१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज १५ बुधबार १०:०४:००
Read Time : > 4 मिनेट
सेयर बजार

‘सेलिङ प्रेसर’ घटेसँगै बढ्यो बजार

Read Time : > 4 मिनेट
२०७६ असोज १५ बुधबार १०:०४:००

सोमबार १० अंक बढेर बन्द भएको नेप्से, मंगलबार पनि १० अंक नै बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम ८४ प्रतिशत बढेको छ । सोमबार करिब १७ करोडको सेयर खरिद–बिक्री भएको बजारमा यस दिन ३१ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । नेपाल बंगलादेश बैंकको संस्थापक सेयरले यस दिनको कारोबार रकम बढाउन टेवा पुर्‍याएको छ । बजारमा ‘सेलिङ प्रेसर’ कम भएसँगै नेप्से उकालो लाग्न थालेको एक विश्लेषकले बताए । दसैँका लागि खर्च जुटाउनतर्फ लागेका लगानीकर्ताले रकम संकलन गरिसकेका कारण बजारमा ‘सेलिङ प्रेसर’ घटेको हो । यस दिन सेयर बिक्री गर्ने लगानीकर्ताले दसैँअघि रकम पाउन मुस्किल भएको उनको भनाइ छ । यसका साथै कम्पनीहरूले घोषणा गरेको लाभांश पनि यस दिन बजार बढ्नुको एक कारण भएको एक लगानीकर्ताले बताए । अहिलेसम्ममा धेरै कम्पनीहरूले लाभांश घोषणा गरिसकेका कारण लगानीकर्ताको मनोबलमा पनि सुधार आएको उनको भनाइ छ । 

बजार सारांश
नेप्से परिसूचक मंगलबार १० दशमलव १३ अंक बढेर १ हजार १ सय ४५ दशमलव ६९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव १९ अंक बढेर २ सय ५० दशमलव २१ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ७९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव शून्य ७ अंक बढेको छ । यस दिन १ सय ६४ कम्पनीको ३ हजार ६ सय ८३ पटकको कारोबारमा ३१ करोड १४ लाख ८८ हजार ६ सय ५२ रुपैयाँबराबरको १३ लाख ८६ हजार २८ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४२ दशमलव ८७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ३ दशमलव २१ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये १ सय ३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

९ प्रतिशत घट्यो सप्तकोसीको सेयरमूल्य 
यस दिन कारोबारमा आएको सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ९ दशमलव शून्य ९ प्रतिशत घटेको छ । त्यसैगरी, १५ प्रतिशत नगद लाभांश तिवरण गर्ने घोषणा गरेको शिवम् सिमेन्ट्सको सेयरमूल्य यस दिन ५ दशमलव ४५ प्रतिशत घटेको छ । ओरियन्टल होटेल्स र मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ । यस दिन सिनर्जी पावर डेभलपमेन्ट, युनाइटेड फाइनान्स, रिलायन्स फाइनान्स र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । सेन्ट्रल फाइनान्सको सेयरमूल्य यस दिन ५ दशमलव ५६ प्रतिशत बढेको छ भने अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ ।

सर्वाधिक कारोबार हुनेमा एनबिबीको संस्थापक सेयर
कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल बंगलादेश बैंक लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ७ करोड १ लाख २५ हजार रुपैयाँबराबरको ५ लाख ६१ हजार कित्ता संस्थापक सेयर खरिद–बिक्री भएको छ भने १ सय २५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबार संख्याका आधारमा अगाडि रहेको शिवम् सिमेन्ट्सको यस दिन ५ सय ५२ पटकको कारोबारमा ४ करोड ३० लाख ३ हजार ५ सय १७ रुपैयाँबराबरको ८२ हजार २ सय ७८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको कारोबार रकम यस दिन ३ करोड नाघेको छ । कारोबारमा आएको मेगा बैंक, नेपाल दूरसञ्चार कम्पनी र हिमालयन डिस्टिलरीको कारोबार रकम यस दिन १ करोड नाघेको छ । 

८ समूहको परिसूचक बढ्योे
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने बाँकी ३ समूहको परिसूचक घटेको छ । वित्त समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ७१ प्रतिशत बढेको छ । अन्य समूहको परिसूचक यस दिन १ दशमलव ४३ प्रतिशत, वाणिज्य बैंक समूहको १ दशमलव २३ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव १७ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ७८ प्रतिशत बढेको छ । जलविद्युत् समूहको शून्य दशमलव ५५ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३३ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव २५ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक २ दशममलव १८ प्रतिशत घटेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ४२ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ । 

कालिका लघुवित्तको लाभांश 
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १० गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । 

नेपाल एसबिआईको लाभांश 
नेपाल एसबिआई बैंक लिमिटेडले गत आवको मुनाफाबाट १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १२ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

सनराइज फर्स्ट  म्युचुअल फन्डमा आवेदन दिने म्याद थप
सनराइज म्युचुअल फन्डले असोज ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सनराइज फर्स्ट  म्युचुअल फन्डमा आवेदन दिने म्याद थप गरेको छ । यस योजनाको इकाइ निष्कासनमा अब कात्तिक ७ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गरेको हो । योजनाले १० करोड इकाइ बीजपुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धकका लागि सुरक्षित गरी सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइको निष्कासन गरेको हो । यस योजनाको कोष प्रवर्द्धक सनराइज बैंक रहेको छ ।

यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको बुक क्लोज
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सो एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । वैशाख २५ गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले सो हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

शिवम्को नगद लाभांश
शिवम् सिमेन्ट्स लिमिटेडले गत आवको मुनाफाबाट १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । असोज १३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । कम्पनीको चौथो वार्षिक साधारणसभा कात्तिक ८ गते राष्ट्रिय सभागृह, काठमाडौंमा हुने भएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।