Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज १६ बिहीबार ०८:०२:००
Read Time : > 1 मिनेट
खेलकुद

टी-२० : वर्षाले बिथोल्यो नेपालको सम्भावना

Read Time : > 1 मिनेट
२०७६ असोज १६ बिहीबार ०८:०२:००

त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत सिंगापुरविरुद्ध बुधबारका लागि तय भएको नेपालको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । यससँगै शृंखला जित्ने नेपालको सम्भावना पनि समाप्त भएको छ । शृंखला जित्ने आशा जीवित राख्न नेपालका लागि सिंगापुरविरुद्धको खेल सञ्चालन हुनुपर्ने थियो, जसमा नेपालको जित आवश्यक थियो । यद्यपि, निरन्तर वर्षाका कारण बुधबारको खेलमा टससमेत सम्भव हुन सकेन । 

प्रतियोगितामा जिम्बावे पनि सहभागी छ । दोहोरो राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालिन प्रतियोगिताअन्तर्गत नेपालले जिम्बावेविरुद्धका दुवै खेल गुमायो । पहिलो खेल पाँच विकेटले गुमाएको नेपाल दोस्रो खेलमा मंगलबार ४० रनले पराजित भयो । कप्तान पारस खड्काले शतकीय पारी खेलेपछि नेपालले आयोजक सिंगापुरलाई भने पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो ।

सिंगापुर र जिम्बावेको उपाधि सम्भावना बाँकी
आयोजक सिंगापुर र जिम्बावे दुवैको शृंखला जित्ने सम्भावना बाँकी छ । बिहीबार हुने सिंगापुर र जिम्बावेबीचको खेलको नतिजाले उपाधिको टुंगो लाग्नेछ । शृंखलाको अन्तिम खेलअघि जिम्बावे चार अंकका साथ शीर्ष स्थानमा छ । समान तीन अंकका बाबजुद नेपाल दोस्रो तथा सिंगापुर तेस्रो स्थानमा छन् । यद्यपि, बिहीबार हुने खेलमा जिम्बावेलाई पराजित गर्न सकेको अवस्थामा उपाधि सिंगापुरले घरमै राख्नेछ । खेल कुनै पनि कारण असम्भव भएको अवस्थामा वा आफैँले जित हात पारेको अवस्थामा उपाधि जिम्बावेले लानेछ । 

ओमान यात्रामा नेपाल
सिंगापुरको यात्रा टुंग्याएर नेपाली टोली उतैबाट बिहीबार पाँच टोली सहभागी रहने अर्काे टी–२० शृंखला खेल्न ओमान जानेछ । ओमान क्रिकेट संघले १८ देखि २३ असोजमा पाँच टोलीको सहभागितामा टी–२० शृंखलाको आयोजना गर्दै छ । ओमानको शृंखलामा नेपाल र आयोजक ओमानसँगै आयरल्यान्ड, नेदरल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् । एकल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । ओमान क्रिकेट संघले अर्काे वर्ष अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने छनोट प्रतियोगिताको तयारीस्वरूप यो प्रतियोगिताको आयोजना गर्न लागेको हो । यद्यपि, नेपाल भने विश्वकप छनोट प्रक्रियाबाट यसअघि नै बाहिरिसकेको छ ।