुख्य राजमार्गमा राडार गन लिएर उभिन थालेका छन् । 

गाडीको गति पत्ता लगाउने त्यस्तो गन काठमाडौं उपत्यकाबाहेक प्रदेश ३ का १० जिल्लामा चितवनमा मात्र छ । बुधबार पृथ्वी राजमार्गको इच्छाकामना ३ चुम्लिङटारमा ट्राफिकले तीव्र गतिमा गाडी गुडे नगुडेको राडर गनमार्फत चेकजाँच गरिएको चितवन ट्राफिक प्रहरी प्रमुख चन्द्रकुमार गिरीले बताए । ‘आधा घन्टामै ८ वटा सवारीलाई कारबाही गरिएको छ,’ प्रहरी निरीक्षक गिरीले भने, ‘राजस्व काट्ने मात्र नभई सचेतसमेत गराएर पठाएका छौँ ।’ जाँचको क्रममा मोटरसाइकल, माइक्रो, बोलेरो र केही बस तथा खाली ट्रक तीव्र गतिमा गुड्ने गरेको पाइएको उनले जानकारी दिए । 

चाडबाडको समयमा सवारीको चाप सडकमा अत्याधिक हुने र यसै समयमा तिव्र गति हुनेहुँदा दुर्घटना दर उच्च हुने गरेको भन्दै उनले मुख्य मार्गमा राडर नभए पनि गति नियन्त्रणका लागि सूचना र स्वयं जनशक्तिसमेत परिचालन गरिएको बताए ।  मानवीय कारणले सबैभन्दा बढी दुर्घटना हुने गरेको तथ्यांक रहेकाले चालकलाई केन्द्रित गरी सचेतनाका कार्यक्रम सञ्चालनसमेत गरिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । ‘२५ देखि ४० उमेरका चालकबाट बढी दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘तीव्र गतिमा सवारी हाँक्ने पनि यही समूहमा पर्छन् ।’ 

राजमार्गमा कुनै पनि निर्माण वा मर्मत कार्य नभएकाले अवरोध नआउने ट्राफिकको भनाइ छ । नारायणगढ लोथर, नारायणगढ मुग्लिन हुँदै मौवाखोलाका मुख्य राजमार्ग र यातायात व्यस्त हुने अन्य सहायक सहरी सडकमा पनि ट्राफिकले निरन्तर जाँच गर्ने प्रनि गिरीले बताए । यसबीच, ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु राख्ने र बढी भाडा लिने गाडीलाई कारबाही गर्न थालेको छ । चितवन ट्राफिक प्रहरी नायब निरीक्षक अर्जुन भुसालले राजमार्गको अवरोध हटाउन क्युआरटी परिचालन गरिएको, यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।