दसैंका कारण व्यस्त न्युरोडको फुटपथमा सोमबार मध्यान्हमा स्पिकरको भोल्युम घटाउँदै एक जोडी कुरा गर्दै थिए । ‘खाजा के खाने ? मःम कि चाउमिन ?’ हँसिलो अनुहार लगाउँदै श्रीमतीले जवाफ फर्काइन्, ‘मःम !’ दुवै आँखा नदेख्ने उपेन्द्र पासवानले पकेटबाट पैसा झिक्छन् । नोटको लम्बाइ नापेर मःमका लागि पैसा छुटयाउँछन् ।
जन्मेको तीन वर्षपछि बिरामी भएर आँखा देख्न छाडेका ३० वर्षीय पासवानले बाल्यकाल बिताए, रौतहट चन्द्रनिगाहपुरमा । नौ वर्षको उमेरमा उनी काठमाडौं आए । त्यसै समयदेखि उनको सडक–जिन्दगी सुरु भएको हो । सुरुमा खाली हात फैलाएर माग्न सुरु गरेका उनले पछि मादल बजाएर गाउन थाले । अनि कमाइ पनि बढ्दै गयो । उनको आत्मविश्वास पनि बढ्दै गयो ।
साथीभाइको चिनजानमा भक्तपुर निवासी ३४ वर्षीय सीता परियारसँग जोडी बाँधे । सीता पनि टाइफाइड भएर दुवै आँखाको दृष्टि गुमाएकी थिइन् । सीतासँग दुई महिनाअघि विवाह बन्धनमा बाँधिएपछि उनको माग्ने शैली झन् फेरियो । अहिले सीता स्पिकरमा गीतको ट्रयाक बजाएर गाउँछिन । प्रविधिले कमाइमा सजिलो भएको यी जोडी बताउँछन् ।
देशकाे प्रधानमन्त्रीले सोमबार सडकमा ‘कोही भिखमंगा नरहने’ घोषणा गरे । पासवानलाई पनि मागेर खान मन छैन । भन्छन्, ‘काठमाडौंमा हामी (दृष्टिविहीन) मैत्री बाटो छैन, हिँड्दा यताउता ठोकिन्छ । ठोकिएपछि अमानवीय गाली सहनुपर्छ ।’ उनलाई कुनै आश्रममा गएर अरुको कर्कश सहेर बस्न मन पनि छैन । आफू जन्मिएको रौतहटमा काम गर्ने र बस्ने व्यवस्था मिलाइदिए घरजम गरेर बस्ने मन भएको उनी सुनाउँछन् ।
०००
राजधानी काठमाडाैंको मुटु मानिने न्युरोडको दुई सय मिटर फुटपाथमा मःम किन्ने सुरमा हिँडेका पासवानले गर्नु परेको संर्घषको फोटोकथा :