मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०७६ असोज १६ बिहीबार ११:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

अझै सुरु भएन बजार अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका संखुवासभा
२०७६ असोज १६ बिहीबार ११:२१:००

दसैँ सुरु भइसक्दासमेत संखुवासभामा यस वर्ष बजार अनुगमन भएको छैन । यस वर्षदेखि सम्बन्धित स्थानीय तहको संयोजकत्वमा बजार अनुगमन गरिने व्यवस्था भए पनि जिल्लाका मुख्य बजारहरूमा अझै अनुगमन भएको छैन । जिल्लाका मुख्य बजारहरू खाँदबारी, चैनपुर र बाह्रबिसे कहीँ पनि बजार अनुगमन हुन सकेको छैन ।

खाँदबारी नगरपालिकाले उपप्रमुख डेगृश्वरी श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समिति भर्खरै मात्र गठन गरिएकाले अनुगमन सुरु गर्न अझै केही दिन लाग्ने बताइएको छ । नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितिका संयोजक श्रेष्ठले केही दिनभित्रै सदस्य तथा सरोकारवाला संस्थालाई बोलाएर बैठक राखी योजनाअनुसार अनुगमन गरिने बताइन् ।

बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिइने भनिए पनि कुनै आधिकारिक जानकारी नआएकाले कुनै कार्ययोजना बन्न नसकेको चैनपुरका मेयर भरतकुमार खत्रीले बताए । आमउपभोक्तालाई खाद्य सुरक्षा प्रदान गर्दै ठगीबाट बचाउन नगरपालिकास्तरमै बजार अनुगमन गर्ने तयारी भइरहेको खत्रीले जानकारी दिए ।

दसैँको किनमेल सकिन लाग्दासमेत अनुगमन नभएपछि उपभोक्ताले भने गुनासो गर्न थालेका छन् । चाडपर्वको बेला बढी सामान बिक्री हुने भएकाले व्यापारीले लामो समयदेखि स्टोरमा थन्क्याएर राखेका तथा म्याद गुज्रिएका सामान बेच्ने सम्भावना रहेको खाँदबारी– १ का नरेश राईले बताए । समय घर्किएपछि अनुगमन गर्नुको कुनै अर्थ नहुने पनि उनले स्पष्ट पारे ।