१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार ०८:३१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी हालिन्छ पिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार ०८:३१:००

गाउँघरमा हरेक दसैँमा पिङ हाल्ने चलन छ  । दशमीको दिनमा टीका लगाएपछि एकपटक पिङ खेल्दा ‘गति’ परिन्छ भन्ने कथन पनि छ । दसैँको समयमा सबै परिवार जम्मा भएपछि पिङ खेल्न जाने परम्परा गाउँघरमा जीवित नै छ । 

पिङ हाल्नका लागि सर्वप्रथम चारवटा बाँस, खरको डोरी, काम्रो र भोरको डोरी चाहिन्छ । वनमा हुने भोरको डोरी भए राम्रो, अन्य डोरी लगाएर पनि बनाउन सकिन्छ । तर, प्लास्टिकको डोरी लगाउँदा चिप्लिन सक्छ । 

तीन–चारवटा लिंगोलाई गोलो खाल्टो (ढेड हातजति) खनेर गाड्नुपर्छ । गाडिसकेका लिंगोलाई दुई–दुईवटा गरी छड्के पारेर अग्लो बनाएर मिलाएर बाँध्नुपर्छ । बाँधिसकेपछि बाँसको टुप्पामा ५–१० रुपैयाँको नोट राखेर बाँध्ने चलन हुन्छ, पिङ खेल्दा कुनै दुर्घटना नहोस् भन्ने उद्देश्यले  ।  त्यसरी बानेको लिंगोलाई कैचीबार भनिन्छ । त्यसपछि काठको बलो ६ हात जति आवश्यक पर्छ ।

बलो अड्याउने ठाउँ अर्थात् कैँचीबारमा सानो मुठो धानको ‘पराल’ राख्नुपर्छ । अनि बलोलाई कैँचीबारमा राखेर राम्रोसँग बाँध्नुपर्छ । अब लठ्ठा ३० हातजति आवश्यक हुन्छ । ‘लठ्ठा’ अर्थात् बाटेको डोरीलाई बलोमा बाँध्नुपर्छ । त्यसपछि बाँधिसकेको डोरीमा तल बस्ने ठाउँमा काम्रो राख्नुपर्छ । काम्रो बनाउनका लागि दुईवटा सानो गोलो बाँस आवश्यक पर्छ । काम्रोलाई लठ्ठामा अट्ने गरी डोरीले मिलाएर बाँध्नुपर्छ । अब खेल्नका लागि पिङ तयार भयो ।