१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असोज १४ मंगलबार ०९:१५:००
Read Time : > 3 मिनेट
सेयर बजार

करिब १ प्रतिशत बढ्यो नेप्से, कारोबार रकम घट्यो

Read Time : > 3 मिनेट
२०७६ असोज १४ मंगलबार ०९:१५:००

पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से सोमबार बढेर बन्द भएको छ । यस दिन नेप्से शून्य दशमलव ९३ प्रतिशत बढेर बन्द भएको छ । नेप्से उकालो लागे पनि यस दिन कारोबार रकम भने घटेको छ । लगानीकर्ता दसैँको तयारीमा लागेका कारण बजारमा कारोबार कम भएको हो । लगानीकर्ता अहिले कारोबारभन्दा नजिकिँदै गरेको दसैँतर्फ आकर्षित भइरहेका छन् । केही लगानीकर्ता दसैँ मनाउन राजधानी छोडेर बाहिर जान थालेका छन् भने केही लगानीकर्ता दसैँको किनमेलमा लागेका छन् । पछिल्ला दिनहरूमा बजार सुस्त गतिमा रहेका कारण लगानीकर्ता अहिले लगानी नगर्ने निर्णयमा पुगेका थिए । फलस्वरूप, कारोबार रकम दैनिक कम हुँदै गएको एक ब्रोकरले बताए । दसैँ नजिकिएसँगै ब्रोकर कार्यालयमा लगानीकर्ताको भिड कम हुन थालेको उनको भनाइ छ । अधिकांश लगानीकर्ता दसैँको तयारीमा लाग्दा केही लगानीकर्ता सस्तोमा सेयर खरिद गरिरहेका छन् । सेयरमूल्य सस्तिएका वेला राम्रा कम्पनीहरूको सेयर खरिद गर्ने उपयुक्त समय भएका कारण केही लगानीकर्ता खरिदतर्फ लागेको एक विश्लेषकले बताए ।

बजार सारांश
सोमबार नेप्से परिसूचक १० दशमलव ४२ अंक बढेर १ हजार १ सय ३५ दशमलव ५६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६८ अंक बढेर २ सय ४७ दशमलव शून्य २ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३० अंक बढेको छ । यस दिन १ सय ५७ कम्पनीको ३ हजार ५ सय ३५ पटकको कारोबारमा १६ करोड ८८ लाख २८ हजार ९ सय २३ रुपैयाँबराबरको ६ लाख ३३ हजार ९ सय ५१ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको आरएसआई यस दिन ३७ दशमलव ९२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ३ दशमलव २१ रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५७ कम्पनीमध्ये १ सय ३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय २५ दशमलव ६१ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय १५ दशमलव ६६ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ४० दशमलव ९४ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ४६ दशमलव ३२ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

सेयरमूल्य फरकदर न्यून
यस दिन कम्पनीहरूको सेयरमूल्य फरक दर न्यून रहेको छ । बजार १० अंक बढ्दा पनि कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ६ प्रतिशतमा सीमित भएको छ । यस दिन युनियन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ५ दशमलव ८८ प्रतिशत बढेको छ । त्यसैगरी, सान्जेन जलविद्युत् कम्पनी, तिनाउ मिसन डेभलपमेन्ट बैंक र युनाइटेड फाइनान्सको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । सानिमा माई हाइड्रोपावर, सिन्धु विकास बैंक र कालिका पावरको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा बढी रहेको छ । माउन्टेन हाइड्रो नेपाल लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी र सानिमा बैंक लिमिटेडको सेयरमूल्य यस दिन ४ प्रतिशतको हाराहारीमा घटेको छ । यस दिन मल्टिपर्पोज फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी र अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ । 

सर्वाधिक कारोबार हुनेमा सनराइज बैंक 
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा सनराइज बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ करोड १३ लाख ६० हजार २ सय ६५ रुपैयाँबराबरको ९३ हजार २ सय ६५ कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर ५ दशमलव ८ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । त्यसैगरी, प्रभु बैंकको यस दिन १ करोड ३१ लाख ११ हजार रुपैयाँबराबरको ५० हजार ५ सय १६ कित्ता सेयर किनबेच भएको छ भने नेपाल बैंकको १ करोड १८ लाख ९८ हजार रुपैयाँबराबरको ३८ हजार २६ कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन सान्जेन जलविद्युत् कम्पनी लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन २ सय ५० पटक सेयर खरिद–बिक्री भएको छ ।  
 
१० समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने १ समूहको परिसूचक घटेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ६८ प्रतिशत बढेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन २ दशमलव २ प्रतिशत, उत्पादनमूलक समूहको १ दशमलव ६३ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव ६० प्रतिशत र जीवन बिमा समूहको १ दशमलव ४५ प्रतिशत बढेको छ । त्यसैगरी, वाणिज्य बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव ९५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ६४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५६ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । यस दिन अन्य समूहको परिसूचक भने १ दशमलव शून्य ६ प्रतिशत घटेको छ । 

लक्ष्मी बैंकको ऋणपत्र
लक्ष्मी बैंक लिमिटेडले असोज २३ गतेदेखि १० प्रतिशत लक्ष्मी बैंक लिमिटेड डिबेन्चर २०८६ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ । निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । निष्कासन बन्द छिटोमा असोज २७ गते हुनेछ भने ढिलोमा कात्तिक २२ गते हुनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि १० वर्ष रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत हुनेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ । सो ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलबिबिबी प्लस रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ । 

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख रहेको छ । ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले भदौ १७ गते अनुमति दिएको थियो ।