मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार ०८:०३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मदिरा सेवन अल्पकालीन र दीर्घकालीन असर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार ०८:०३:००
डा. अभिनव दाहाल
काठमाडाैं मोडेल अस्पताल

जुनसुकै मात्रामा मदिरा सेवन गरिए पनि यसले स्वास्थ्यमा हानि नै पु-याउने निष्कर्ष विभिन्न अध्ययनले निकालेका छन् । लामो अवधिसम्म मदिरा सेवन गर्नेमा मानसिक तथा शारीरिक रूपमा नकारात्मक असर देखापर्ने गर्छ ।

शारीरिक क्षति, दिमागले सही तरिकाले काम नगर्ने, शरीर अनियन्त्रित हुने तथा अन्य दीर्घकालिन रोग लाग्ने गर्छन् । कतिपयका हकमा मदिरा सेवन नै मृत्‍युको मुख्य कारणसमेत बन्ने गरेको पाइन्छ । अत्यधिक मदिरा सेवनबाट स्वास्थ्यमा देखिने समस्या यस्ता छन् :

कलेजो रोग
मदिरा सेवनले शरीरका विभिन्न प्रणालीमा असर गरिरहेको हुन्छ । अत्यधिक मात्रामा मदिरा सेवन गर्दा कलेजोमा हानि पुग्छ । यसले फ्याटी लिभरको सम्भावना बढाउँछ । लगातार कलेजोमा बोसोको मात्रा बढ्दै गएपछि सिरोसिस नामक रोग लाग्ने सम्भावना अधिक हुन्छ । सिरोसिस भएमा कलेजोले काम नै गर्न नसक्ने अवस्था समेत निम्तिन सक्छ, जसले मानिसलाई मृत्युको मुखमा धकेल्छ । मदिरा सेवनले हुने सिरोसिस रोगको उपचार कलेजो प्रत्यारोपणबाट मात्रै सम्भव छ । 
प्यांक्रियाटाइटिस 
लामो समयसम्म मदिरा सेवन गर्दा पाचन ग्रन्थीमा समस्या देखिन्छ, जसकारण पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । यसलाई चिकित्सकीय भाषामा अल्कोहोलिक प्यांक्रियाटाइटिस भनिन्छ । पाचन प्रणालीसम्बन्धी बिरामीमध्ये झन्डै ७० प्रतिशतमा अल्कोहल सेवनकै कारण यस्तो समस्या निम्तिन्छ । 
क्यान्सर
मदिरा सेवन विभिन्न क्यान्सरको कारणसमेत बन्ने गरेको छ ।  मुख, पेट, कलेजो, स्तन आदिको क्यान्सर अल्कोहल सेवन गर्ने मानिसमा अत्यधिक हुने गर्छ ।  मदिरा सेवनका साथै धूम्रपान गर्ने मानिसमा अन्यको तुलनामा क्यान्सरको खतरा दोब्बर रहन्छ । 
ग्यास्ट्राइटिस र अल्सर
लगातार मदिरा सेवनले पाचन प्रणाली र पेटसम्बन्धी समस्या सिर्जना गर्छ । पेटमा अम्लपित्त बढेर ग्यास्ट्राइटिस र अल्सर हुन्छ । पाचन प्रणालीमा पर्ने असरका कारण कतिपय अवस्थामा पेटको आन्द्रामा रक्तश्राव हुने सम्भावना उच्च रहन्छ । 

शारीरिक क्षति, दिमागले सही तरिकाले काम नगर्ने, शरीर अनियन्त्रित हुने तथा अन्य दीर्घकालीन रोग लाग्ने गर्छन् । कतिपयका हकमा मदिरा सेवन नै मृत्‍युको मुख्य कारणसमेत बन्ने गरेको पाइन्छ ।

प्रतिरक्षा प्रणालीमा असर
मदिरा सेवन गरिरहने मानिसको रोगप्रतिरोधात्मक क्षमतामा बिस्तारै ह्रास आउन थाल्छ । प्रतिरोधी क्षमता कमजोर भएपछि निमोनिया, क्षयरोग लाग्ने सम्भावना उच्च रहन्छ । यसले रक्तकोष तथा कोषिका नष्ट गर्छ । अत्यधिक मदिरा सेवन सेवन गर्दा सेता रक्तकोष उत्पादनमा बाधा पुग्छ । 
मस्तिष्कमा क्षति
मदिरा सेवन गर्ने मानिसमा आँखाको दृष्टिमा समस्या आउने, सम्झन गाह्रो हुने, ढिला बोल्ने वा प्रतिक्रिया ढिला दिने, बिस्तारै हिँड्नेजस्ता समस्या देखापर्छन् । यी सबै मस्तिष्क क्षतिका लक्षण हुन् । मदिरा सेवनले व्यक्तिको सिर्जनात्मक ज्ञान र दिमागमा हस्तक्षेप गर्ने हुँदा मस्तिष्कका रिसेप्टर नष्ट हुन्छन् र मानिसलाई साधारण समस्या सुल्झाउन पनि गाह्रो पर्छ । यसरी यसले शारीरिक तथा मानसिक समस्या सिर्जना गर्छ । 


मुटुमा समस्या
अत्याधिक मदिरा सेवनले शरीरमा ट्राइग्लिसराइड (रगतमा एकप्रकारको बोसो)को स्तर बढ्न सक्छ । ट्राइग्लिसराइडको उच्च स्तरले खतरनाक स्वास्थ्य अवस्था, जस्तैः हृदयरोग र मधुमेहको विकास हुन सक्छ । मदिरा सेवनबाट मुटुमा देखिने सुरुवाती समस्या भनेको उच्च रक्तचाप तथा अनियमित मुटुको धड्कन हो, जसले मुटुसम्बन्धी रोग तथा मस्तिष्कघातको जोखिम बढाउँछ । 
दुर्घटना र चोटपटक
मदिरा सेवन सेवनले दुर्घटना र चोटपटक निम्त्याउने जोखिम रहन्छ । सवारी दुर्घटना, घरेलु हिंसा, आत्महत्या, बलात्कारलगायत घटनामा मदिरा सेवन प्रमुख कारक बन्ने गरेको छ । तसर्थ, यस्ता समस्याबाट टाढै बस्न मदिरा सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ ।