मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १६ बिहीबार ०६:४५:००
Read Time : > 1 मिनेट
समाचार

जुम्लामा राजनीतिक आस्थाका आधारमा विद्यालय नै विभाजन : नेकपा र कांग्रेसको लडाइँ जारी

नयाँपत्रिका फलोअप

Read Time : > 1 मिनेट
२०७६ असोज १६ बिहीबार ०६:४५:००

हिमा गाउँपालिका–५ स्थित रूपाकोट आधारभूत विद्यालय राजनीतिक भागबन्डाका आधारमा दुई स्थानमा विभाजित भएको विषय अझै समाधान हुन सकेको छैन । हिमा गाउँपालिकाको गाउँ कार्यपालिका बैठकले २४ भदौमा कक्षा १–३ सम्मको आधारभूत कक्षा पुरानो विद्यालय र ४–८ कक्षासम्म नयाँ भवनमा सञ्चालन गर्ने गरेको निर्णय कांग्रेसले अस्वीकार गरेको छ । १–८ कक्षासम्म पढाइ हुँदै आएको विद्यालय फरक–फरक दुई स्थानबाट सञ्चालन गरिएको थियो ।

११ असोजमा बसेको कार्यपालिका बैठकले सम्पूर्ण प्रशासनिक कार्य नयाँ भवनमा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । उनका अनुसार अब एकै कक्षाका विद्यार्थी विभाजित हुने छैनन् । कक्षा १–३ सम्मका दुवै पक्षका विद्यार्थी पुरानो विद्यालयमा पढ्नेछन् । विद्यालयको संरचना गाउँबाट नजिक पनि छ । यस्तै, ४–८ कक्षासम्मका विद्यार्थी नयाँ भवनमा पढ्ने भएकाले विद्यार्थी विभाजित नहुने र दुवै पक्षको जित हुने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका–५ का वडाध्यक्ष नन्दबहादुर रावतलगायत प्रतिपक्षले बहुमतका आधारमा गरिएको निर्णय नमान्ने चेतावनी दिएको छ । ‘विद्यालयमा राजनीति गर्न खोजियो । आफ्ना बालबालिकालाई अन्तैको स्कुलमा पठाउनेहरूले बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित पारेका छन्,’ उनले भने ।

विद्यालयकी प्रधानाध्यापक शान्तिकुमारी शाहीले ११ असोजमा गाउँ कार्यपालिका, विद्यालय व्यवस्थापन समिति र अभिभावकसमेतको बैठक निष्कर्षविहीन भएको जानकारी दिइन् । गाउँपालिकाको निर्णय कांग्रेस पक्षधर अभिभावकले स्वीकार नगरेकाले समस्या समाधान नभएको उनको भनाइ छ । सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू आस्थाका आधारमा दुई भागमा बाँडिएपछि एउटै कक्षाका विद्यार्थी विभाजित भएका थिए । पुरानो भवनमा नेकपानिकटका विद्यार्थी र नयाँ भवनमा कांग्रेस पक्षका विद्यार्थी पढ्दै आएका छन् । 

 गाउँपालिकाको निर्णय मान्य छैन : वडाध्यक्ष रावत
हिमा गाउँपालिका–५ का वडाध्यक्ष नन्दबहादुर रावतले भने सबै गल्तीलाई स्वीकार गर्न नसकिने बताए । ‘गाउँपालिकाले बहुमतका आधारमा गरेको निर्णय हाम्रा लागि मान्य छैन । हामीले भनेका छौँ, पुरानो भवनमा इसिडीदेखि २ कक्षासम्म र नयाँ भवनमा ३–८ कक्षासम्म पढाइ हुनुपर्छ,’ उनले भने ।

 मानवअधिकार आयोगको चासो
राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय दुई स्थानबाट सञ्चालन भएको र विद्यार्थीको पठन–पाठन अवरुद्ध भएको विषयप्रति चासो व्यक्त गरेको छ । आयोगका जुम्ला कार्यालय प्रमुख रमेशकुमार थापाले विद्यालयको पठन–पाठन अनुगमन र समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशित गरेको जानकारी दिए ।

आयोगले विभिन्न सञ्चारमाध्यममा आएका सूचनालाई आधार मानी उजुरीका रूपमा लिएको जनाएको छ । ‘त्यहाँका बालबालिका पठन–पाठनको अवस्था नाजुक छ । एउटा कोठमा जस्तापाताको बार लगाएर पठन–पाठन गर्ने गरिएको र एउटा कक्षाको आवाज अर्काे कक्षामा सुनिने र त्यसले पठन–पाठनमा समेत असर गर्ने गरेको छ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष शाही भन्छन्– दुवै पक्षको चित्त बुझ्ने गरी निर्णय भएको छ
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले दुवै पक्षको चित्त बुझ्ने गरी गाउँ कार्यपालिकाले निर्णय गरेको बताए । उनले एउटै विद्यालयमा सबै कक्षा सञ्चालन गर्न भौतिक संरचना अपुग भएकाले विभाजन गरिएको उल्लेख गरे ।

‘बालबालिकालाई सहज रूपमा पठन–पाठन गर्न पर्याप्त मात्रमा भौतिक संरचना हुन आवश्यक छ,’ उनले भने,‘ भौतिक संरचनाको अभावलाई मध्यनजर गर्दै पुरानो भवन इसिडी, १–३ कक्षासम्म र नयाँ भवनमा ४–८ कक्षा पठन–पाठन गर्ने गरी गाउँ कार्यपालिकाले वैज्ञानिक निर्णय गरेको हो । विद्यालयको प्रशासन नयाँ भवन भएको ठाउँमा रहने गरी निर्णय गरिसकेका छौँ ।’