मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १२ आइतबार ०९:२८:००
Read Time : > 3 मिनेट
सेयर बजार

‘फेस्टिभ मुड’ मा लगानीकर्ता

Read Time : > 3 मिनेट
२०७६ असोज १२ आइतबार ०९:२८:००

गत साता नेप्से परिसूचक सुस्त रहेको छ । पाँच कारोबार दिनका लागि खुलेको बजारमा ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने १ कारोबार दिनका लागि बढेको छ । अघिल्लो साताको दुई कारोबार दिन बजार उच्च अंक बढेका कारण यस साताको पहिलो कारोबार दिन अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका थिए । फलस्वरूप नेप्से परिसूचक १६ अंक घटेको थियो । अन्य कारोबार दिन बजार सुस्त रहेको थियो । 

गत साता लगानीकर्ता ‘फेस्टिभ मुड’मा रहेको एक ब्रोकरले बताए । नजिकिँदै गरेको दसैँको प्रभाव गत साता बजारमा परेको हो । बजार लामो समयदेखि सुस्त गतिमा रहेको छ । सोही कारण अधिकांश लगानीकर्ता दसैंअघि सेयरबजारमा लगानी नगर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । हरेक वर्ष दसैंअघि बजार सुस्त गतिमा रहने गरेको छ । सूचीकृत कम्पनीहरूले गत आवको लाभांश घोषणा गर्ने क्रम जारी छ । केही कम्पनीले लाभांश पारित गर्न साधारणसभाको मिति तोकिसकेका छन् भने केहीले पारित पनि गरिसकेका छन् । यस्तो समयमा पनि बजार नबढे पनि लगानीकर्ता दसैंअघि लगानी नगर्ने निर्णयमा पुगेको एक लगानीकर्ताले बताए । केही लगानीकर्ता भने दसैँ खर्च जुटाउन सेयर बिक्री गरिरहेका छन् भने केही लगानीकर्ता सस्तोमा सेयर खरिद गरिरहेका छन् । 

बजार सारांश
गत साता नेप्से परिसूचक २५ दशमलव ५० अंक घटेर १ हजार १ सय २९ दशमलव ८० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता ४ दशमलव ८९ अंक घटेर २ सय ४७ दशमलव ३२ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स १ दशमलव ९८ अंक घटेर ८३ दशमलव ५७ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ७९ अंक घटेर ७९ दशमलव ४३ बिन्दुमा पुगेको छ । सो साता १ सय ९० कम्पनीको २३ हजार ७ सय ५२ पटकको कारोबारमा ९९ करोड ९९ लाख १६ हजार ५ सय ३९ रुपैयाँबराबरको ४० लाख २८ हजार १ सय ५९ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ३३ दशमलव ५७ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव १८ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । सो साता कारोबारमा आएका १ सय ८९ कम्पनीमध्ये १ सय ४१ कम्पनीको सेयरमूल्य घटेको छ भने २६ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । बाँकी २२ कम्पनीको सेयरमूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३८ दशमलव ७१ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय १९ दशमलव ५३ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार १ सय ९ दशमलव २५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ४८ दशमलव ९९ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ६८ दशमलव १७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सर्वाधिक गुमाउने सिर्जना फाइनान्स
गत साता कारोबारमा आएको सिर्जना फाइनान्सको सेयरमूल्य सर्वाधिक २२ प्रतिशत घटेको छ । सो कम्पनीको ६० प्रतिशत हकप्रद सेयर समायोजनका कारण सेयरमूल्य घटेको हो । सो कम्पनीको सेयरमूल्य गत साता ५५ रुपैयाँ घटेर १ सय ९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सो साता जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, आइएमई जनरल इन्स्योरेन्स र आँखुखोला जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ । त्यसैगरी, गत साता सामता माइक्रोफाइनान्स वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ । सो साता खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको १८ दशमलव ३७ प्रतिशत बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । 

करिब १३ करोड कित्ता सेयर सूचीकृत
गत साता ४ कम्पनीले कुल १२ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँबराबरको ८६ कित्ता सेयर खरिद–बिक्री भएको छ । सो साता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले १२ करोड इकाइ सूचीकृत गरेको छ । त्यसैगरी, सो साता लुम्बिनी विकास बैंकले ३७ लाख ७१ हजार ९ सय ७२ दशमलव ३६ कित्ता, सिद्धार्थ इन्स्योरेन्सले १३ लाख ४० हजार ८ सय १६ कित्ता र सगरमाथा इन्स्योरेन्स कम्पनीले ४६ लाख २९ हजार ३ सय १० कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।

१० समूहको परिसूचक घट्यो
गत साता कारोबारमा आएका १२ समूहमध्ये २ समूहको मात्र परिसूचक बढेको छ भने १० समूहको परिसूचक घटेको छ । सो साता व्यापार समूहको परिसूचक ४ दशमलव ६४ अंक र अन्य समूहको १ दशमलव ६७ अंक बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक गत साता सर्वाधिक १ सय ८४ दशमलव ५२ अंक घटेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक १ सय २५ दशमलव ९६ अंक, उत्पादनमूलक समूहको ९० दशमलव २४ अंक, होटेल समूहको ४५ दशमलवम ६७ अंक, जलविद्युत् समूहको ४० दशमलव ८७ अंक र लघुवित्त समूहको ३८ दशमलव ३२ अंक घटेको छ । विकास बैंक समूहको परिसूचक सो साता २८ दशमलव २९ अंक, वाणिज्य बैंक समूहको १८ दशमलव ६५ अंक, वित्त समूहको १० दशमलव शून्य ४ अंक र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य ६ अंक घटेको छ । 

सर्वाधिक कारोबार हुनेमा सानिमा बैंक
गत साता कारोबार रकम र सेयर संख्याका आधारमा सानिमा बैंक लिमिटेडअगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता ४ सय ७४ पटकको कारोबारमा ६ करोड १६ लाख ७७ हजार २३ रुपैयाँबराबरको १ लाख ७७ हजार ५ सय २३ कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले २१ प्रतिशत लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्नेछ । बुक क्लोज मिति नजिकिएका कारण लगानीकर्ता सो बैंकतर्फ आकर्षित भएका हुन् । त्यसैगरी, शिवम् सिमेन्ट्स र प्रभु बैंकको कारोबार रकम ४ करोड नाघेको छ । गत साता कारोबार संख्याका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ । रसुवागढी हाइड्रोपावरको सो साता २ हजार १ सय ९१ पटक र सान्जेनको २ हजार १ सय ५ पटक सेयर कारोबार भएको छ । 

फर्स्टको साधारणसभा
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २८ गते आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा दशौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १७ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनका लागि शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने र लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

समता लघुवित्तको लाभांश 
समता लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।