मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ८ बुधबार ०७:११:००
Read Time : > 1 मिनेट
अर्थ

नलगाड जलविद्युत् पिपिपी मोडलमा बनाइने

Read Time : > 1 मिनेट
२०७६ असोज ८ बुधबार ०७:११:००

नलगाड जलाशययुक्त जलविद्युत् आयोजना निर्माणबारे छलफल गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन जापान गएका छन् । जाजरकोटमा पर्ने भेरी र कर्णाली नदीको संगम स्थलनजिक नलसिंगाड नदीमा निर्माण गर्ने भनिएको १ सय १७ मेगावाटको आयोजना सार्वजनिक–निजी–साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न जाइकाले इच्छा देखाएपछि यस्तो छलफल हुन लागेको हो । यसका लािग जाइकाकै निमन्त्रणमा ऊर्जामन्त्री पुन मंगलबार बिहान जापान गएका हुन् । 

आयोजना निर्माणबारे निर्णायक छलफल गर्ने इच्छा जापानले व्यक्त गरेपछि मन्त्री पुनले मन्त्रालयका कानुन हेर्ने सहसचिव तोयानाथ अधिकारी, प्रशासन हेर्ने सहसचिव शिवलाल तिवारी, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नलगाड जलविद्युत् आयोजनाका प्रमुख रामगोपाल लागेजुलाई समेत भ्रमण टोलीमा समावेश गरेका छन् । 

मंगलबार बिहान पुगेको टोलीका सदस्यहरूले जापानको तोयामामा कान्साई इलेक्ट्रिक पावर कम्पनीले प्रवद्र्धन गरेको ३ सय ३५ मेगावाट क्षमताको कुरोबे जललविद्युत् आयोजनाको १ सय ८६ मिटर अग्लो बाँधलगायत संरचना अवलोकन गरेको टोलीमा सहभागी एक सदस्यले बताए । 

भ्रमणका क्रममा मन्त्री पुनले बुधबार जापानका कृषि, वन तथा मत्स्य विकासमन्त्री, परराष्ट्रमन्त्री र जापान–नेपाल पार्लियामेन्टेरियन्स फ्रेन्डसिप लिगका अध्यक्षसँग भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, बिहीबार मन्त्री पुनले जाइकाका उपाध्यक्षलाई भेट्ने, अन्तक्र्रियामा सहभागी हुने कार्यक्रम रहेको छ । जाइकाका उपाध्यक्षलगायत पदाधिकारीसँगको भेट तथा छलफलमा नलगाड आयोजनामा जाइकाले लगानी गर्नेबारे निर्णायक वार्ता हुने सम्भावना रहेको मन्त्री पुनको सचिवालयका एक सदस्यले बताएका छन् । 

 डिपिआर तयार हुँदै 
हाल नलगाड जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम भइरहेको छ । आयोजनाको डिपिआर अस्टे«लियन कम्पनी स्मेक, अमेरिकन कम्पनी एमडब्ल्युएच र नेपाली कम्पनी उदय कन्सल्ट्यान्टको संयुक्त उपक्रम (जोइन्ट भेन्चर)ले गरिरहेको छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार आयोजनाले ५ हजार ४ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । यसका लागि अर्थ मन्त्रालयले २ अर्ब ७२ करोड रुपैयाँ रकम निकासा दिएको छ । आयोजना स्थलमा दुईवटा पहुँचमार्ग निर्माण भइसकेको छ । आयोजनाको आवासगृह (क्याम्प भवन) निर्माण भएको छ भने अन्य आवश्यक संरचना निर्माण हुँदै गरेको छ ।

२१० मिटर अग्लो बाँध बनाइने 
आयोजनाको सम्भाव्यता अध्ययनले २ सय १० मिटर अग्लो र ५ सय ४५ मिटर चौडाइको बाँध नलगाड नदीमा बनाउनुपर्ने देखाएको छ । अध्ययनअनुसार ४ सय १७ मेगावाट विद्युत् उत्पादनका लागि १०४.२५ मेगावाट क्षमताका ४ वटा उत्पादन युनिट जडान गर्नुपर्नेछ । आयोजनाको भूमिगत पावरहाउसबाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको बिजुली १ सय १२ किलोमिटर लामो ४ सय केभी प्रसारण लाइनमार्फत कोहलपुरमा जोडिनेछ । १०४.२५ मेगावाट क्षमताका ४ वटा युनिटमार्फत भूमिगत पावरहाउसबाट विद्युत् उत्पादन गरिने योजना छ । उत्पादित विद्युत् १ सय १२ किलोमिटर लामो ४ सय केभी प्रसारण लाइनमार्फत कोहलपुरमा जोडिन्छ ।