मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश गुरागाईं
२०७५ पौष २५ बुधबार ०८:५८:००
Read Time : > 4 मिनेट
फिचर

गोविन्दराज भट्टराईको टेवल

Read Time : > 4 मिनेट
प्रकाश गुरागाईं
२०७५ पौष २५ बुधबार ०८:५८:००

डा. गोविन्दराज भट्टराई प्रायः कीर्तिपुरस्थित तीनतले घरको माथिल्लो तलामा भेटिन्छन् । त्यहाँ एउटा मात्र कोठा छ, हल भन्न मिल्ने । कोठाका दराज पुस्तकले भरिएका छन् । भुइँमा पनि पुस्तक नै थुपारिएका छन् । कोठाको एउटा कुनामा कम्प्युटर छ । तर, उनी कम्प्युटर चलाउँदैनन् । उनीसँग पुरानो ल्यापटप छ । र ल्यापटप राख्ने होचो टेबल ।

टेबल ओछ्यानमाथि राखेर प्रयोग गर्न सकिन्छ । उनी यही टेबलमा ल्यापटप राखेर सोचिबस्छन् । अथवा किताब राखेर घोत्लिबस्छन् । यो साधारण टेबल होइन । ३३ वर्षदेखि उनीसँग छ । उनले लेखेका ४० मध्ये करिब ३० वटा पुस्तक यही टेबलबाट जन्मिए । अरू १० वटा पाण्डुलिपि तयार छन् ।

०००
०७३ सालमा ‘पण्डित कृष्णप्रसाद शर्मा वस्ती स्मृतिग्रन्थ’ प्रकाशित भयो । यो ११९० पेजको पुस्तक डा. गोविन्दराज भट्टराईले नै सम्पादन गरेका थिए । सम्पादन गर्न तीन वर्ष लाग्यो । वस्ती डा. भट्टराईका ससुरा पनि हुन् । ससुराको नाममा निस्कने पुस्तक सम्पादन गर्न उनी तीन वर्ष त्यही टेबलमा घोत्लिए । 

उनका अहिलेसम्म चार उपन्यास, ६ यात्रा संस्मरण र आठवटा समालोचनाका पुस्तक प्रकाशित छन् । अनुवाद, यात्रासाहित्यलगायत पुस्तक पनि छन् । उनको ०६३ मा प्रकाशित ‘सुकरातका पाइला’ उपन्यास निकै चर्चित भयो । यो उपन्यास पनि यही टेबलमा लेखेका थिए ।

त्यसो त उनले भूमिका लेखिदिएका पाँच पुस्तकले मदन पुरस्कार पाएका छन् । पाँचैवटाको भूमिका यही टेबलमा लेखे । जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, महेशविक्रम शाहको ‘छापामारको छोरो’लगायत पुस्तकको भूमिका उनले नै लेखेका हुन् । 

यो टेबलमा लेखेको पहिलो पुस्तक भने ‘काव्यिक आन्दोलनको परिचय’ हो । ०४७ सालमा लेखेका थिए । तर, प्रकाशनचाहिँ ०४९ सालमा भयो । डा. भट्टराईका तीन प्रकारका पुस्तक छन् । मौलिक, अनूदित र समालोचनाका कृति । उनले सम्पादन गरेका र अंग्रेजी सिद्धान्तका पुस्तक पनि छन् । सबै गरेर ४० भन्दा बढी पुगेको उनको अनुमान छ । त्यसबाहेक अंग्रजीका गाइड पनि धेरै लेखे, यही टेबलबाट । गाइडलाई भने उनी महत्व दिँदैनन् । हुन त पुस्तकको संख्या ठूलो कुरा होइन । ‘थोरै र गुणस्तरीय हुनुपर्छ,’ उनी भन्छन् । 

उनी आफैंले भने धेरै संख्यामा पुस्तक लेखिसकेका छन् । अंग्रेजीका पुस्तक ल्यापटपमा लेख्छन् । नेपालीका पुस्तक डायरीमै कलमले लेख्छन् । उनले लेखेका नेपाली पुस्तकका पाण्डुलिपि (डायरी) सबै सुरक्षित छन् । उनी नेपाली टाइप गर्न नसक्ने होइन । तर, अक्षर खोजिरहनुपर्दा लेखनमा ध्यान भंग हुने कारण डायरीमा लखेको बताउँछन् । उसो त कपीमा लेख्ने उनको नानीदेखिको बानी पनि हो ।

लेखिसकेका डायरी टाइप गर्न मिलन पौडेल प्रत्येक दिन उनको घरैमा आउँछिन् । डा. भट्टराईको परिवार उनलाई ‘आन्टी’ सम्बोधन गर्छन् । भट्टराईलाई भेट्न जानेहरू पनि उनलाई ‘आन्टी’ नै भन्छन् । आन्टी करिब १० वर्षदेखि त्यहाँ आएर टाइप गरिदिने गर्छिन् । त्यसअघि कौशल खाकीले डा. भट्टराईका पाण्डुलिपि टाइप गरिदिन्थे । करेक्सन गर्ने र पुस्तकको डिजाइन गर्ने पनि गर्थे । उनका पुस्तकको डिजाइन उनी घरमै गराउँछन् । अनि मात्र प्रेसमा पठाउँछन् ।

०००
डा. भट्टराईको अहिले पनि धनकुटाका बेलबहादुरसँग आक्कलझुक्कल भेट हुन्छ । बेलबहादुरको थर त बिर्ससके । भेटमा पनि सोधेका छैनन् । तर, उनी तिनै मिस्त्री हुन्, जसले टेबल बनाइदिएका थिए ।

केही वर्षअघि काठमाडौं आउँदा बेलबहादुर उनको घर आए । गत वर्ष उनले पनि धनकुटा जाँदा बेलबहादुरलाई भेटे । यो त्यही टेबलले जोडेको साइनो हो ।

०४२ सालमा उनी धनकुटा बहुमुखी क्याम्पस पढाउँथे । डेरामा अग्लो टेबल थियो । टेबल प्रयोग गर्न कुर्सीमा बस्नुपर्ने । कुर्सीमा खुट्टा खसालेर बस्दा उनलाई लेख्न पढ्न असहज हुन थाल्यो । ध्यान केन्द्रित पनि नभएजस्तो । जाडोमा कुर्सीबाट खुट्टा झारेर बस्दा चिसोले सताउने । ओछ्यानमै बसेर प्रयोग गर्ने प्रकारको टेबल बनाउने विचार गरे ।

धनकुटा सिरानबजारका बेलबहादुर काठको काम गर्थे । उनले बेलबहादुरलाई आफ्नो आवश्यकता बताए । बेलबहादुरले टेबल बनाएर घरमै ल्याइदिए । डा. गोविन्दराज भट्टराईले टेबलका लागि कति रुपैयाँ तिरे भन्ने त बिर्सिए । ‘चार–पाँच सय तिरेँ कि !’ उनी भन्छन् ।

टेबल उत्तिसको हो । तीन दशकभन्दा बढी प्रयोग गर्दा एक–दुईपटक मात्र रंग्याएका छन् । पहिला डेरामा ठाउँ पनि थोरै लिने हुनाले थन्क्याउन सजिलो थियो । हिउँदमा ब्ल्यांकेट घुसारेर पढ्न मिल्ने । त्यहीकारण जहाँ गए, टेबल लिएरै हिँडे । 

उनी ०४८ सालमा धनकुटाबाट त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर सरुवा भए । कलंकीमा डेरा बसे । टेबल लिएरै आएका थिए । कलंकीमा दुईपटक डेरा सर्दा टेबल पनि साथै थियो । 

उनी ०५१ सालमा अनुवाद विषयमा पिएचडी गर्न हैदराबाद विश्वविद्यालय भारत गए । सँगै श्रीमती अञ्जना पनि पिएचडीका लागि गइन् । त्यतिवेला टेबल भाइबहिनीलाई छाडिदिए । 

अनुवाद विषयमा पिएचडी गर्ने उनी पहिलो नेपाली हुन् । उनी अनुवादका नमुनायोग्य काम गर्न चाहन्छन् । गरिरहेका छन् । कहिलेकाहीँ उपन्यास, नियात्रा, अनुवाद, समालोचनामा सबैमा विभाजन पो भएँ कि भन्ने ठान्दा रहेछन् । तर, आफूले जानेको ज्ञान बाँड्नुपर्ने उनको तर्क छ ।

‘समालोचकहरूले खाली पुराना सिद्धान्त घोटाएर, थोत्रा लुगा भिराएर सिर्जनात्मकता नै समाप्त गर्न लागे, अनि नयाँ समयमा नयाँ चेतना चाहिन्छ भनेर समालोचनामा गएँ,’ उनी भन्छन् । समालोचनाका सिद्धान्तमा अडेर काम गर्न सक्ने समालोचक औँलामा गन्न सकिने मात्र भएको उनको तर्क छ । आफूभन्दा अघिका यदुनाथ खनाल, रामकृष्ण शर्मा, ईश्वर बराल, ताना शर्मा, अभि सुवेदीलगायत केही मात्र समालोचनामा अब्बल रहेको उनी बताउँछन् । उनीहरूले नै पाश्चात्य सिद्धान्तलाई नेपाली साहित्यमा प्रयोग गरेको उनको भनाइ छ । पिएचडी सकेर उनी ०५५ सालमा फर्किए । कलंकीको उही डेरामा बस्न थाले । उही टेबलमा घोत्लिएर समालोचना र अनुवादका पुस्तक प्रकाशन गरे ।

०५६ सालमा उनीहरूले कीर्तिपुरको ट्याग्ंलाफाँटमा घर बनाए । धनकुटादेखि यात्रारत टेबलले यहाँ आएपछि मात्र विश्राम पायो ।

०००
यो टेबल उनको बुबालाई पनि अति मन परेको थियो । बुबा पाँचथरबाट झापा बसाइँ सरिसकेका थिए । झापास्थित घरमा काठ त्यसै खेर गइरहेको थियो, त्यो पनि सिसौको । काठमाडौं बस्ने अरू तीन भाइ छोरालाई पनि बुबाले टेबल बनाएर पठाइदिए । तर, ती टेबल सिसौका भएकाले निकै गरम थिए । उत्तिसको टेबलजस्तो उठाएर एक ठाउँबाट अर्को ठाउँ सजिलै लैजान नसकिने । त्यसकारण दुई भाइ नारायण र देवेन्द्रले लामो समय प्रयोग गरेनन् । जेठो दाइ खगेन्द्रले भने बुबाले पठाइदिएको टेबल अझै प्रयोग गरिरहेका छन् ।  

उनको टेबल बुबाले पठाइदिएका सिसौको टेबलभन्दा धेरै भिन्न छ । यो टेबलको ठीकमुनि बक्सा छ । टेबलको माथिल्लो भाग नै बक्साको ढोका पनि हो । बक्साभित्र कलम, मसी, कापीलगायत सामान राख्छन् । अचेल भने चकलेट पनि राखेका हुन्छन् । लेख्दा अथवा पढ्दा ध्यान भंग भए चकलेट खान्छन् । 

टेबलमा फोन नम्बर लेखेका कागज पनि टाँस्छन् । त्यसको उपयोगिता सकिएपछि उप्काउँछन् । जसले गर्दा टेबल अलि फोहोरजस्तो देखिएको छ । ‘यसलाई अब फेरि रङ लगाउने वेला भएको छ, यो अहिले पनि उत्ति नै बलियो छ,’ उनी भन्छन् ।

बुढेसकाल लाग्दै जाँदा टेबल झन् धेरै उपयोग भएको उनको अनुभव छ । ‘ओछ्यानमा बस्दा त निद्राले लठ्याउन थालिहाल्छ, यसमा घोप्टो परेर लेख्न पनि मिल्छ,’ उनी भन्छन्, ‘अब त मेरो भावनात्मक मूल्य जोडियो, टेबल पछि मेरो म्युजियममा राखियोस् भन्ने चाहना छ ।’

हो, उनलाई आफ्नो म्युजियम भइदिओस् भन्ने लागेको छ । म्युजियममा राख्न टेबल मात्र छैन । उनले लेखेका पाण्डुलिपि पनि छन् । उनलाई टेबलजत्तिकै महत्वपूर्ण लाग्ने १६ वर्ष पुरानो सुटकेस पनि छ । यो सुटकेस झन्डै १२ देश डुलेको उनी बताउँछन् । ‘परिवारले त नयाँ सुटकेस लैजान भन्छन्, तर मलाई यो नै सजिलो लाग्छ,’ उनी भन्छन् ।