मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असोज १२ आइतबार ०७:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

एमबिबिएसको प्रवेश परीक्षामा केयूको चरम लापरबाही, २५० विद्यार्थीको नतिजा परिवर्तन

Read Time : > 1 मिनेट
२०७६ असोज १२ आइतबार ०७:१४:००

काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षामा चरम लापरबाही भएको पाइएको छ । विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजले लिएको प्रवेश परीक्षामा दुई सय ५० भन्दा बढी विद्यार्थीको नतिजा नै परिवर्तन गरिएको छ । एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजामा विश्वसनीयता नै नभएपछि विद्यार्थी आक्रोशित भएका छन् ।विश्वविद्यालयले छात्रवृत्तिसमेतका लागि लिएको प्रवेश परीक्षाको नतिजा ४ असोजमा सार्वजनिक गरेको थियो । तर, नतिजामा विद्यार्थीले चित्त बुझाएनन् । त्यसैले रिटोटलिङ गर्दा शुक्रबार पुनः अर्को नतिजा सार्वजनिक भएको थियो । जसमा, करिब दुई सयजनाको नतिजा हेरफेर भएको छ । पहिलो नतिजामा उच्च अंकसहित पास भएका विद्यार्थी दोस्रोमा फेल भएका छन् भने पहिले फेल भएका विद्यार्थी दोस्रोमा उच्च अंकसहित पास भएका छन् । 

६ हजार आठ सय विद्यार्थीले परीक्षा दिएकामा पहिलोपटक चार हजार ६ सय ४८ जना पास भएका थिए । नतिजामा चित्त नबुझाएका करिब एक हजार विद्यार्थीले रिटोटलिङ गरेका थिए । रिटोटलिङपछि प्रकाशित नतिजामा भने चार हजार चार सय ८९ जना मात्र पास भएका छन् । 

केयूले पहिलोपटक प्रकाशित गरेको नतिजामा मोहम्मद नसिर फेल भएका थिए । दोस्रो नतिजामा उनको ७४ नम्बर आएको छ । उनले अहिले पनि आफ्नो नतिजामा चित्त बुझाएका छैनन् । ‘केयूको रिजल्टमा अहिले पनि विश्वास गर्न सकिने अवस्था छैन । मेरो ८५ भन्दा बढी आउनुपर्छ, मजस्ता धेरै साथी पीडित भएका छन्,’ उनले भने । कतिपयको अंक घटेको पनि छ । अमृत खनालको पहिले ७१ आएकोमा पछिल्लोमा ६४ आएको छ । 

काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजमा एक सय १० विद्यार्थीले छात्रवृत्ति पाउँछन् । छात्रवृत्तिमा पढ्न पाउने आशामा वर्षौँदेखि तयारी गरेका विद्यार्थी विश्वसनीय नतिजा नआएपछि निराश र आक्रोशित भएका छन् । 

छानबिन गरी कारबाही गर्न माग
चिकित्सा शिक्षाका विद्यार्थीले काठमाडौं विश्वविद्यालयबाट भएको लापरबाहीको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । चिकित्साशास्त्र संघर्ष समितिले संवेदनशील विषयमा लापरबाही भएको भन्दै आपत्ति जनाएको छ । संघर्ष समितिका प्रवक्ता तथा काठमाडौं युनिभर्सिटी मेडिकल स्टुडेन्ट वेलफेयर काउन्सिलका अध्यक्ष सुजन कडरियाले भने, ‘प्राविधिक त्रुटि हो भने केयूले यस्तो संवेदनशील विषयमा विज्ञप्तिसमेत किन निकालेन ? कसले किन बदमासी ग¥यो, छानबिन गरी कारबाही गर्नुपर्छ ।’ उनले केयूमा पहिलोपटक यति ठूलो गल्ती भएको बताए । 

पाँचजनाले अर्कैको नम्बरमा परीक्षा दिएछन् : प्रा.डा. रोजेन्द्र कोजू,
डिन, स्कुल अफ मेडिकल साइन्सेज, केयू

प्रवेश परीक्षाको नतिजा आइसकेपछि हजारजनाले रिटोटलिङका लागि आवेदन दिए । किन यति धेरैले आवेदन दिए भनेर हामीले छानबिन गरेका थियौँ । छानबिन गर्दा पाँचजनाले आफूले पनि फर्म भरेका, तर परीक्षा भनेको अर्काको नम्बरमा दिएको पायौँ । पाँचजनाको दुईवटा सिम्बोल नम्बर भयो । त्यो मिलाउँदा दुई सय ५० जनाको नतिजा तलमाथि भएको छ । पास भएका फेल भए र फेल भएकाहरू केही पास भएका पनि छन् । पाँचजनाको कारण अरूलाई पनि समस्या भयो । 

बाहिरियो प्रश्नपत्र
काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षाबाट प्रश्नपत्र बाहिरिएको छ । परीक्षासम्बन्धी नियममा कुनै पनि प्रश्नपत्र विद्यार्थीले बाहिर लैजान नपाउने व्यवस्था छ । तर, विद्यार्थीमार्फत प्रश्नपत्र बाहिरियो । ‘विद्यार्थीले प्रश्नपत्र बुझाएर निस्कनुपर्छ, प्रश्नपत्र बाहिरिनु भनेको परीक्षा फितलो हुनु हो,’ केयूका एक प्राध्यापकले भने । परीक्षा चलिरहँदा प्रश्नपत्र बाहिरिएको हो वा सकिएपछि भन्ने चाहिँ छानबिनपछि थाहा हुने उनले बताए ।