मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राम कार्की, विदेश विभाग उपप्रमुख, नेकपा
२०७६ असोज १५ बुधबार ०६:२९:००
Read Time : > 5 मिनेट
अन्तर्वार्ता

चीन र नेपालबीच अब हिमाल बाधा हुँदैन : राम कार्की

सी जिनपिङ हाम्रा मामा होइनन्, उनले पापा पनि ल्याउँदैनन्

Read Time : > 5 मिनेट
२०७६ असोज १५ बुधबार ०६:२९:००

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच एमओयू पनि गरियो, पछिल्लो समय चीन र नेपालको पार्टीगत सम्बन्ध बढ्दै गएको छ । विपक्षीले त नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संगठनजस्तो भयो भन्न थालेका छन् नि ? 
समझदारी यसअघि अलिखित रूपमा पहिलेदेखि नै हुँदै आएको थियो । विचार अनुभवहरू आदान–प्रदान गर्ने, नेता–कार्यकर्ता एक–अर्काकोमा गएर प्रशिक्षण दिने चलन थियो । त्यसलाई अहिले औपचारिकता दिएको मात्रै हो । त्यसमा स्पष्ट लेखिएको छ– दुवै पार्टीको आन्तरिक जीवनमा हस्तक्षेप गरिनेछैन ।

यसलाई स्वभाविकै रूपमा कम्युनिस्ट विरोधीहरूले उत्तेजनात्मक बनाउन खोज्छन् । किनकि चीन शक्तिशाली देशका रूपमा उभिएको छ । त्यो शक्तिशाली चीनलाई कम्युनिस्ट पार्टीले हाँकिरहेको छ । नेपाल पनि कम्युनिस्ट पार्टी सरकारमा छ, त्यसो हुनाले चर्चा परिचर्चा चलेको हो । चीनले अन्तर्राष्ट्रिय रूपमा रणनीति अख्तियार गर्न खोजेको छ । नेपालमा पहिलोपटक कम्युनिस्टहरूको बहुमत हितको सरकार निर्माण भएको छ । त्यसकारण यो सम्झौता स्वाभाविक हो । 

चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच वैचारिक निकटता पनि बढ्दै गएको हो ?
विचारधारा आ–आफ्नो देशको फरक हुन्छ । तर, स्वभाविकै रूपमा मार्क्सवाद  अर्थात् कम्युनिस्ट विचार भनेको विश्वव्यापी परिघटना हो । यो कुनै देशमा सीमित रहँदैन । त्यसैले, यसको विश्वव्यापी प्रभाव हुन्छ, विश्वव्यापी सम्बन्ध हुन्छ । बरु कट्दै गएको नेपाल अहिले जोडिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धले कम्युनिस्ट पार्टीलाई नैतिक बनिरहन र कम्युनिस्ट आचरणलाई जोगाई राख्न मद्दत मिल्छ । 

नेकपाले सी विचार पढाएजस्तै अरू पार्टीले पनि विदेशी पार्टीका विचारको प्रशिक्षण चलाउन थाले पनि समस्या हुँदैन ?
पहिलो त के स्पष्ट हुनुप¥यो भने सी विचार वा नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद चिनियाँ कम्युनिस्ट पार्टीले भनेको हो । नेपालले सी जिनपिङ विचारधारा अँगाल्यो भन्ने कुरा कहाँबाट आयो ? यो निरन्तर हल्ला चलाइएको छ । नेकपाको मार्गदर्शक सिद्धान्त मार्क्सवाद –लेनिनवाद हो । त्यसमा कुनै विचारधारा जोडिएको छैन । त्यसमा स्पष्ट हुनुपर्छ ।

तर, तपाईंहरूले त चिनियाँ नेताहरू बोलाएर प्रशिक्षण चलाउनुभयो । सी विचारबारे नै क्लास त भएको हो नि ?
सी जिनपिङ विचारबारे संसारभरि नै बहस सुरु भएको छ । कतै यसले नयाँ विश्व व्यवस्थातिर लैजान खोजेको हो कि भन्ने कुरा छ । चिनियाँहरूले बारम्बार के भन्दै आएका छन् भने हामी अहिलेको विश्व व्यवस्थालाई प्रतिस्थापन होइन, तर विश्व व्यवस्थाका जुन निकाय छन्, त्यसमा संस्थागत परिवर्तन अर्थात संरचनामा परिवर्तन गर्न चाहन्छौँ । त्यसलाई बढी सहभागी बनाउन चाहन्छौँ भनिरहेका छन् ।

वास्तवमा पश्चिमा राष्ट्रको मात्रै वचस्र्व भएका संस्थाहरूलाई तेस्रो विश्वका मुलुकहरू पनि सहभागी र सुनिश्चित भएको संस्थामा फेर्न चाहन्छाैँ भन्ने छ । त्यसैले, एउटा कम्युनिस्ट पार्टीले विश्वमा विकसित भइरहेका घटना/परिघटनाहरू अध्ययन अनुसन्धान गर्छ । हामीकहाँ पनि अध्ययन चाहन्थ्यौँ । त्यसमा चिनियाँहरूले सी विचारधाराको अन्तर्यबारे विचार राखे । यस्ता प्रवचन दिनैपिच्छे भइराखेका हुन्छन् ।

नेपालभित्र हुने कुनै पनि प्रवचनलाई नेपालले अपनायो भन्न मिल्छ र ? यहाँ त योगदेखि लिएर विपश्यना गराइराखेका छन् । ऊँधर्मको प्रचार गरिराखेका छन् । कोही हजारौँ मान्छेलाई श्रद्धा गराउन खोजेका छन् । प्रजातन्त्रमा यस्तो हुन्छ । यसको अर्थ हामीले पूरै सी विचारधारा अपनायौँ भन्ने होइन । 

तपाईंहरू बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्नुहुन्छ । चिनियाँ कम्युनिस्ट पार्टी एक दलीय व्यवस्थामा विश्वास गर्छ । यो त नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको आधारभूत वैचारिक भिन्नता होइन र ?
चीनमा पनि अरू पार्टी छन् । संविधान बनाउँदा पार्टीहरू राख्ने अवधारणा थियो । ती पार्टी कम्युनिस्ट पार्टीको सहयोगीको भूमिकामा छन्, प्रतिस्पर्धामा होइन । स्वभाविकै रूपमा नेपालको कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी फरक हुन् । तर, यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भएको हुनाले मार्क्सवाद –लेनिनवादमाथि आधारित छन् कि छैनन् ? साम्यवादको आधारभूत सिद्धान्तमाथि हाम्रा नीति र मान्यताहरू मिल्छन् कि मिल्दैनन् । त्यो प्रश्न जसले पनि उठाउन पाउने भयो । चिनियाँहरूबारे हामीले उठाउन पाउनुपर्‍यो । फरक–फरक अनुभव साट्ने कुरा न हो । 

हिजो तपाईंहरू चीनलाई ‘पुँजीवादी बाटोमा गयो,’ ‘प्रतिक्रान्ति भयो’ भन्नुहुन्थ्यो । त्यो संश्लेषण गलत भन्नुभएको पनि छैन । चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध पनि बलियो हुँदै गएको छ । चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको नेकपाले औपचारिक रूपमा के भनेको छ ?
एकदमै जायज प्रश्न गर्नुभयो । हामी अहिले सैद्धान्तिक र वैचारिक विषयमा बच्दैबच्दै अगाडि बढिराखेका छाैँ । हाम्रा बारेमा बारम्बर प्रश्नहरू उठाइराखिएको छ– के हामीले भनेको २१औँ शताब्दीका जनवाद मार्क्सवाद –लेनिनवादसम्मत छ ? यस्तो विचारले हामीलाई समाजवादमा पु-याउँछ कि पुर्‍याउँदैन ? जबज आफैँ मार्क्सवादी आधारमा उभिएको थियो कि थिएन ?

यी विषयमा विहंगम बहस हुनुपथ्र्यो  । स्वाभाविक रूपमा पार्टीमा यस्ता प्रश्न उठ्ने गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले लिएको बाटो समाजवादसंगत हो/होइन भन्नेबारे विश्वभर बहस छ । तर, नेपालमा वैचारिक–राजनीतिक बहस हुनै छोडेको छ । तपाईंले उठाएका प्रश्नमा पनि हाम्रो बहसै छैन । फरक–फरक पार्टीमा हुँदादेखि नै बहस सकिएरै पार्टी एकता भएको थियो । बहस हुनै छोडिसकेको थियो ।

माओवादी र एमाले दुवैले बहस गर्न छोडिसकेका थिए । चुनाव नै मूल मुद्दा भइसकेपछि चुनावको प्रयोजनका निम्ति सबै पवित्र–अपवित्र जम्मै प्रकारका साधनहरू अपनाउनुपर्छ । त्यसले कम्युनिस्ट पार्टी एउटा विसर्जनतिर जाने खतरा हुन्छ । त्यसप्रति हामी सचेत हुनुपर्नेछ । जो सिद्धान्तको बहस गर्न चाहँदैनथे, त्यस्तालाई पनि एकता प्यारो भयो । जो थप बहस गर्न चाहन्थे, तिनले पनि थप मानिसबीच बहस गर्न पाउने भएर एकता मन पराए । 

नेकपाले दस्ताबेजमा भारत र अमेरिकाको प्रवृत्ति किटान गरेको पनि देखिन्न नि ? 
शक्तिशाली भइसकेपछि बोल्ने र कमजोर हुँदा बोल्ने कुरा स्वभावैले फरक हुन्छ । बच्चाले घर भत्काइदिन्छु भन्यो भने उसलाई मान्छेले गम्भीरतापूर्वक लिँदैनन् । डोजर ड्राइभरले डोजरमाथि बसेर यो घर भत्काइदिन्छु भन्यो भने गम्भीर हुनुपर्छ । बढी शक्तिशाली हुँदै गएपछि जिम्मेवार हुनुपर्छ । कतिपय अवस्थामा नभनेरै पनि भत्काउने कोसिस गर्नुपर्छ । साम्राज्यवाद–विस्तारवाद आदिको दुष्चक्रबाट जोगिनका निम्ति नीतिहरू बनाउनुपर्ने हुन्छ । सत्तामा नहुँदा नाराहरू मात्रै लगाइदिँदा भयो । सत्तामा आइसकेपछि त्यसअनुकूलको नीति बनाउनुप-यो । 

चीनले रेल बनाइदिन्छ कि भनेर नेकपाले उत्तरी छिमेकीतिर आँखा लगाएको देखिन्छ । त्यो अपेक्षा पूरा हुने देख्नुहुन्छ ? 
हिजो ७०/७५ प्रतिशत सम्बन्ध एकातिर मात्रै थियो । हामी त्यसमा बानी परेका थियौँ । अहिले हाम्रो सम्बन्धलाई बहुआयामिक बनाउन खोजिएको हो । कसैले बढी नै अपेक्षा गरिराखेको छ भने त्यस्तो हुँदैन ।

भारतीय प्रधानमन्त्री आउँदा पनि नेपाली मिडियामा धनी मामा लाहुरबाट फर्केको जस्तो अनुभव गर्न सकिन्थ्यो, सी पनि कोही मामा होइनन्, पापा ल्याउने पनि होइनन् 

चीन पनि एउटा शक्तिशाली देशका रूपमा उदाइराखेको छ । उसका राष्ट्रिय स्वार्थ हुन्छन् । उसले पनि आफ्ना नीति राष्ट्रिय स्वार्थअनुकूल बनाउनुपर्ने हुन्छ । भारतले पनि आफ्नो स्वार्थ अनुकूल बनाउने हो । त्यसबाट लाभ लिने हो त्यसलाई कम्प्लिमेन्ट गर्ने गरी हामीले आफ्नो नीतिहरू बनाउनुपर्छ । अखबारमा चिनियाँहरू आउने–जाने गरेका ठूलोठूलो अक्षरमा छाप्ने गरेका छन् । त्यो त जमाना फेरियो । हिजो हिमाललाई बाधा भनिन्थ्यो । त्यस्तै, समुद्रलाई बाधा गर्‍यो भन्ने गरिन्थ्यो त्यो पनि जोड्ने माध्यम बन्यो । भौतिक प्रगतिले ल्याएको परिवर्तन पनि हो । एक समय हिमालमाथि जहाज उड्यो भने झर्छ भन्ने विश्वास गरिन्थ्यो । अब जहाज सजिलै जान थाल्यो । त्यसकारण चीनको असाध्यै प्रभाव बढ्न थाल्यो भन्ने आत्तिएर बोल्नु देशको हित गर्नु होइन । 

चीनको प्रभाव बढ्दै जाँदा नेपाल कतै शक्ति राष्ट्रको चेपुवामा पर्ने त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ नि ?
चीनबाट न पैसा आएको छ, न कुनै विकास निर्माण नै भएको छ । तर, अखबारका सबै पाता रंग्याएपछि बढाइचढाइ हुने नै भयो । नेपालका पत्रकारले लेख्ने हो भने नेपालको सन्दर्भलाई ख्याल गर्नुपर्‍यो । कहाँ चीनले विकास गर्‍यो ? कहाँ नेपाललाई चीनले सहयोग गर्‍यो ? कहीँकतै केही भएको छैन । अहिले खुला संसार छ, थुप्रै प्रकारका माध्यमहरू छन्, यस्तो वेला भेटघाट बाक्लोे भइराखेको छ । त्यो भारतीयसँग पनि भइराखेको छ । त्यो अमेरिकनसँग भइराखेको छ । मुख्य रूपमा हामीले आफ्ना नीतिहरू बनाउँदा सम्बन्ध सन्तुलित राख्नुपर्छ । विश्वका शक्तिहरू छन्, ती शक्तिहरूसँग एक प्रकारको साझा दूरी मेन्टेन गर्नुपर्छ ।  कुनै पनि सामरिक रणनीतिहरू सहभागी हुन चाहँदैनौँ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दै छन् । यस अवसरमा चीनबाट केही न केही ऐतिहासिक सम्झौता हुने र नेपालले लाभ लिने अपेक्षा ठूलै छ नि ? 
यस्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि भएकै हो । त्यतिवेला कुनै धनी मामा लाहुरबाट फर्केको जस्तो अनुभव गर्न सकिन्थ्यो, जुनवेला मोदीले भ्रमण गर्दै थिए । मिडियाका साथीहरूले धेरै सेलब्रेसन गर्नुभयो । त्यसवेला मैले भनेको थिएँ– यो ‘मामा आए घोडा, पापा ल्याए सोली’ भनेजस्तो होइन । मोदी आफ्नो राजनीति वा स्वार्थ हेरेर चल्छन् । पछि मिडियाले नै लेखे– हात्ती आयो हात्ती आयो फुस्सा ! सी पनि कोही मामा होइनन्, पापा ल्याउने पनि होइनन् ।

चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्झौता अन्तर्राष्ट्रिय विभागले गर्‍यो, तर प्रशिक्षणचाहिँ स्कुल विभागले ग-यो । किन यस्तो भएको होला ? 
कहिलेकाहीँ मुखले पानी नखाँदा नाकले खान्छ । नाकले खाएपछि स्वभाविकै रूपमा प्रतिक्रिया आउँछ । सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुने हो ।
सी आउनुअघि नेपालले कस्तो गृहकार्य गर्नुपर्ने थियो त ? 
हाम्रो प्राथमिकता तय गर्नुपथ्र्यो । माओले हिजो चीनमा ठीक ढंगले प्राथमिकता तय गरेको भएर आज चीन संसारको शक्तिशाली भयो । किसानको पौरखमा अगाडि बढ्ने र देशी–विदेशी शिक्षा र स्वास्थ्यको अवधारणामा अभियान चलाए । आजको चीन बन्नुमा माओको देन छ ।

सुरक्षाको निम्ति आणविक शक्ति हासिल गरे । नदीहरूको नियन्त्रण र खाद्यान्नमा आत्मनिर्भर बनाए । हाम्रो जस्तो देशले शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा पार्नुपर्‍यो । त्यसपछि मात्रै बाहिरबाट सहयोग लिने र ऋण लिने कुरा हुन्छ । कसैले आएर देश बनाइदिने होइन । यो देश नेपालीले नै बनाउनुपर्छ ।

ढुक्क भएर काम गर्ने र ढुक्क भएर लेख्ने गर्नुपर्छ । पाहुनाहरू आउँछन्, स्वागत गर्ने सत्कार गर्ने हो । नाच्ने–गीत गाउने छँदै छ । तर, अहिलेदेखि नै नाच्नु र गीत गाउनु जरुरी छैन ।
तस्बिर : संजित परियार