मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १५ बुधबार १६:०८:००
Read Time : < 1 मिनेट
समाचार

अमिताभ बच्चनले पठाए एसिड आक्रमणमा परेकी मुस्कानलाई भिडियो सन्देश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १५ बुधबार १६:०८:००

एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई बलिउडका सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेका छन् । खातुनको उपचारमा सहयोग गरिरहेका उज्वल विक्रम थापामार्फत अमिताभले भिडियो सन्देश पठाएका हुन् । 

अमिताभको भिडियो सन्देश बुधबार ४ बजे कीर्तिपुर अस्पतालमा उपचारार्थ भर्ना भएकी मुस्कानलाई सुनाएको थापाले बताए । भिडियोमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घटना थाहा पाएपछि दुःख लागेको बताएका छन् । 

‘तपाईंलाई के भयो भन्ने मलाई उज्वलले बताए,’ अमिताभले भिडियोमा भनेका छन, ‘तपाईलाई जे भयो, त्यो निकै दर्दनाक हो । यस्तो घटना थाहा पाएर दुःख लाग्यो ।’

अमिताभले मुस्कानलाई हिम्मतवाली बालिकाको रुपमा बुझेको उल्लेख गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । ‘तपाईंको नाम अति सुन्दर छ,’ उनले भनेका छन्, ‘मुस्कानको अर्थ कति राम्रो हुन्छ, तपाईको अनुहारमा निरन्तर मुस्कान छाई रहोस ।’

भिडियो सन्देश पठाउँदै अमिताभले आइन्दा कोही बालिकामाथि त्यस्तो नहोस भन्ने कामना गरेका छन् । उनले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने अपेक्षा गरेका छन् । ‘तपाईलाई छिटै निको होस,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘तपाईलाई मेरो शुभ कामना छ । तपाईको मुहारमा सधै मुस्कान छाइरहोस् ।’

खातुनलाई गत भदौ २० गते दुई जना युवाले पानी भनेर एसिड खुवाउन लागेका थिए । उनले एसिड खान नमानेपछि उनीहरुले अनुहारमा छ्यापेर भागेका थिए । 

भिडियाे साैजन्य : उज्ज्वल विक्रम थापा