मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज १५ बुधबार ०८:५२:००
Read Time : > 2 मिनेट
नयाँCity

सहरका जैन समुदाय : व्यापार, उद्योग हुँदै राजनीतिसम्म

Read Time : > 2 मिनेट
२०७६ असोज १५ बुधबार ०८:५२:००

सरकारी तथ्यांकअनुसार नेपालभरि जैन समुदायको जनसंख्या करिब पाँच हजार तीन सय ४४ छ । सोही समुदायको अनुमानमा भने यो संख्या करिब १० हजार छ । काठमाडौं उपत्यकामा एक हजार आठ सयदेखि दुई हजारजतिको बसोवास रहेको व्यवसायी विनोदकुमार सेठिया बताउँछन् । हस्पिटालिटी, बैंक, बिमा, गाडीको व्यापार, सूचना प्रविधिलगायत व्यवसायमा यो समुदायको संलग्नता छ ।

राजनीति र सरकारी सेवामा पनि
गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा अहिले पोल्यान्डको काठमाडौंस्थित अवैतनिक महावाणिज्य दूत छन् । तत्कालीन मधेसी जनअधिकार फोरमबाट सप्तरी क्षेत्र नम्बर–१ बाट सांसद बनेका हेमराज तातेड वातावरणमन्त्रीसमेत बने ।

तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद बने, विराटनगरका उद्योगी मोती दुगड । उद्योगी स्वर्गीय दिवाकर गोल्छा पनि नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । उक्त समुदायका झुमरमल तातेडले खानी विभागको महानिर्देशक बन्दै अवकाश पाए । सिँचाइ विभागको नायब महानिर्देशक बनेर प्रताप तातेडले अवकाश पाए । उद्योगी स्वर्गीय तुलाराम दुगड नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बनेका थिए ।

ढुवानी व्यवसायी सुशील नहाटा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य–सचिव हुन् । उनका हजुरबुबा रूपचन नहाटा राणा शासनविरोधी आन्दोलनमा सक्रिय थिए । सोही कारण उनलाई आजीवन कारावासको सजाय दिइएको थियो ।

हिल्टेक ग्रुपका अध्यक्ष कमल जैनले हिल्टेक ब्रान्डमा प्लास्टिकको ट्यांकी उत्पादन गर्दै आएका छन् । उनका पाइप, एयर कन्डिसनर र ग्यास गिजरका उद्योग पनि छन् । भक्तपुरको साँगामा निर्माण भएको विश्वकै अग्लो महादेवको मूर्ति उनले नै स्थापना गराएका हुन् । त्यसको नजिकै ‘वेल्नेस रिसोर्ट’ खोलेका छन् । चाँडै हेटौँडामा प्लास्टिकको ह्युमपाइप उत्पादन गर्ने उद्योग खोल्दै छन् ।

गोल्छा परिवार मुलुककै ठूलो औद्योगिक घराना हो । दुगड ग्रुपको खाद्यान्न, सेवा, उत्पादन, जलविद्युत्, व्यापारलगायत क्षेत्रमा लगानी छ । एमभी दुगड ग्रुपका अध्यक्ष मोती दुगडको ट्रेडिङ, हाइड्रो, बैंक र वित्तीय संस्थामा लगानी छ । दक्षराज तातेडलगायत व्यवसायीले जलविद्युत्मा लगानी गर्दै आएका छन् । त्यसबाहेक पर्यटन र सूचना प्रविधिको क्षेत्रमा पनि यो समुदायको लगानी बढ्दो छ ।

नेपालमा कान्साई नेरोल्याक पेन्ट्सलगायत क्षेत्रमा लगानी रहेको सालिमार ग्रुपका अध्यक्ष अशोक बैद ‘जैन श्वेताम्बर तेरापन्थ महासभा’को नेपाल च्याप्टरका अध्यक्ष पनि हुन् । खासगरी व्यावसायिक क्षेत्रमा जैनहरूले राम्रो गरिरहेको उनी बताउँछन् ।

नेपालका गोल्छा र दुगड समुदाय पनि जैन धर्मावलम्बी हुन् । अग्रवाल समुदायमा पनि जैन धर्मावलम्बी छन् । पछिल्लो समयमा यो समुदायको व्यापार अझ फराकिलो बन्दै गएको छ । तर, मारकाट हुने क्षेत्रको व्यवसायबाट यो समुदाय टाढा छ ।
 

नेपालका गोल्छा र दुगड समुदाय जैन धर्मावलम्बी हुन् । अग्रवाल समुदायमा पनि जैन धर्मावलम्बी छन् । पछिल्लो समयमा यो समुदायको व्यापार अझ फराकिलो बन्दै गएको छ । तर, मारकाट हुने व्यवसायबाट यो समुदाय टाढा छ । ‘हाम्रो समुदायमा हिंसा वर्जित छ,’ हिल्टेक ग्रुपका अध्यक्ष जैन भन्छन् ।

दुई सय वर्षको इतिहास
नेपालमा यो समुदायको इतिहास दुई सय वर्षभन्दा लामो छ । सेठियाका अनुसार तत्कालीन बडाहाकिमहरूले सप्तरीको राजविराजमा यो समुदायका व्यापारीहरूलाई भिœयाएको पाइन्छ । त्यसपछि वीरगन्ज र विराटनगरमा पनि यो समुदाय व्यापार लिएरै भित्रियो । त्यसयता, व्यापार राम्रो हुने काठमाडौं, पोखरालगायत पहाडी क्षेत्रका सहरमा पनि यो समुदाय पुगेको छ ।

जैनहरू भारतको राजस्थानबाट नेपाल आएका हुन्, जसलाई मारवाडी पनि भन्ने गरिन्छ । नेपाल प्रवेश गर्दा यो समुदाय मुख्यतः कपडा व्यापारमा संलग्न थियो । भारतको गुजरातबाट आएका जैन पनि नेपालमा छन्, जसको जनसंख्या कम छ । स्याङ्जालगायत पहाडी जिल्लामा दीक्षा लिएर साधु बनेका जैन पनि छन् । डा. मणिभद्र मुनिजी महाराज तिनैमध्येका हुन्, जसको पोखरा विमानस्थलअगाडि आश्रम छ ।

नेपाल कनेक्सन
काठमाडौं कमलपोखरीस्थित महावीर मन्दिर यो समुदायको नेपालमा एक मात्र मन्दिर हो । विराटनगर, वीरगन्ज, राजविराज, धुलाबारीलगायत मुख्य सहरमा उक्त समुदायले निर्माण गरेका सामुदायिक भवन छन् । यो समुदाय दिगम्बर र श्वेताम्बर गरी दुई समूहमा विभाजित छ । नेपालमा श्वेताम्बर समूहको बाहुल्य छ । ‘विभिन्न समूह बने पनि हाम्रो सिद्धान्त एउटै छ– अहिंसा,’ सेठिया भन्छन् ।

यो समुदायले अनुसरण गर्ने हिन्दू रीतिरिवाज नै हो । दिवाली र नवरात्रि मनाउँछन् । त्यसबाहेक महावीर जयन्ती र पर्युषण पर्व मनाउँछन् । आफ्नो समुदायको उद्यमशीलता विकासका लागि विभिन्न संघसंस्था खोलेका छन् ।

यस समुदायका भगवान् महावीरले नै नेपालको तराई क्षेत्रमा ६ चतुर्मास बिताएका थिए । उक्त समुदायका गुरु श्रीभद्रबाहु स्वामीले हिमालयमा आएर १२ वर्ष तपस्या गरेका थिए । उनले लेखेको ‘कल्पसूत्र’ नामक पुस्तकमा त्यसबारे उल्लेख छ । यस्तै, १९औँ तीर्थकर मल्लिकानाथ र नमिनाथको जन्म जनकपुर आसपासमा भएको थियो ।