Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार ०२:०५:००
Read Time : > 1 मिनेट
सप्तरंग

बाइकमै मानसरोवर जाने रहर छ : सौरभ राणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार ०२:०५:००

बाइक संवाद

किन बाइक कुदाउनुहुन्छ ? 
म बाइक राइडर नै हुँ । मलाई बाइक कुदाउन मन पर्छ । देशका कुनाकाप्चा बाइक लिएर पुगिरहेको हुन्छु । 

 कहाँ–कहाँ पुग्नुभयो ?
बाइक कुदाएर मनाङ, मुस्ताङ, पोखरा, चितवनलगायत ठाउँमा पुगेको छु । काठमाडौंनजिकका ठाउँ धेरैपटक पुगेको छु । अब कैलाश मानसरोवर र तिब्बत पनि बाइक कुदाएरै पुग्ने रहर छ ।

 बाइकको सौखिन भएकैले प्रिमियम बाइक बिक्री गरिरहनु भएको हो ?
पक्कै पनि । मेरो पार्टनर उदीप श्रेष्ठ पनि बाइक पारखी नै हुनुहुन्छ । मेरो भाइ विकास पनि बाइकको पारखी हो । पहिल्यैदेखि बाइक कुदाएर हिँड्न मन पराउँथ्यौँ । मलाई विश्वका प्रिमियम बाइकबारे सानैदेखि थाहा थियो । विदेश रहँदा झन् धेरै थाहा भयो । त्यसैले डुकाटी, बिएमडब्लू, बेनेली बाइक नेपाल ल्याएर बिक्री गर्न थालेका हौँ ।

 अहिलेसम्म कुन–कुन बाइक चढ्नुभयो ?
धेरै चढिसकेँ । इटालियन प्रिमियम बाइक डुकाटी चढेँ । अहिले हस्कबर्ना बाइक छ । बिएमडब्लू बाइक पनि चढिसकेको छु । अब आफ्नै निजी बिएमडब्लू बाइक चढ्छु । 

 तपाईं चढेको पहिलो बाइक कुन थियो ?
पहिलोपटक आरएक्स १०० चलाएको हुँ । त्यो समय नेपालमा धेरै बाइक पाइँदैनथे । अप्सन पनि थिएन । यो सन् १९९५÷९६ तिरको कुरा हो । त्यतिवेला पनि हाम्रो बाइकवाला ग्रुप थियो । म सबैभन्दा बढी बाइक कुदाउनेमा पर्थें । त्यो सय सिसीको बाइक कति कुद्थ्यो होला र ? त्यही पनि मैले फुल स्पिडमा कुदाउँथे । त्यो समय त्यही बाइक ठूलो थियो ।

 नेपालमा बाइक टुर बढेको हो ?
धेरै बढेको छ । आफ्नै बाइक लिएर घुम्न निस्कने धेरै छन् । मनाङ, मुस्ताङ, रारालगायत गन्तव्यमा बाइक टुर बढेको छ । सामाजिक सञ्जालले पनि बाइक टुर बढाइदियो । कसैले बाइक चढेर मुस्ताङ पुगेको फोटो राख्यो कि अर्कोलाई त्यसरी नै पुग्ने रहर पलायो । यसले मुलुकको पर्यटन  प्रवर्द्धनमा ठूलो सघाउ पु-याएको छ । 

 तपाईंहरू प्याकेज टुर पनि गराउनुहुन्छ ?
हामीले बाइक टुर  प्रवर्द्धन गर्नकै लागि केही वर्षअघि ११ थान बिएमडब्लू बाइक ल्याएका थियौँ । अहिले तिनै बिएमडब्लू बाइकबाट टुर गराउँदै आएका छौँ । हाम्रो आफ्नै कम्पनी हिमालयन बाइक ट्राभल एन्ड एडभेन्चरले पनि प्याकेज बनाएर टुर गराउँछ । हामीले अरू होटेल तथा ट्राभल एजेन्सीलाई बाइक भाडामा पनि दिने गरेका छौँ । अब छिट्टै इन्डियन टोली बिएमडब्लू चढेर कैलाश मानसरोवर जाँदै छ ।

 बाइक राइडिङका लागि नेपाल कस्तो गन्तव्य हो ?
विश्वकै उत्कृष्ट गन्तव्य भन्छु । नेपालमा पहिलेदेखि नै विदेशी सौखिन ट्राभलर बाइक लिएर नेपाल आउँथे । म सानो हुँदा विदेशीले बाइक लिएर आएको देख्थेँ । उनीहरू महँगो बाइक सस्तो मूल्यमै बिक्री गरेर फर्किन्थे । पछिल्लो समय नेपालीहरू नै मज्जाले बाइक राइडिङ गर्छन् । विदेशीहरू पनि बाइक भाडामा लिएर टुरमा निस्कन्छन् । नेपालको हिमाली र पहाडी भेगमा प्राकृतिक सुन्दरताको आनन्द लिँदै बाइक राइडिङको मज्जा लिन सकिन्छ ।

 बाइक राइडिङका लागि परिचित गन्तव्य कुन–कुन हुन् ?
धेरै छन् । नेपालको हिमाली र पहाडी भेगका धेरै ठाउँमा साहसिक बाइक यात्रा गर्न सकिन्छ । कच्ची बाटो पुगेको ठाउँमा बाइक लैजान सकिन्छ । बाइक यात्राका लागि सबैभन्दा चर्चित गन्तव्यमा मुस्ताङ, मनाङ, पोखरा, चितवन, लुम्बिनी, रारा, जुम्ला, जिरी, कालिञ्चोक, सिन्धुपाल्चोक, बिपी राजमार्ग, इलामलगायत छन् । काठमाडौंनजिकका गन्तव्य धेरै छन् ।