१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार ०८:४६:००
Read Time : > 2 मिनेट
सेयर बजार

मंगलबारको सेयर बजार करिब स्थिर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार ०८:४६:००

सोमबार ६ अंक उकालो लागेर बन्द भएको नेप्से मंगलबार भने करिब स्थिर रहेको छ । दिनभरि उतारचढाव भए पनि अन्तिम समयमा अघिल्लो दिनको अन्तिम बिन्दुतिरै आएर बन्द भएको छ । बजार खुलेको केही समयसम्म नेप्से उकालो लागेको थियो । तर, बजार बढेको मौकामा लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेपछि बजार ओरालो लागेको एक ब्रोकरले बताए । नेप्से ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन बजारमा लगानीकर्ता सक्रिय रहेको ब्रोकरको भनाइ छ । केही समयका लागि बिक्री चाप बढे पनि समग्रमा बजारमा खरिद बिक्री चाप सन्तुलनमा रहेको उनीहरूको भनाइ छ । 

आधारभूत विश्लेषण 
मंगलबार नेप्से परिसूचक शून्य दशमलव ४० अंक घटेर १ हजार १ सय ७७ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव शून्य ९ अंक घटेर २ सय ४९ दशमलव ८४ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६० कम्पनीको ३ हजार ५ सय ७३ पटकको कारोबारमा ३४ करोड २७ लाख ८६ हजार ५ सय ९६ रुपैयाँबराबरको ११ लाख ९ हजार २० कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४९ दशमलव १३ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ८८९ रहेको छ । यसले बजार वियरिस ट्रेन्डमा रहेको संकेत गर्छ । यस दिन ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको घटेको छ । बाँकी २४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

 सर्वाधिक कमाउने आरम्भ
आरम्भ माइक्रो फाइनान्स वित्तीय  संस्था लिमिटेडका लगानीकर्ताले यस दिन १० प्रतिशतको हाराहारीमा कमाएका छन् । कम्पनीले १० बराबर ७ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ । एनएमबि माइक्रो फाइनान्सको सेयर मूल्य यस दिन ६ दशमलवम ८ प्रतिशत घटेको छ । कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ४९ पटकको कारोबारमा ८ करोड ८६ लाख ६१ हजार रुपैयाँबराबरको २ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 ४ समूहको परिसूचक बढ्यो, बाँकीको घट्यो
मंगलबार कारोबारमा आएको ४ समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २३ प्रतिशत, अन्य समूहको शून्य दशमलव १४ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव ११ प्रतिशत बढेको छ । 

होटेल समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ६७ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव २ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव १८ प्रतिशत, वित्त समूहको शून्य दशमलव १४ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ । 


 छिमेकको सेयर बाँडफाँड तथा रकम फिर्ता भुक्तानी
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २३ गते सेयर बाँडफाँड गरेको छ । छिमेक समाजसेवाको नाममा रहेको कम्पनीको संस्थापक समूहको सेयर सो दिन बाँडफाँड गरेको हो । छिमेक समाजसेवाले आफ्नो नाममा रहेको छिमेक लघुवित्तको ५ लाख २३ हजार ६६ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री गरेको थियो । बाँडफाँडमा नपरेको सेयरबापतको रकम सेयर नामसारीको कार्य सम्पन्न भएपश्चात् आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

 सिद्धार्थको नगद लाभांश बैंक खातामा
सिद्धार्थ बैंक लिमिटेडले ८ दशमलव १६ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्ने भएको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा सो नगद लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो । सबै सेयरधनीको नगद लाभांश बैंक खातामा नै जम्मा गरिने भएकाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई शीघ्र बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । पुस २३ गते सम्पन्न बैंकको साधारणसभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

 मिथिलाको बुक क्लोज
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले २ बराबर १ अनुपातमा ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । पुस ३० गतेसम्म कायम सेयरधनीले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर रजिस्ट्रार काठमाडौं क्यापिटल लिमिटेड रहेको छ । 

कालिका लघुवित्तको साधारणसभा
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १९ गते होटेल भेनस, भकुन्डे, स्याङ्जामा नवौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ८ प्रतिशत बोनस सेयर, ४ लाख २१ हजार ४३ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने, बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, मर्जर अथवा एक्विजिसन, संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २९ गतेदेखि माघ १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।