१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज १० शुक्रबार ०६:५०:००
Read Time : > 1 मिनेट
समाचार

नेपाल–चीन सीमा क्षेत्रका अधिकारीको बैठक : रसुवागढी नाका व्यवस्थित बनाइने

Read Time : > 1 मिनेट
२०७६ असोज १० शुक्रबार ०६:५०:००

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीलाई व्यवस्थित बनाउन दुई देशका अधिकारीबीच छलफल भएको छ । मंगलबार चीनको केरुङमा नेपाल र चीनका अधिकारीबीच त्यस्तो छलफल भएको हो । 

सीमा क्षेत्रमा अवैध रूपमा हुन सक्ने आवागमनलाई रोक्ने विषयमा दुई देशका अधिकारीबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । उनले भने, ‘सीमा क्षेत्रबाट हुने विभिन्न तस्करीलगायत अवैध व्यापारिक गतिविधि नियन्त्रण गर्न तथा नाकालाई व्यवस्थित गर्न छलफल भएको छ ।’ अन्य जिल्लावासीका लागि एक दिने पास तथा केरुङ जानका लागि ट्रक, कन्टेनर सवारीचालकका लागि १५ दिने अस्थायी पास उपलब्ध गराउन नेपाली पक्षबाट आग्रह गरिएको उनले बताए । 

चाडपर्वमा थप सुविधा माग
मालवस्तु ढुवानीका लागि केरुङ पुग्ने ट्रक, कन्टेनरचालक र सीमा क्षेत्रमा काम गर्ने नेपाली तथा चिनियाँ सुरक्षाकर्मीलाई दुवै देशको भाषासम्बन्धी आधारभूत ज्ञान आवश्यक रहेकाले उपलब्ध गराउन छलफल भएको भण्डारीले बताए । 

छलफलमा दसैँ–तिहारजस्ता ठूला पर्वमा नेपालको तर्फबाट मालवस्तुको धेरै आयात हुने भएकाले कम्तीमा सयभन्दा बढी ट्रक कन्टेनर केरुङतर्फ पास गराउने, तस्करी तथा अवैध व्यापारिक गतिविधि हुन सक्ने सीमा जोडिएका अन्य क्षेत्रहरूमा दुवै पक्षबाट प्रभावकारी निगरानी गर्ने तथा सीमा क्षेत्रका समस्या समाधान गर्न नियमित बैठक सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । 

समन्वय र सहयोगमा जोड
छलफलका क्रममा सीमा जोडिएका वन क्षेत्रमा हुने आगलागीलाई दुवै पक्षको समन्वय र सहयोगमा रोकथाम नियन्त्रण गर्ने, नेपालमा हाल पछिल्लो समय देखिएको डेंगु रोगको नियन्त्रण गर्न सीमा क्षेत्रका स्थानमा दुवै पक्षको समन्वय तथा सहयोग गर्ने गरी छलफल भएको बताइएको छ ।

दुवै पक्षबाट राखिएका विषयमा सकारात्मक छलफल हुनुका साथै सीमास्तरका सुरक्षा प्रहरी निकाय प्रमुखहरूबीच  सूचना आदानप्रदान संयन्त्र निर्माण गरी नियमित छलफल गर्ने समझदारी भएको प्रजिअ भण्डारीले जानकारी दिए । 

अन्तर्राष्ट्रिय बजार स्थापनाको चर्चा
जिलोङ काउन्टी प्रशासनले जिलोङ अन्तर्राष्ट्रिय बजार स्थापना गर्न सुरु गरेको विषयमा पनि छलफलमा चर्चा भएको थियो । त्यस क्रममा प्रत्येक वर्ष अक्टोबरमा एक हप्तासम्म अन्तर्राष्ट्रिय बजार मेला आयोजना गर्ने गरिएको जानकारी दिइएको थियो ।

केरुङमा भएको बैठकमा जिलोङ काउन्टीको तर्फबाट काउन्टी मजिस्ट्रेट तथा बन्दरगाह व्यवस्थापन समितिका निर्देशक ज्यलन ज्ग, केरुङ काउन्टीका राजनीतिक, कानुनी समितिका सचिव तथा प्रहरी आयुक्त तियाङजुन योङ, सिगात्से सुरक्षा ब्युरोका कार्यकारी अनुसन्धानकर्ता सी लुओबु सहभागी थिए । 

नेपालतर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्का, प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय लक्ष्मण थापा र किरण पौडेल, प्रमुख अनुसन्धान अधिकृत निरञ्जन घिमिरे, क्वारेन्टाइन कार्यालयका प्रमुख कुलदीप घिमिरे, खाद्य प्रविधि आयात निर्यात प्रमाणीकरण कार्यालय प्रमुख अतिश घिमिरेलगायत सहभागी थिए ।