१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज १६ बिहीबार ०८:१७:००
Read Time : > 1 मिनेट
नयाँCity

चियामा कला खोजिरहेका निर्देशक

Read Time : > 1 मिनेट
२०७६ असोज १६ बिहीबार ०८:१७:००

गणेशदेव पाण्डे फिल्म निर्देशक हुन् । फिल्म ‘गाँजाबाजा’मा ‘गा’को माथि चन्द्रबिन्दु राख्दा उनलाई समाज बिगार्न लागेको आरोप लाग्यो । चलचित्र विकास बोर्डले फिल्मलाई दर्ता अनुमति दिएन । दर्ताको चक्करमा अदालतसम्म पुगे, उनी । पछि चन्द्रबिन्दुलाई थोरै माथि सारेर उनले फिल्म रिलिज गरे, जसले व्यावसायिक रूपमा सफलता पाएन ।

गणेशदेव पाण्डे

आर्थिक अवस्था कमजोर भएपछि उनले चिया पसल खोल्ने योजना बनाए । काठमाडौं आलोकनगरस्थित बागमती करिडोरमा गाईगोठ थियो । गाईगोठको फोहोर सफा गरे र बस्ती विकास नै नभएको ठाउँमा नौ महिनाअघि उनले चिया पसल खोले ।

‘ह्याङआउट’को थलो
पाण्डेको पसलमा पुगेका आगन्तुकले घरायसी वातावरण अनुभूति गर्न सक्छन् । र, उनको चिया पसललाई ‘ह्याङआउट’को थलो मान्छन् । उनको पसलमा ४० देखि आठ सय रुपैयाँसम्मको चिया पाइन्छ । त्यसमध्ये सबैभन्दा महँगो चिया हो, ‘ब्लुमिङ’ । चियाको पातलाई पानीमा राखेपछि त्यो फक्रिन्छ र ‘ब्लड प्युरिफाई’ गर्छ । सौखिनहरूको रोजाइमा परेको छ, ‘ब्लुमिङ’ ।

ग्राहकको सबभन्दा बढी माग भएको चिया ‘मेरो खुसी’ हो, जसको मूल्य ६० रुपैयाँ पर्छ । यस्तै, मड्का चियामा सक्खर राखिन्छ । त्यसको पनि ६० रुपैयाँ नै पर्छ । उनको पसलमा पाइने ‘घनश्याम चिया’, ‘इलाम क्लासिकल चिया’, ‘ग्रिन टी’, ‘हर्बल टी’, ‘ब्ल्याक टी’, ‘रोज टी’ लगायत परिकार स्वास्थ्यका लागि राम्रो मानिन्छन् । कलेजो, छाला, रक्तचापलगायत स्वास्थ्य समस्या हटाउन उपयोगी मानिने चियाका परिकार पनि पस्किन्छन्, पाण्डेले । सुकुमेललगायत मसला कुटेको छोक्रा उनले प्रयोग गर्दैनन् । चियामा चिनीको साटो मह र खुदो राखिन्छ । चियापारखीहरूले फरक स्वाद लिन पाउँछन् ।

चियापसले बन्नुका पछाडि सामान्य मानिस बन्ने फिल्म निर्देशक गणेशदेव पाण्डेको सोचले काम गरेको छ । आफूभित्रको ऊर्जालाई नयाँ प्रयोगमार्फत बाहिर निकाल्नु थियो, उनलाई । चिया पसल उनका लागि एक विद्यालय पनि हो ।
 

उनको पसलमा चिया ‘अर्डर’ गर्न टोकन लिनुपर्छ । चिया पाकेपछि सोही आधारमा ग्राहकको टेबलमा पु-याइन्छ । विपिन कार्की, सौगात मल्ल, राजन खतिवडा, कुमार नगरकोटी, सुनील पोखरेललगायत थुप्रै सेलेब्रिटीको ‘ह्याङआउट’ गन्तव्य बनेको छ, पाण्डेको चिया पसल । विद्यार्थी, वकिल, प्रहरी, इन्जिनियर मात्र होइन, उद्योगी/व्यवसायीहरू पनि चिया पिउन पुगिरहन्छन् । नेपाली चिया मात्र प्रयोग गर्छन्, उनले । चियापत्तीको गुणस्तरसँग सचेत छन्, चियामा भैँसीको ताजा दूध राख्छन् ।

सामान्य मानिस बन्ने प्रयास
चिया–पसले बन्नुका पछाडि सामान्य मानिस बन्ने पाण्डेको सोचले काम गरेको छ । आफूभित्रको ऊर्जालाई नयाँ प्रयोगमार्फत बाहिर निकाल्नु थियो, उनलाई । चिया पसल उनका लागि एक विद्यालय हो । प्रयोगविहीन वस्तुहरू बटुलेर उनले पसलको साजसज्जा गरेका छन् । सामान ल्याएको बक्स, पुराना टेबल, पुराना टिभी, साइकल, कित्लीलगायत सामान पसलको साजसज्जामा प्रयोग गरेका छन् ।

मासु काट्न प्रयोग भइरहेको मुढा ल्याएर त्यसमाथि बुद्धको प्रतिमा राखेका छन् । ‘हिंसालाई शान्तिले जित्छ भन्ने सन्देश दिएको हुँ,’ उनी भन्छन्, ‘समाजमा जिउनु नै अध्ययन लाग्छ, मलाई । मान्छेहरूसँगको सम्बन्ध र व्यवहार मेरा लागि पढाइ हो ।’

होटेल व्यवस्थापनमा स्नातक गरेका छन्, पाण्डेले । पसलमा महिला कर्मचारी राखेका छन् । बिहान ६ बजे खुल्ने पसल राति साढे ८ बजे बन्द हुन्छ । मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल छन्, उनी । बिस्तारै चिया पसलका साथमा फिल्मलाई पनि निरन्तरता दिने योजना बुनिरहेका छन् ।