मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २४ मंगलबार १८:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

सरकारसँग मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेमाथि कारबाही माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २४ मंगलबार १८:१२:००

प्रतिनिधि सभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबार बसेकाे बैठकमा प्रतिनिधि सभाका सांसदद्वय यज्ञराज सुनुवार र राजेन्द्र लिङदेनले पछिल्लो समय इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजनाको काम अलपत्र पारेकाे भन्दै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुनुवारले आयोजनाको काममा ढिलासुस्ती गर्ने पत्ता लगाउन संसदीय छानबिन समिति नै गठन गर्न माग गरे । उनले संसदीय समितिले छानबिन गरेपछि दोषीमाथि कारबाही गर्न सहज हुनेतर्फ संघीय संसदको गम्भीर ध्यानाकर्षण गराएका थिए । बजेट अभाव भएको भन्दै इटालियन ठेकेदार कम्पनीले काम सकिनै लाग्दा मेलम्ची खानेपानी आयोजनाको काम छोडेको छ । त्यस सम्बन्धमा यथार्थपरक छानबिन गर्न संसदीय समिति गठन गर्नु पर्ने माग छ ।

अर्का सांसद राजेन्द्र लिङदेनले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर जाने कम्पनीलाई कारबाही गर्न सरकारसँग माग गरे । उनले आयोजनाको काम ढिलासुस्ती गर्नेलाई पनि कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नु पर्ने बताएका थिए । बैठकमा समितिका अन्य सदस्यले राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको आलोचना गरेका थिए । 

यसैबीच, संघीय संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले राष्ट्रिय सतर्कता केन्द्रको कामलाई प्रभावकारी बनाउन निर्देशन दिनु परेको जानकारी दिए । मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाको गुणस्तर परीक्षणसम्बन्धि पछिल्लो प्राविधिक परीक्षण प्रतिवेदन यथाशिघ्र समितिमा बुझाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देश गरेको छ ।