मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ८ बुधबार १०:२६:००
Read Time : > 1 मिनेट
समाचार

तुलसीपुरमा प्रभावकारी मातृसुरक्षा कार्यक्रम, मातृशिशु मृत्युदर शून्य

Read Time : > 1 मिनेट
२०७६ असोज ८ बुधबार १०:२६:००

तुलसीपुर उपमहानगरपालिकामा मातृसुरक्षाका कार्यक्रम सफल भएका छन् । विभिन्न कार्यक्रम सञ्चालन गरेपछि उपमहानगरपालिकामा गत आर्थिक वर्षमा मातृशिशु मृत्युदर शून्यमा झरेको छ । स्वास्थ्य शाखाले गरेको सर्वेक्षणमा आर्थिक वर्ष ०७५/७६ मा कसैले पनि प्रसूतिका कारणले ज्यान गुमाएका छैनन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार आर्थिक वर्षमा ०७४/७५ मा यसरी मृत्यु हुनेहरूमा प्रतिलाख ४५ जना रहेका थिए । तथ्यांक लिँदा सुत्केरी भएदेखि ४५ दिनसम्मका महिलाहरूलाई लिने गरेको डा. दाहालले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुत्केरी भत्ता कार्यक्रमका कारणले गर्दा पनि मातृशिशु मृत्युदर शून्यको अवस्थामा आएको डा. दाहालको भनाइ छ । उनले सुत्केरी प्रोत्साहन भत्ताका कारण सुत्केरीले नियमित आफू र बच्चाको चेकजाँच गरेको भएकाले सकारात्मक नतिजा आएको बताए । उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहनअन्तर्गत न्यानो कपडा र पोसिलो खानाका लागि पाँच हजार भत्ता दिँदै आएको छ ।

परिवार नियोजन दरमा वृद्धि 
यसैगरी, उपमहानगरपालिकाको परिवार नियोजन दर ३३ प्रतिशतमा उकालो लागेको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा यो दर २३ प्रतिशत रहेको थियो । नेपालभरको परिवार नियोजनको सूचकांक ५३ प्रतिशत रहेको छ । ‘परिवार नियोजनको दरमा हामी पछाडि परेको भए पनि आगामी वर्ष राष्ट्रिय सूचकांक लाई पूरा गर्न लक्ष्यमा छौँ,’ दाहालले  पछिल्लो समय विभिन्न अस्थायी साधनको प्रयोगका कारणले गर्दा पनि परिवार नियोजन गर्नेको संख्या कम रहेको जानकारी दिए  ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या वृद्धि 
उपमहानगरपालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउनेका संख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष ०७४/७५ मा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेका संख्या ६९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा त्यो वृद्धि भएर ८५ प्रतिशतमा पुगेको छ । संस्थागत सुत्केरी बनाउने नेपालभरको सूचकांक ५७ प्रतिशत छ । सुत्केरी भत्ता पाउनका लागि अनिवार्यरूपमा संस्थामै सुत्केरी हुनुपर्ने उल्लेख गरिएकाले पनि यसरी संख्या उल्लेख्य वृद्धि भएको डा. दाहालको भनाइ छ । २ दशमलव ५ केजीभन्दा कम तौलमा बच्चा जन्मने प्रतिशतसमेत घटेर गएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ  । 

उपमहानगरपालिभित्र आर्थिक वर्ष ०७४/७५ मा ८४ प्रतिशत खोपसेवा पुग्न सकेकोमा गत आर्थिक वर्षमा ९५ प्रतिशत बालबालिकाले खोप सेवा लिएको तथ्यांक रहेको छ । नेपालभरको तथ्यांक हेर्दा ९० प्रतिशत रहेको छ ।