१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज १७ शुक्रबार ०६:२०:००
Read Time : > 3 मिनेट
सेयर बजार

दसैँको प्रभावले कारोबार सुस्त, नेप्से बढ्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज १७ शुक्रबार ०६:२०:००

दसैँअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशत बढेर बन्द भएको छ । नेप्से उकालो लागे पनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । दसैँको प्रभावका कारण यस दिन बजारमा कारोबार कम भएको हो । अधिकांश लगानीकर्ता चाडपर्वको तयारीमा व्यस्त हुन थालेका छन् ।

लगानीकर्ताहरूको ‘फेस्टिभ मुड’ का कारण कारोबार रकममा सुस्तता आएको एक ब्रोकरले बताए । दसैँ नजिकिएसँगै बजारमा सेलिङ प्रेसर कम हुन थालेको छ । बजारमा बिक्रीकर्ता नै कम भएका कारण पनि यस दिन बजार बढेको उनको भनाइ छ । यसका साथै कम्पनीले घोषणा गरेको लाभांश र बुक क्लोजले यस दिन बजार बढ्न टेवा पु¥याएको एक लगानीकर्ताले बताए । 

 बजार सारांश 
नेप्से परिसूचक यस दिन ८ दशमलव ६९ अंक बढेर १ हजार १ सय ४९ दशमलव ४० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव १९ अंक बढेर २ सय ५१ दशमलव ९७ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ५१ अंक बढेर ८५ दशमलव शून्य १ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५७ अंक बढेर ८० दशमलव ७४ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५३ कम्पनीको २ हजार ६ सय ९५ पटकको कारोबारमा १७ करोड ६६ लाख ३३ हजार ५ सय १४ रुपैयाँबराबर ६ लाख ४७ हजार ५ सय ६२ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४५ दशमलव ३० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चापको सन्तुलनमा रहेको संकेत गर्छ । 
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ४ दशमलव ५ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५३ कम्पनीमध्ये १ सय ८ कम्पनीको सेयरमूल्य बढेको छ भने २४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ४५ दशमलव ८२ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ४२ दशमलव १६ बिन्दुमा पहिलो र १ हजार १ सय ३४ दशमलव ९२ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ५३ दशमलव शून्य ६ बिन्दुमा पहिलो र १ हजार १ सय ५६ दशमलव ७२ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 सोल्टी होटेलको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा सोल्टी होटेल लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ९२ पटकको कारोबारमा ३ करोड १३ लाख ९९ हजार रुपैयाँबराबरको १ लाख ५६ हजार ५ सय ४ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, कारोबार संख्याका आधारमा अगाडि रहेको सिद्धार्थ बैंक लिमिटेडको यस दिन १ सय ७९ पटकको कारोबारमा १ करोड ५५ लाख ५९ हजार रुपैयाँबराबरको ४६ हजार ५ सय १५ कित्ता सेयर किनबेच भएको छ ।

बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांशको प्रस्ताव पारित गर्न बैंकले कात्तिक ७ गते साधारणसभा आयोजना गर्ने भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २९ गते बुक क्लोज गर्नेछ । सोही कारण लगानीकर्ता यस बैंकतर्फ आकर्षित भएका हुन् । 

 युनिलिभरको सेयरमूल्यमा सकारात्मक सर्किट
यस दिन कारोबारमा आएको युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन १० प्रतिशत बढेर २० हजार १ सय ८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीले गत आवको मुनाफाबाट प्रतिकित्ता ७ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ७ गते साधारणसभा आयोजना गर्ने भएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २२ गते बुक क्लोज गर्नेछ । सो लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण लगानीकर्ता सोतर्फ आकर्षित भएका हुन् । यस दिन सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४ प्रतिशत घटेको छ भने अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । युनाइटेड फाइनान्सको सेयरमूल्य यस दिन सर्वाधिक ९ दशमलव १३ प्रतिशत घटेको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य यस दिन ४ प्रतिशत घटेको छ । 

 १० समूहको परिसूचक हरियो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये १० समूहको परिसूचक बढेर हरियो भएको छ भने १ समूहको परिसूचक घटेर रातो भएको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव ५२ प्रतिशत बढेको छ । युनिलिभर कम्पनीको सेयरमूल्यमा सर्किट लागेसँगै सो समूहको परिसूचक पनि बढेको हो ।

होटेल समूहको परिसूचक यस दिन १ दशमलव २३ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ९९ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ९७ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ९४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ८४ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव ८२ प्रतिशत बढेको छ । त्यसैगरी, वाणिज्य बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव ५९ प्रतिशत, अन्य समूहको शून्य दशमलव २ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ । यस दिन वित्त समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत घटेको छ ।