मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नक्सापास नगरी बनाइएको वीर अस्पतालको नयाँ भवन । तस्बिर :अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १४ मंगलबार १०:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

वीर अस्पतालको नयाँ भवनकै छैन नक्सापास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १४ मंगलबार १०:२२:००

मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सापास नगरी बनाइएको छ । भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरिएको छैन ।हाल वीर अस्पताल रहेकै स्थानमा १७ रोपनी क्षेत्रफलमा गत वर्षको असारदेखि भवन निर्माणाधीन छ । भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको छ ।

कानुनअनुसार भवन निर्माण गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट नक्सापास र इआइए गराउनुपर्छ । काठमाडौं महानगरपालिका– २७ का अनुसार पटकपटकको ताकेतापछि पनि वीर अस्पताल प्रशासन र भवन विभागले अटेर गरेर नक्सापास तथा इआइए गराएका छैनन् ।

वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भवन निर्माण भएको वर्ष दिन बितिसक्दा पनि वीर र भवन विभागले नक्सापास नगरेको बताए । ‘वडामा नयाँ अस्पताल बनेको छ । त्यो वडाका लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘तर, यो भवनको नक्सापास भएको छैन, न इआइए परीक्षण नै गरिएको छ । सरकारकै यति जिम्मेवार निकायले किन नक्सापास नगरी यति ठूलो भवन बनायो, बुझ्न सकिएको छ । यसका लागि हामीले पटकपटक ताकेता गरेका छौँ । तैपनि उनीहरू अटेर गरेर बसेका छन् ।’

दुई अर्ब तीन लाख रुपैयाँको लागतमा ३० महिनामा सक्ने लक्ष्यका साथ ०७५ को असारबाट नौतले भवन निर्माण सुरु गरिएको हो । पाँच सय शैय्याको अस्पतालमा १७ वटा अपरेसन थिएटर रहने बताइएको छ । 

नक्सापास नहुँदा ढल निकासमा समस्या 
काठमाडौं महानगरपालिका– २७ का अनुसार भवनको नक्सापास नभएकाले ढल व्यवस्थापनमा समेत समस्या आएको छ । अस्पतालले ढल तथा खानेपानीको प्रबन्ध कसरी गरेको छ भन्नेबारे वडालाई थाहा नभएको अध्यक्ष बज्राचार्यले बताए । ‘भवन त नक्सापास नगरी निर्माण भयो । ढल तथा खानेपानीको प्रबन्ध त वडाले गर्ने हो । यसको प्रबन्ध कसरी गरिएको छ वडालाई जानकारी त चाहियो नि ! नक्सा नै पास नगरी यसको जानकारी कसरी हुन सक्छ ?’ उनको प्रश्न छ । 

भवन विभाग भन्छ– अस्पतालको काम यति छिटो होला भन्ने लागेकै थिएन 
भवन निर्माणका लागि प्राविधिक सहयोग गर्ने काम भवन विभागको हो । नक्सापास र इआइए गर्ने सम्पूर्ण काम विभागकै हो । यसको जिम्मा विभागअन्तर्गतको डिजाइन तथा निर्माण शाखामा छ । शाखाका प्रमुख मचाकाजी महर्जनले भने निर्माणकार्य द्रुत गतिमा भएकाले नक्सापास गर्न नसकिएको बताए । ‘हामीले वीर अस्पतालको भवन निर्माण यति दु्रत गतिमा बढ्छ भन्ने सोचेकै थिएनौँ,’ उनले भने, ‘निर्माणसँगसँगै नक्सापास र इआइए गरौँला भनेका हौँ । भवन लगभग सकिन लाग्यो । तर, नक्सापास हुन सकेन । हामीले नक्सा नै पास नगर्ने भनेको होइन । यसको प्रक्रिया अघि बढेको छ । कानुनअनुसार नै चाँडै भवनको नक्सापास गर्नेछौँ ।’

शाखा प्रमुख महर्जनले भवन निर्माणको सन्दर्भमा कानुनी प्रक्रिया पूरा नभए पनि प्राविधिक मापदण्ड भने सबै पूरा गरिएको बताए । ‘कानुनी मापदण्ड पूरा नगरिएको साँचो हो । यसको अर्थ प्राविधिक मापदण्ड पूरा नगरेको भन्ने होइन । रितपूर्वक बाँकी काम पनि पूरा गर्छौँ,’ उनले भने । वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीले भवनको नक्सापास गर्न बाँकी रहेको, तर प्रक्रिया अघि बढेको बताए । उनले केही दिनभित्रै प्रक्रिया पूरा हुने दाबी गरे ।