१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज ८ बुधबार ०७:३३:००
Read Time : > 1 मिनेट
प्रदेश

शैलुङ–घ्याङ जोड्ने पुल निर्माण आठ वर्षदेखि अलपत्र

Read Time : > 1 मिनेट
२०७६ असोज ८ बुधबार ०७:३३:००

दोलखाको दक्षिणी क्षेत्र शैलुङ र घ्याङ्सुकाठोकर जोड्ने ढाँडेखोलामा आठ वर्षदेखि पुल निर्माण कार्य अलपत्र छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण शैलुङ र मेलुङ गाउँपालिकाको घ्याङ् जोड्ने पुल आठ वर्षदेखि अलपत्र बनेको हो । 

पुलसँगै सडक निर्माण कार्य पनि रोकिँदा स्थानीयवासीको गाडी चढ्ने सपना पूरा भएको छैन । दुई वर्षमा सम्पन्न गर्ने गरी २९ असार ०६८ मा पुलको ठेक्का लागेको थियो । पुल निर्माणको जिम्मा सुनौला खिम्ती भण्डारी बिल्डर्स जेभीले लिएको हो । 

ठेकेदार कम्पनीले पुलको स्ल्याबसमेत निर्माण गरिसकेको छ । पुलको ठेक्का लगाउने निकाय डिभिजन सडक कार्यालय चरिकोटकी इन्जिनियर प्रकृति पाण्डेका अनुसार भौतिक रूपमा पुलको प्रगति ८८ प्रतिशत पुगिसकेको छ । तर, वारिपारि सडक निर्माण नहुँदा पुल प्रयोगमा आउन सकेको छैन । ‘लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन्, यसले पनि ढाँडेखोला पुल अलपत्र परेको हो,’ पाण्डेले भनिन् ।

 १ करोड ८ लाख लागत
डिभिजन सडक कार्यालयले ०६८ मा एक करोड ५५ लाखमा ठेक्का आह्वान गरेको थियो । निर्माण कम्पनीले एक करोड आठ लाख ८८ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी आफ्नो पक्षमा ठेक्का पारेको हो । सुरुको चरणमा निर्माणको काम अघि नबढ्दा पनि डिभिजन कार्यालयले पटक–पटक ठेक्काको म्याद थप गरेको थियो । तर, थपिएको म्यादको समेत पर्वाह नगरी निर्माण कम्पनी सम्पर्कविहीन भएको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ । 

 पुल सञ्चालनमा ल्याउँछौँ : कार्यालय प्रमुख
डिभिजन सडक कार्यालयका प्रमुख धर्मेन्द्र झाले केही समयपछि नै पुल सञ्चालनमा ल्याइने बताए । पुल सञ्चालनमा नआउँदा कष्ट व्यहोर्नुपरेको भन्दै स्थानीयवासीले पुल सञ्चालनका लागि दबाब दिँदै आएका छन् । ‘म पुल सञ्चालनका लागि तत्काल पहल गर्छु, ठेकेदार सम्पर्कमा नआए डिभिजनकै जनशक्ति र उपकरण प्रयोग गरेर भए पनि पुल सञ्चालनमा ल्याउँछौँ,’ झाले भने ।