मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
शान्ता कमली
२०७५ पौष २५ बुधबार ०६:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मनाङमा एकै वर्ष १० करोडको स्याउ फल्यो

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ पौष २५ बुधबार ०६:२२:००

यस वर्ष मनाङमा करिब १० करोडबराबरको स्याउ उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) मनाङका अनुसार ४ गाउँपालिकाको ९८ हेक्टर क्षेत्रफलमा  एकै वर्ष करिब १० करोडको स्याउ फलेको हो ।  मनाङमा २ सय ७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका प्राविधिक सहायक युवनकुमार सुनुवारले बताए ।

मनाङको प्रमुख नगदेबाली स्याउ हो । मनाङ सदरमुकाम चामेसँगै ताचै, पिसाङ, भारताङ, थान्चोक, दानाक्यु, तिल्चे, हुम्डे, मनाङलगायतका दर्जनौँ स्थानमा ठूलो परिमाणमा स्याउ उत्पादन हुँदैआएको छ । यसवर्ष ९८ हेक्टर जमिनमा ९ सय ९० मेट्रिकटन स्याउ उत्पादन भएकामा मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङको एग्रो मनाङ प्रालिले मात्रै ४ सय मेट्रिक टन उत्पादन गरेको छ । 

स्याउका बिरुवा वितरण गर्न साढे दुई करोड 
मनाङमा गोल्डेन डेलिसियस, गाला, फुजी र रेड तथा रोयल डेलिसियस नामक स्याउ फल्छन् । मनाङमा उत्पादित स्याउ सामान्यतया प्रतिकिलो एक सयदेखि १ सय ८० रुपैयाँसम्ममा बिक्री हुने किसानहरूले बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका प्रमुख कृषि अधिकृत सिलवालका अनुसार वर्णशंकर प्रजातिको स्याउलाई बढवा दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवथापन इकाइ खुमलटारबाट मनाङमा २५ हजार बिरुवा वितरण गर्न दुई करोड ५० लाख बजेट स्वीकृत भएर आएको छ । 

अघिल्लो वर्षभन्दा ८० मेट्रिक टन बढी फल्यो 
अघिल्लो वर्ष मनाङमा ८९ हेक्टर क्षेत्रफलमा ९ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस्तै, आव ०७३/७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आव ०७२/७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६ सय ६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

मनाङमा उत्पादन हुने स्याउमध्ये २ सय ९० मेट्रिक टन जिल्लामा नै खपत हुन्छ भने बाँकी ७ सय मेट्रिक टन जिल्लाबाहिर निर्यात हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका अधिकृत राजेश्वर सिलवालले बताए । उनका अनुसार मनाङका बासिन्दाले आफ्ना बारीमा उत्पादित स्याउलाई सुकुटी र घरेलु मदिराका रूपमा समेत प्रयोग गर्दै आएका छन् ।स्याउ जोनका कृषि अधिकृत सिलवाल भन्छन्, ‘मनाङको एकमात्र नगदेबालीका रूपमा लिइएको स्याउ यसअघि ढुवानीका कारण स्थानीयले खासै आम्दानी गर्न सकेका थिएनन्, तर अघिल्लो वर्षदेखि किसानहरूले बाहिरी जिल्लामा पनि स्याउ निर्यात गर्न थालेका छन् ।’